Lila-Mani-Poudel-Chief-Secretary                  काठमाडौं। पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठलाई मुख्यसचिव लीलामणि पौडेलले भेटेरै आर्थिक सहयोगको वचन दिए पनि सरकारले अहिलेसम्म सहयोग नगरेको उनका छोरा अनिल श्रेष्ठले विज्ञप्ति जारी गरेर बताएका छन्।
                  पहिला क्रोनिक निमोनियाको लक्षण देखिएपछि हिमाल अस्पतालमा उपचार गराएका सिंहलाई नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा परीक्षण गर्दा फोक्सोमा क्यान्सर भएको पत्ता लागेको थियो।
        एक नातेदारका अनुसार सिंह बिरामी परेर अस्पताल भर्ना भएको खबर सुनेपछि मुख्यसचिव पौडेल हिमाल अस्पताल पुगेका थिए। पूर्वप्रधानमन्त्री सिंहलाई उनले भनेका थिए, ‘सरकारले हजुरको सबै उपचार खर्च
बेहोर्छ। म क्याबिनेटमा लगेर पास गराउँछु। हजुरले खर्चको चिन्ता लिनु नपर्ला।’ पौडेलकै अनुरोधमा परिवारले उपचार खर्चका लागि सरकारलाई एउटा निवेदन हाल्यो, तर प्रक्रिया अघि बढेको नबढेको बारेमा केही थाहा छैन।
              महँगो उपचार खर्च धान्न नसकेपछि बाध्य भएर परिवारले सरकारलाई गुहारेको बताएका छन्। उनका एक नातेदारका अनुसार सकभर आफ्नै बुताबाट उपचार गरौं भन्ने सिंहको आशय थियो, तर तर खर्च धान्नै नसकेपछि सरकारको सहयोग मागिएको  हो।
                 ‘पञ्चायतकालका इमान्दार र राष्ट्रवादी पूर्वप्रधानमन्त्री तथा मेरो बुबा मरिचमानसिंह श्रेष्ठको अवस्था ज्यादै चिन्ताजनक भई दिल्लीको मेदान्त अस्पतालमा उपचार भइरहेको छ,’ सिंहका छोरा अनिलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘साथीभाइ र इष्टमित्रबाट खर्च उठाउँदा पनि आर्थिक अभाव भएकाले नेपाल सरकारका मुख्यसचिव लीलामणि पौडेलमार्फत आर्थिक सहयोगका लागि मन्त्रिपरिषद् अध्यक्षकोमा एक महिनाअघि नै जाहेर भइसकेको हो। हाल अस्पतालको आईसीयूमा जीवन जीउन संघर्ष गरिरहनुभएका मेरा बुबालाई सहयोगका लागि पहल गरिदिनुहुन अनुरोध गर्छौं।’