घटस्थापना र दशैँको पूजापाठ महेन्द्र मञ्जिल र निर्मलनिवास दुवैतिर गरिएको छ। दशैँमा छोरी, ज्वाइँ, बुहारी, नाति–नातिनी सबै भए पनि छोरा पारसको भने उपस्थिति रहने छैन। पूर्वयुवराज पारस अहिले बैंककस्थित एक पुनर्स्थापना केन्द्रमा उपचाररत हुनुहुन्छ। उहाँको उपचारमा अझै केही समय लाग्ने बताइएको छ। पूर्वयुवराज्ञी हिमानी दुई हप्ताअघि मात्रै पुनर्स्थापना केन्द्रको पैसा तिर्न तथा पति पारससँगको भेटघाटका लागि बैंकक पुग्नुभएको थियो। पारसको स्वास्थ्य स्थितिमा सुधार आएका कारण खुसी हुनुभएकी हिमानीसँग आफू पूर्ण स्वस्थ भएपछि मात्रै बाहिर निस्कने कुरा पूर्वयुवराजले गर्नुभएको बताइएको छ। तिहारसम्म पनि उहाँको स्वास्थ्य ठीक नभए प्रेरणा, सीताष्मा, पूजा या दिलासामध्ये कोही न कोही बैंकक गएरै टीका लगाइदिने सोच शाही परिवारले बनाएको बुझिएको छ।
विगत दुई महिनादेखि कसैसँग भेटघाट नगरी मौन बस्नुभएका पूर्वराजा ज्ञानेन्द्र विजयादशमीको अवसरमा विभिन्न शक्तिपीठहरूको पूजाआजामा बाहिर निस्कनुहुने भएको छ। जानकारीअनुसार असोज २६ गते महाअष्टमीका दिन दिउँसो ४ बजे नक्साल भगवतीमा पूजाआजा गरिने र त्यसपछि क्रमशः गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, महाङ्काल, सङ्कटा, नरदेवी, रक्तकाली र शोभाभगवतीमा पूजाआजा गर्ने कार्यक्रम रहेको छ। बडादशैँको टीका महेन्द्र मञ्जिलबाट सुरु गरिने भए पनि सर्वसाधारण तथा अन्य शाही नातेदारलाई भने निर्मलनिवासमै टीकाको कार्यक्रम राखिएको छ।
विजयादशमीको दिन ३ बजेदेखि निर्मलनिवासमा सर्वसाधारणका लागि टीका खुला गरिएको छ। मुलुकमा औपचारिक रूपले राजसंस्था नरहे पनि पूर्वराजाको हातको टीका थाप्न वर्षेनी हजारौँको सङ्ख्यामा भीड लाग्ने गरेको छ। यता साहेबज्यू, चौतारिया तथा शाही नातेदारका लागि भने विजयादशमीको भोलिपल्ट टीका कार्यक्रम राखिएको छ। यसअघि आफ्नो परिवारको टीका सकेर शाही नातेदार र त्यसपछि मात्रै सर्वसाधारणलाई टीका लगाउने गरिएको थियो। विगतमाझैँ यो वर्ष पनि नेपाली जनताका नाममा पूर्वराजाबाट बडादशैँको शुभकामना सन्देश दिइने बताइएको छ।
No comments:
Post a Comment