एमाओवादीका एक केन्द्रीय नेताका अनुसार पार्टीको निर्णयअनुसार दुई सय ४० निर्वाचन क्षेत्रमा पुगेर आएका केन्द्रीय नेताहरूले तयार गरेको नामावली तथा रिपोर्टिङसमेत अस्पष्ट रहेको भन्दै धेरै योग्य र निर्वाचन जित्ने व्यक्ति सिफारिसमा नपरेको गुनासोसहित नाम सच्याउन अध्यक्ष प्रचण्ड तथा बाबुराम भट्टराईसमक्ष निवेदनसमेत दिएका छन्। यसरी निवेदन दिनेमा नारायणकाजी श्रेष्ठ तथा जनमोर्चाबाट एमाओवादी बनेकाहरू छन्। यसैबीच जारी केन्द्रीय कमिटी बैठकमा निर्वाचन क्षेत्र पुगेर आएका प्रतिनिधिहरूले निर्वाचन क्षेत्रमा आफ्नो तथा अन्य पार्टीको पोजिसन, वैद्यमा गएका तथा उनीहरूले बनाएको सङ्गठन आदिका बारेमा बैठकमा जानकारी गराएका थिए। बैठकमा सहभागी एक सदस्यका अनुसार केही जिल्ला तथा निर्वाचन क्षेत्रमा पार्टीको अवस्था निकै कमजोर रहेको र अहिलेकै अवस्थामा निर्वाचनमा गए खराब नतिजाको सामना गर्नुपर्नेसमेत बताएका थिए। उनीहरूले फेरि निर्वाचन क्षेत्रमा पुगेर चुनावी कार्यक्रम गरिनुपर्नेमा जोड दिँदै फेरि निर्वाचनकेन्द्रित अभियान चलाउनुको विकल्प नभएको जिकिर गरेका थिए।
यसअघि गत सोमबार बसेको पूर्व स्थायी समिति र ब्युरो प्रमुखहरूको बैठकले पनि निर्वाचन क्षेत्रमा निर्वाचनकेन्द्रित कार्यक्रम गरी अघि बढ्नुपर्ने निष्कर्ष निकालेको थियो। एमाओवादीले अहिलेकै अवस्थामा निर्वाचनमा सहभागी भएर निर्वाचन जित्न धेरैखाले चुनौतीसँग सामना गर्नुपर्ने ठहर गरेको छ। उनीहरूले पार्टीको आन्तरिक व्यवस्थापन, अव्यवस्थित विभिन्न समितिहरू तथा गुटबन्दीका कारण आन्तरिक व्यवस्थापन कमजोर भएकोले पनि लक्ष्यअनुसारको नतिजा नआउने निष्कर्ष निकालेका छन्।
No comments:
Post a Comment