Saturday, January 18, 2014

बाबुरामले भने– ‘कि एमालेसँग मिलौं, कि नयाँ पार्टी बनाऔं’

प्रचण्ड अझै निरंकुश बन्न खोजेको गुनासो

Baburam                ५   माघ काठमाडौं । शनिबार दिउँसो राजधानीको मौसम अँध्यारो र चिसो थियो । अन्य जिल्लामा जस्तै काठमाडौंमा केहीबेर सिमसिम पानी पर्‍यो ।
                     मौसमले समेत विरक्तिको भाका बोलिरहेका बेला एमाओवादी मुख्यालय पेरिसडाँडामा बरिष्ठ नेता डा. बाबुराम भट्टराईले अध्यक्ष प्रचण्डलाई भिज्ने गरी आलोचना गर्दै नेतृत्व छाड्ने अनुकूल समय आएको बताए । ‘म आफैं अलि मनोगत भएछु, तर म मार्क्सवादबारे केही प्रश्न र आलोचनात्मक चेत बोकेर कम्युनिष्ट पार्टीका प्रवेश गरेको हुँ,’ सुरुमा आत्मालोचना गर्दै डा. भट्टराईले
केन्द्रीय समितिको बैठकमा भने, ‘कम्युनिष्ट पार्टी भनेको दासहरुको झुण्ड होइन ।’
                   अध्यक्ष प्रचण्डले केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेको दस्तावेजमाथि कडा आलोचना गर्दै भट्टराईले अध्यक्षको दस्तावेजमा विश्लेषणमात्रै गरिएको तर संश्लेषण नगरिएको बताए । ‘अध्यक्षको प्रतिवेदनमा विश्लेषण छ, तर संश्लेषण छैन, पार्टीलाई कसरी रुपान्तरण गर्ने भन्ने स्पष्ट छैन, सुधारवादीजस्तो देखिएको छ, बैठकमा भट्टराईको भनाइ उधृत गर्दै एक सहभागी सदस्यले अनलाइनखबरसँग भने ।
छाड्ने उपयुक्त बेला यही हो
           बैठकमा बोल्दै नेता भट्टराईले नेतृत्वले विदा लिने उपयुक्त बेला भएको बताएका थिए । ‘हामीले आवश्यकता भन्दै कतिञ्जेल बसिरहने ? पहिले जनयुद्धको आवश्यकता भनियो, पछि शान्ति प्रक्रियाको आवश्यकता भनियो, अहिले चुनाव हारेको आवश्यकता भनिँदैछ’ भट्टराईले बैठकमा प्रश्न गरे,‘यसैगरी आवश्यकता भन्दै कहिलेसम्म बसिरहने ?’
प्रचण्डलाई प्रश्न– अझै निरंकुश बन्न खोज्नुभएको हो ?
                   एमाओवादी नेता भट्टराईले प्रचण्डको दस्तावेजमा मूल नेतृत्व उदार भएकाले पार्टी विग्रिएको उल्लेख भएकोमा आलोचना गरेका थिए । उदारता भनेको व्यीक्तगत विशेषता हो भन्दै भट्टराईले बैठकमा प्रश्न गरे, मूल नेतृत्व उदार भएर बिग्रियो भन्नुको अर्थ अझै निरंकुश हुने र जनवाद नदिने भन्न खोजिएको पो हो कि ?’
             आफूले जनयुद्धकालमा १३ बुँदे असहमतिमा उठाएका समस्याहरु अहिले पनि पार्टीमा यथावत रहेको भन्दै भट्टराईले बैठकमा पुरानो लेनिनका पालाको संगठनात्मक ढाँचा परिवर्तन गर्नुपर्ने र मार्क्स एंगेल्सका पालाको प्रत्यक्ष जनवाद लागू गरिनुपर्ने बताएका थिए ।
            नेतृत्वमा कुनै तह नरहेको भन्दै सबै समान रहेको र सामुहिकताको केन्द्रीकृत अभिव्यक्तिका आधारमा अघि बढ्नुपर्ने भट्टराईले बताएका थिए । ‘कम्युनिष्ट पार्टीमा नेतृत्व कुनै व्यक्तिलाई पनि जीवनभर चलाउनू भनेर ठेक्का दिइएको हुँदैन, दक्षिणपन्थी भैसकेपछि पनि त्यही व्यक्तिलाई नेता मानिराख्नुपर्छ भन्ने छैन ।’ भट्टराईको भनाइ उधृत गर्दै स्रोतले  भन्यो ।
कि एमाले बनौं, कि नयाँ पार्टी बनाऔं
              बैठकमा बोल्दै भट्टराईले एमाओवादीस्सँग दुईवटा विकल्प रहेको बताएका थिए । ‘कि दुबैले पुच्छर हटाएर एमालेसँग एकता गर्नुपर्‍यो, एमाले पनि नहुने र वैद्य माओवादी पनि नहुने गरी स्वतन्त्र धारको क्रान्तिकारी पार्टी बनाउनुपर्‍यो ।’ भट्टराईको भनाइ उधृत गर्दै एक नेताले भने, ‘यी दुईबाहेक अर्को विकल्प हामीसँग छैन ।’
चुनावमा मासु भातले जित्यो
            बैठकमा शनिबार बोल्ने ९ केन्द्रीय सदस्यमध्ये केन्द्रय सदस्य हेमराज भण्डारीले चारैजवना शीर्षनेता असफल भइसकेको भन्दै नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न माग गरेका थिए । नेताहरुले चाहेर पनि एमाले बन्न सम्भव नभएको भण्डारीको तर्क थियो । प्रचण्डको दस्तावेजमा दक्षिणपन्थी गन्ध देखिएको भण्डारीले आरोप लगाएका थिए । बैठकमा नेतृ उर्मिला अर्यालले सामाजिक एजेन्डालाई अघि बढाउनुपर्ने बताएकी थिइन् ।
                  अर्का नेता कर्ज्याङले चुनावमा मार्क्सवादले हारेको र मासुभातले जितेको बताएका थिए । त्यस्तै नवराज सुवेदीले कूटनीतिक सन्तुलनका नाममा राष्ट्रियता बिर्सेको बताएका थिए । अर्का केन्द्रीय सदस्य महेश्वर गहतराजले नेताहरुको लिखितम् र बकितम् एउटा भए पनि गरितम् अर्कै हुने गरेको टिप्पणी गरेका थिए । स्रोतका अनुसार पार्टी अध्यक्ष प्रचण्ड आइतबार इलाम जाने कार्यक्रम रहेकाले अर्को बैठक सोमबार मात्रै बस्ने भएको छ ।

No comments:

Post a Comment