Monday, July 8, 2013

नेकपा-माओवादीद्वारा बैद्यको नेतृत्वमा वार्ता टोलीको घोषणा

मंसिर ४ को चुनाव खारेज हुनुपर्छ : बैद्य

            २४ असार, काठमाडौं । नेकपा-माओवादीले वार्ता र आन्दोलनलाई सँगै लैजाने निर्णय गर्दै अध्यक्ष मोहन वैद्यको नेतृत्वमा पाँचसदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरेको छ ।
              वार्ता टोलीमा उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा बादल र सचिवद्वय नेत्रविक्रम चन्द विप्लव र देव गुरुङ सदस्य रहनुभएको छ । माओवादीले वार्तासँगै साउन १० बाट चुनाव बहिस्कार अभियान चलाउने घोषणासकेत गरेको
छ ।
                    सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी नेकपा-माओवादीले निशर्त वार्ताको टेबलमा बसेर सबै विषयमा छलफल गर्न तयार रहेको भन्दै उच्चस्तरीय वार्ता टोली गठनको घोषणा गरेको हो । ‘हामीलाई सरकार र समितिबाट वार्ताका लागि आहृवान हुँदै आएको छ । हामीले सर्त राखेका थियौं, त्यो आफ्नो ठाउँमा छ । तर, हामी अब वार्ता गर्न तयार हुन्छौं । राजनीतिक समिति सबैसँग पनि वार्ता गछौं’ । सरकारसँग पनि वार्ता गर्न पनि तयार छौं’ बैद्यले भन्नुभयो-’तर, वार्तामा सर्त नराखियोस्, मंसिर ४ गतेको चुनाव नमानी वार्ता हुँदैन भनिएको छ, हामी त्यो मान्दैनौं । मंसिर ४ गते खारेज हुनुपर्छ ।’ साथै उहाँले आफूसँगै आन्दोलनरत दललाई पनि वार्तामा सहभागी गराउन माग गर्नुभयो । रणनीतिमा दृढता र कार्यनीतिमा लचकता अपनाउने रणनीति अनुसार नै वार्ताका लागि लचिलो भएको माओवादीले जनाएको छ ।
              यसअघि सरकार र राजनीतिक समितिले वार्तामा बोलाए पनि बैद्य पक्षले चुनावी प्रक्रिया रोक्नुपर्ने लगायतका सर्त राख्दै आएको थियो । पछिल्लोपटक प्रमुख चार दलका शीर्ष नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले आगामी मंसिर ४ का लागि तोकिएको निर्वाचन स्वीकार गरी गोलमेच वा सर्वपक्षीय सम्मेलन गर्न सकिने बताएपछि बैद्य माओवादी वार्तामा बस्न तयार भएको हो ।
                 वैद्य माओवादीले यथास्थितिमा हुने चुनाव भने सक्रिय र सशक्त बहिस्कार गर्ने बताएको छ । ‘हामीले निर्वाचन निरपेक्षरुपमा बहिस्कार गर्ने भनेका हैनौं’ उहाँले भन्नुभयो-’११ बुँदे सहमति र बाधा अड्काउ फुकाऊ आदेश, प्रधानन्यायाधीशको नेतृत्वमा सरकार खारेज हुनुपर्छ र सर्वपक्षीय गोलमेच सभा गरे दलहरुबीचबाट राष्ट्रिय सरकार बनाइयोस् भनेका छौं । हाम्रो कुरलाई पुरै अवज्ञा गरियो र विदेशी प्रतिक्रियावादीहरुको इशारामा प्रक्रिया अगाडि बढाइएको छ । यस अर्थमा हामी यथास्थितिमा चुनावमा भाग लिन सक्दैनौं यो एकदम ठीक र जायज छ ।’
               बैद्यले आफूहरुको मोर्चामा रहेका ३३ दलसहित आन्दोलनरत शक्तिलाई सहभागी गराएर सर्वपक्षीय गोलमेच सभा गर्नु पर्ने र त्यहीँबाट राष्ट्रिय सहमतिको सरकार बनाउने र कसरी संविधानसभाको अर्को निर्वाचन गर्ने भन्ने टुङ्गो लगाउनुपर्ने बताउनुभयो । गोलमेच सभामा अबको संविधान कस्तो बनाउने भन्नेबारे सहमति गरे पनि त्यहीँबाट संविधान भने घोषणा नगर्ने उहाँको भनाइ छ ।
साउन १० बाट बहिस्कार आन्दोलन
                 वैद्य माओवादीले आगामी साउन १० गतेदेखि चुनाव बहिस्कार आन्दोलन थाल्ने घोषणासमेत गरेको छ । सुरुमा प्रचारात्मक कार्यक्रम गरिने र वहिस्कारको कार्यक्रम भने केन्द्रीय कार्यालय बनाउने महासचिव बादलले जानकारी दिनुभयो । बहिस्कार आन्दोलनको पक्षमा रहेका अन्य दलहरुसँग तालमेल गरिने उहाँले बताउनुभयो ।
महासचिव बादलले धेरैले पोखरा बैठकबाट माओवादी फुटेर आउँछ भनेको तर, आफूहरु एक भएर आएको बताउनुभयो । बलपूर्वक युद्धमा धकेलेर वा आत्मसमर्पण गराएर क्रान्तिकारी देशभक्त शक्तिहरुलाई सिध्याउने षड्यन्त्र भइरहेको बादलको भनाइ थियो ।
पार्टी एकता कांग्रेस-एमालेलाई तर्साउने मेलो
                 माओवादी अध्यक्ष मोहन वैद्यले एमाओवादी र नेकपा-माओवादीवीचको पार्टी एकता हल्ला मात्र भएको बताउनुभयो । ‘माओवादीसँग एकता हुँदैछ, हामीले एक भएर चुनावमा जान्छौं’ भनेर एमाओवादीले कांग्रेस एमालेलाई तर्साउने काम मात्र गरेको वैद्यको भनाइ छ ।
                     पार्टी एकताका लागि राजनीतिक लाइन, रणनीति, कार्यनीति लगायतका कुरा मिल्नु पर्ने तर आफूहरुको मिल्ने कुरा केही नभएको उहाँले बताउनुभयो । ‘एमाओवादीबाट हाम्रो एकता हुँदैछ, एकता हुँदैछ भनेर भनिँदैछ, यो कांग्रेस र एमालेलाई तर्साउने मेलो हो । चुनावमा हामी एकतावद्ध भएर जान्छौं र एकतावद्ध भएर गएपछि तिमीहरुलाई हराउँछौं भनेर तर्साउन मात्रै यस्तो भनिएको हो’ प्रचण्ड पक्षले एकताको कुरा गर्नुको कारण खुलाउँदै उहाँले भन्नुभयो । एमाओवादीमा यतिबेला संकट आएको र त्यसलाई टार्न तथा हाँले माओवादी कार्यकर्तालाई भ्रममा पार्न पनि एकताको हल्ला चलाइएको वैद्यले बताउनुभयो ।

No comments:

Post a Comment