प्रचण्डले १६ बुँदे सहमति गर्दाको अनौपचारिक सहमतिअनुसार एमाले नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने प्रस्ताव राखेका थिए । कोइरालाले कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्ने र त्यसमा सहयोग गर्न प्रचण्डलाई आग्रह गरेको स्रोतले बतायो ।
‘एमाओवादी अध्यक्षले संविधान संशोधन कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार चाहिन्छ । १६ बुँदे सहमति गर्दा एमाले नेतृत्वमा सरकार बनाउने सहमति भएकै हो भन्ने धारणा राख्नुभयो,’ बैठक स्रोतले भन्यो, ‘तर, कोइरालाले एमालेलाई सरकारको नेतृत्व दिने कुरा मान्नुभएन । उहाँले आफ्नै नेतृत्वमा सरकार बनाउने संकेत गर्नुभयो ।’ प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न साँझ ६स्२० बजे बालुवाटार पुगेका थिए । उनी प्रधानमन्त्री कोइरालासँग २० मिनेट मात्रै कुरा गरेर निस्किएका थिए ।