Tuesday, September 17, 2013

सर्वोच्चलाई दाहालको जवाफ, 'कारबाही होइन, फुर्सद पाउँ'

             काठमाडौं- एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले अदालतको मानहानी गर्ने आफ्नो कुनै पनि मनसाय नरहेको बताएका छन्। उनले आफ्ना वारेस मुकुन्द न्यौपानेमार्फत् सर्वोच्च अदालतलाई पठाएको लिखित जवाफमा अदालतको मानहानी गर्ने आफ्नो मनसाय नभए पनि राजनीतिक कुरालाई कानुनी रुप दिन बदनियतपूर्ण तवरले रिट निवेदन दायर गरिएको उल्लेख गरिएको छ।
             एक सार्वजनिक कार्यक्रममा अदालतको मानहानी गरेको भन्दै अध्यक्ष दाहालविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन दर्ता गरेका थिए। अध्यक्ष दाहालले रिटमा अदालतको नाममा आफ्नो
स्वार्थ पूरा गर्न र मनोवैज्ञानिक दबाब दिन काल्पनिक कुरा उठाएको उल्लेख गरिएको छ।
              अदालतको कुनै जात, धर्म तथा लिङ्ग हुँदैन र अदालत सबैको हो भन्ने अभिव्यक्तिलाई तोडमोड गर्ने गराउने तथा सङ्घीय गणतन्त्र, धर्म निरपेक्ष, समावेसी, समानुपातिक राज्य व्यवस्थासहितको नयाँ नेपालका विरोधीको सञ्जालबाट न्यायपालिकालाई विवादग्रस्त बनाउने योजनाबमोजिम सो रिट आएको जवाफमा उल्लिखित छ।
             जनयुद्धकालका घटनाको छानबिन विस्तृत शान्ति सम्झौता र नेपालको अन्तरिम संविधानअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगबाट गरिनुपर्छ भन्ने धारणा राख्दै आएको उल्लेख गर्दै अध्यक्ष दाहालले जवाफमा जनयुद्धकालका घटनाको अनुसन्धानका नाममा अर्को संविधान सभाको निर्वाचन बिथोल्ने उद्देश्य सो रिटमा अन्तर्निहीत रहेको उल्लेख गरेका छन्।
               कस्तो परिस्थितिमा अदालतको अवहेलना हुन सक्दैन भनी पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाविरुद्धको निवेदनमा यसै अदालतबाट विस्तृत व्याख्या भएको स्मरण गराउँदै उनले अनर्गल निवेदनबाट कारबाही नभइ फुर्सद पाउन माग गरेका छन्। रासस

No comments:

Post a Comment