Monday, June 23, 2014

बजार नपाएपछि म्याग्दीमा लाखौँ मुल्यको गोलभेँडा बारीमै कुहीन थाल्यो

सन्तोष गौतम, 
           म्याग्दी २०७१ असार ९ । म्याग्दीका किसानले उत्पादन गरेको गोलभेडाँले बजार नपाएपछि बारीमै कुहिन थालेको छ । बजारमा मागको तुलनामा गोलभेडाको उत्पादन बढी भएको र जिल्ला बाहिरको बजारमा कृषकको पहुँच नभएका कारणले बारीमा गोलभेडा कुहिन थालेको हो । रत्नेचौर, ज्यामरुककोट, सिंगा, घतान, बाबियाचौर, दरवाङ लगायत गाविसका कृषकले उत्पादीत गोलभेडाँले बजार र मूल्य नपाएपछि बारीमै कुहीन थालेको बताएका छन् ।
           केही दिनअघि ६० रुपैया प्रतिकिलोमा बिक्री भएको गोलभेडाको मूल्य घटेर यसहप्ता १० रुपैयामा झरेपछि बोटबाटै टिप्नै छाडेको ज्यामरुककोटका कृषक सोभित शर्माले बताए ।
‘धेरै उत्पादन भएकाले एकाएक मूल्य घट्नुका साथै पसल पसलमा पुराउँदा समेत बिक्री हुन छाड्यो’ शर्माले भने ‘बजार र मूल्य पाउन नसकेपछि पाकेका गोलभेडाँ बारिमै कुहिएर नष्ट हुन थालेको छ ।’ असार महिना गोलभेडा खेतीका लागि अनुकुल सिजन मानिन्छ । बजार बिस्तार हुन
नसकेपनि गोलभेडा खेती गर्ने कृषक बढेका छन् । बेनी, सिंगा, गलेश्वर, बाबियाचौर, तातोपानी र दरवाङमा उत्पादीत सबै गोलभेडा खपत हुन नसकेपछि कृषक समस्यामा परेका हुन् ।
जिल्लाबाहीर गोलभेडा निर्यातका लागि पहल गरेपनि बजारसम्म पहुँच नभएकाले लगानी डुब्नुका साथै आम्दानीबाट बञ्चित हुँदा किसानलाई दोहोरो मार परेको रत्नेचौरका कृषक कमल थापाले बताए । जिल्ला कृषि विकास कार्यालयका अनुसार म्याग्दीमा हाल ४७४ जना कृषकहरु गोलभेडा खेतीमा संलग्न छन् । गत वर्ष ६ करोड ११ लाख १२ हजार रुपैया मूल्य बराबरको गोलभेडाँ उत्पादन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

No comments:

Post a Comment