Wednesday, September 11, 2013

सहमतिका लागि ३३ दलको नयाँ प्रस्ताव

वार्ताको औचित्य सकियो भन्दा आश्चर्यचकित

mohan baidya                              २६ भदौ, काठमाडौं । नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चामा आवद्ध दलहरुले चुनावको मिति घोषणासहितको सहमतिको नयाँ प्रस्ताव अघि सारेका छन् । उच्चस्तरीय राजनीतिक समितिले वार्ताको औचित्य सकिएको निश्कर्ष निकालेको भोलिपल्टै ३३ दलीय मोर्चामा आवद्ध दलका नेताहरुले राष्ट्रपतिदेखि प्रमुख दलका नेतासमक्ष यस्तो प्रस्ताव अघि सारेका हुन् । स्रोतका अनुसार मोर्चाका केही नेताहरुले राष्ट्रपति डा. रामवरण यादव, राजनीतिक समितिका संयोजक एवं कांग्रेस सभापति सुशील कोइराला र एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रस्तावबारे छलफल गरेका छन् । नयाँ प्रस्तावमा वैद्य माओवादीका नेतासँग पनि कुराकानी
भइरहेको बताइएको छ ।
                         ‘पहिले सबैको सहमतिमा चुनावको नयाँ मिति घोषणा गरौं, त्यसमा प्रमुख दलदेखि बैद्य माओवादीसम्म सबैले हस्ताक्षर गरौं भन्ने प्रस्तावमा छलफल चलिरहेको छ’ प्रस्ताव तयार पार्ने मध्येका एक नेताले अनलाइनखबरसँग भने-’यसले बैद्य चुनावमा आउँदैनन् कि भन्ने आशंका पनि हट्छ र सहमतिको वातावरण पनि बन्छ ।’ उनका अनुसार यस्तो घोषणा गर्दा माओवादी अध्यक्ष मोहन बैद्य र ३३ दलीय मोर्चाका तर्फबाट माओवादी सचिव देव गुरुङलाई समेत हस्ताक्षर गराउने प्रस्तावमा उल्लेख छ ।
                                   चुनावको नयाँ मिति घोषणापछि संविधानका अन्तरवस्तुमा सहमतिको प्रयास गर्ने र गोलमेच सम्मेलन गर्न सहज हुने प्रस्तावकहरुको दावी छ । ‘यो प्र्रस्तावमा सुशील कोइराला र माधव नेपाल पनि सहमत देखिनुभएको छ’ उनले भने-’हामीले बैद्य, सीपी गजुरेल र रामबहादुर थापा बादलसँग कुराकानी गरेका छौं ।’सहमतिको नयाँ विकल्पमा छलफल भइरहेका बेला राजनीतिक समितिले वार्ताको औचित्य सकियो भनेकोमा भने उनीहरुले आश्चर्य व्यक्त गरेका छन् । ‘छलफलमा सकारात्मक भन्ने अनि बैठक बसेर वार्ताको औचित्य सकियो भन्दा हामी आश्चर्यमा परेका छौं’ उनले भने ।

No comments:

Post a Comment