manmohan_prachanda-two-indian                        नेकपा–माओवादीले देशका ‘भ्रष्टाचारी’ र ‘विदेशी दलाल′हरूको नाम सङ्कलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ। सम्बद्ध सूत्रबाट प्राप्त जानकारीअनुसार राष्ट्रियस्तरमा देखापरेका ‘भ्रष्ट र दलाल′हरूको नाम सङ्कलन गर्ने कार्य उक्त पार्टीले गरिरहेको छ। यसपछि दुई सय चालीस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका तर्फबाट उम्मेदवार बन्नेहरूमध्ये पनि ‘भ्रष्ट र दलाल′हरूको पहिचान गरी नाम सार्वजनिक गरिने बताइएको छ। माओवादीले एमाओवादीका अध्यक्ष प्रचण्ड र डा. बाबुराम भट्टराई देशको सबैभन्दा ठूला ‘भ्रष्टाचारी र दलाल′ भएको ठहर गरेको छ। त्यसैगरी वर्षमान पुन,
कृष्णबहादुर महरा, चन्द्रप्रकाश खनाल बलदेव र हिसिला यमी तथा पहिले डिभिजन कमान्डरका रूपमा रही हाल एमाओवादीको नेतृत्वदायी अङ्गमा क्रियाशील समेत गरी दर्जनभन्दा बढीलाई भ्रष्ट र दलालका रूपमा सार्वजनिक गरिने सम्बद्ध पक्षले जनाएको छ। माओवादीले भदौको दोस्रो साताभित्र सबै दलहरूमा आबद्ध भ्रष्ट र दलालहरूको पहिचान गरी तेस्रो सातासम्ममा नाम सार्वजनिक गर्ने भएको छ। यसैबीच एमाओवादीले भ्रष्टाचारबारे छानबिन गरी प्रतिवेदन तयार गर्न अमिक शेरचन र पोष्टबहादुर बोगटीको संयोजकत्वमा गठित दुई बेग्लाबेग्लै समितिले तयार गरी गोप्य राखेको प्रतिवेदन माओवादीले हात पारेको बुझिएको छ। उक्त प्रतिवेदनमा भ्रष्ट ठहर गरिएको ‘नेता’ र ‘कमान्डर’हरूलाई आवश्यक कारबाहीका लागि नाम सार्वजनिक गरिने पनि माओवादी सूत्रले जनाएको छ। हालसम्मको नामावली सङ्कलनका क्रममा काङ्गे्रस, एमाले र मधेसकेन्द्रित दल सम्बद्ध नेता–कार्यकर्ताभन्दा कैयन बढी सङ्ख्यामा ‘भ्रष्ट र दलाल′हरू एमाओवादीमा फेला परेको पनि उनीहरूको भनाइ छ। एमाओवादीपछि कर्मचारीहरूको सङ्ख्या रहेको देखिएको छ। भदौको तेस्रो सातासम्ममा नाम सार्वजनिक गरिसकेपछि उनीहरूलाई के–कस्तो कारबाही गर्ने भन्ने कुराको निर्णय पार्टीले लिने र सोहीबमोजिम कारबाहीको प्रक्रिया सुरु गरिने माओवादी सूत्रको भनाइ छ।