Senior leader of Communist Party of Nepal Bhattarai waits to file nomination paper for Prime Minister's post in Kathmandu                       काठमाडौ । आ–आफ्ना मानिसलाई उम्मेदवार बनाउन एकीकृत माओवादीका नेताहरूबीच तीव्र प्रतिस्पर्धा सुरु भएको छ। आफ्ना मानिसलाई उम्मेदवार बनाउन अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईसँगै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि कस्सिएपछि एमाओवादीमा उम्मेदवार छनोटमा तीव्र प्रतिस्पर्धा देखिएको हो। उम्मेदवार छनोट, निर्वाचन घोषणा र निर्वाचन रणनीति तय गर्न केन्द्रीय समितिको बैठक बसे पनि शीर्ष नेताहरूले आफूनिकटका व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने भन्दै अड्डी कस्न थालेपछि पार्टीले सजिलै उम्मेवादर छनोट गर्न कठिन हुने स्थिति रहेको एक केन्द्रीय नेताले
जानकारी दिए। स्रोतका अनुसार जनमोर्चाबाट एमाओवादी बनेका अमिक शेरचन, लीलामणि पोखरेललगायतका नेताहरूले आफूनिकट नेताहरूको नाम सिफारिस गरेका छन्। उनीहरूले आफूनिकट नेताहरूको नाम सफारिस गर्दै सिफारिसमा परेका नेताहरूको जिल्लामा राम्रो पकड रहेको तथा निर्वाचन जित्ने निश्चित रहेको दाबीसमेत गरेका छन्। साथै उनीहरूले आफूले सिफारिस गरेकाबाहेक अन्य व्यक्तिलाई पार्टीले टिकट दिए निर्वाचन जित्न मुस्किल पर्ने चेतावनीसमेत दिएका छन्।
                   एमाओवादीका एक केन्द्रीय नेताका अनुसार पार्टीको निर्णयअनुसार दुई सय ४० निर्वाचन क्षेत्रमा पुगेर आएका केन्द्रीय नेताहरूले तयार गरेको नामावली तथा रिपोर्टिङसमेत अस्पष्ट रहेको भन्दै धेरै योग्य र निर्वाचन जित्ने व्यक्ति सिफारिसमा नपरेको गुनासोसहित नाम सच्याउन अध्यक्ष प्रचण्ड तथा बाबुराम भट्टराईसमक्ष निवेदनसमेत दिएका छन्। यसरी निवेदन दिनेमा नारायणकाजी श्रेष्ठ तथा जनमोर्चाबाट एमाओवादी बनेकाहरू छन्। यसैबीच जारी केन्द्रीय कमिटी बैठकमा निर्वाचन क्षेत्र पुगेर आएका प्रतिनिधिहरूले निर्वाचन क्षेत्रमा आफ्नो तथा अन्य पार्टीको पोजिसन, वैद्यमा गएका तथा उनीहरूले बनाएको सङ्गठन आदिका बारेमा बैठकमा जानकारी गराएका थिए। बैठकमा सहभागी एक सदस्यका अनुसार केही जिल्ला तथा निर्वाचन क्षेत्रमा पार्टीको अवस्था निकै कमजोर रहेको र अहिलेकै अवस्थामा निर्वाचनमा गए खराब नतिजाको सामना गर्नुपर्नेसमेत बताएका थिए। उनीहरूले फेरि निर्वाचन क्षेत्रमा पुगेर चुनावी कार्यक्रम गरिनुपर्नेमा जोड दिँदै फेरि निर्वाचनकेन्द्रित अभियान चलाउनुको विकल्प नभएको जिकिर गरेका थिए।
                         यसअघि गत सोमबार बसेको पूर्व स्थायी समिति र ब्युरो प्रमुखहरूको बैठकले पनि निर्वाचन क्षेत्रमा निर्वाचनकेन्द्रित कार्यक्रम गरी अघि बढ्नुपर्ने निष्कर्ष निकालेको थियो। एमाओवादीले अहिलेकै अवस्थामा निर्वाचनमा सहभागी भएर निर्वाचन जित्न धेरैखाले चुनौतीसँग सामना गर्नुपर्ने ठहर गरेको छ। उनीहरूले पार्टीको आन्तरिक व्यवस्थापन, अव्यवस्थित विभिन्न समितिहरू तथा गुटबन्दीका कारण आन्तरिक व्यवस्थापन कमजोर भएकोले पनि लक्ष्यअनुसारको नतिजा नआउने निष्कर्ष निकालेका छन्।