DSP-Prakash Dahal Prachanda            काठमाडौं। श्रीमति सीता दाहाललाई लिएर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंगापुर उडेकै दिन एमाओवादी केन्द्रीय कार्यालयमा भएको सामान्य छलफलले झन्डै–झन्डै उग्ररूप लियो। केन्द्रीय कार्यालय पेरिसडाँडा परिसरमा जम्मा भएका कार्यकर्ताबीचको झगडाको मुख्य विषय थियो– अध्यक्ष दाहाल श्रीमतीको उपचारका लागि सिंगापुर गएका हुन् कि अन्य कुनै काम विशेषले?
                          जीवन र मृत्युको दोसाँधमा रहेका कम्युनिस्ट पार्टीका एक मात्र जीवित संस्थापक नेता नरबहादुर कर्मचार्यले उपचारका लागि आर्थिक अभाव बेहोरिरहेका बेला अध्यक्ष दाहाल हट्टाकट्टा श्रीमतीलाई
लिएर उपचारका लागि भन्दै सिंगापुर किन हानिए? भन्ने तर्क एकथरी कार्यकर्ताले उठाएका थिए। अर्काथरीले चाहिँ ५० वर्षीया सीता दाहालको स्वास्थ्य उपचार र ९० वर्षीय कर्माचार्यको स्वास्थ्य उपचारलाईसँगै राखेर तुलना गर्नु विवेकसुन्य भएको तर्क राखे। एक पक्षले अर्काे पक्षको तर्क खण्डन गर्ने क्रम सुरु भयो। एक हिसाबले दोहोरी नै चल्यो। सीता दाहालको पक्षमा तर्क गर्नेभन्दा नरबहादुर कर्माचार्य पक्षमा तर्क गर्नेहरूले नै बलिया दलिलहरू प्रस्तुत गर्न थाले। तर्कमाथि कुर्तक थपिँदै जाँदा हात हालाहालको स्थिति हुन लागेपछि पोलिटब्युरो स्तरका एक नेताले स्थिति साम्य बनाए।
                 यथार्थ जानकारी नहुँदा यस्तो विवाद हुनु स्वाभाविक भएको बताउँदै उनले भने– ‘अध्यक्ष कामरेड श्रीमतीको स्वास्थ्य उपचारका लागि मात्रै सिंगापुर जानु भएको होइन, चिनियाँ प्रोफेसर वाङ र भारतीय प्रोफेसर एसडी मुनिसँग पनि छलफल गर्ने उहाँको मिसन हो।’ जनयुद्धकालमा समेत २४ सै घन्टा श्रीमतीलाई साथमै राख्ने गरेका दाहाल सिंगापुर जस्तो आधुनिक सहरमा एक्लै जाने सम्भावना थिएन। श्रीमती सीताको पिसावसम्बन्धी रोग पुरानै हो। केही वर्ष अगाडि थाइल्यान्डको समितिभेज अस्पतालमा दाहिने मृगौलामा जमेको फोहोर फाल्न सामान्य अपरेसन गरिएको थियो। त्यसको फ्लोअप नेपालमै पनि हुनसक्ने स्थिति थियो। जुन अस्पतालमा अपरेसन गरिएको हो, त्यही अस्पतालमा फ्लोअपका लागि देखाउने चिकित्सकीय मान्यता रहँदै आएको छ। तर दाहालले पत्नी सीतालाई थाइल्यान्डभन्दा झन् टाढा सिंगापुर किन लगे? भन्ने प्रश्नको यथार्थ जवाफ नपाउँदा जनयुद्ध लडेका कार्यकर्ताबीच विवाद र झडप हुनु स्वाभाविक मानिएको छ।
                                 चिनियाँ प्रोफेसर वाङलाई भेटेर पार्टी एकीकरणका लागि मोहन वैद्यमाथि दबाब दिने र भारतीय प्रोफेसर एसडी मुनिलाई भेटेर बाबुराम भट्टराईलाई उपाध्यक्ष पदमा यथावत् रहन दबाब दिने मिसनका साथ अध्यक्ष दाहाल सिंगापुर गएको जानकारीसहित दाहाल निकटस्थहरूले कार्यकर्तालाई सर्कुलर गरिसकेका छन्। अध्यक्ष दाहाल श्रीमतीको उपचारका लागि मात्रै नभएर पार्टीको प्रमुख मिसनका लागि सिंगापुर गएको कुरामा एमाओवादीका सामान्य कार्यकर्तालाई ढुक्क बनाइएको छ। एसडी मुनिलाई भेट्न भनेर जाँदा प्रतिक्रियावादीहरूले दुष्प्रचारको बहाना बनाउने भएकाले उनीहरूको आँखामा छारो हाल्न यसो गरिएको एउटै तर्क एमाओवादीका गाउँतहसम्मका कार्यकर्ताले गर्न थालेका छन्। भारतीय विदेश मन्त्रिसलमान खुसिर्दलाई भेट्न श्रीमति सीताभन्दा दुई दिनअघि काठमाडौं आएका दाहालले बर्मामा सुरु गर्ने भनिएको टेलिकमको विजनेसबारे टुंगो लगाएको वा नलगाएको जानकारी हुन सकेको छैन।
                       तर दाहालको सिंगापुर भ्रमणको यथार्थता ‘एक पन्थ दो काज’ मात्रै नभएर ‘एक पन्थ त्रि–काज’ रहेको समाचार स्रोतले जनाएको छ। श्रीमतीको स्वास्थ्य जाँच र चिनियाँ तथा भारतीय गुप्तचर संस्थाका मानिससँगको भेटघाटभन्दा पनि ठूलो मिसन लिएर दाहाल सिंगापुर गएका थिए। स्रोतका अनुसार सिंगापुरका नवधनाढ्य विपिन थापालाई भेटेर व्यापारीक कारोबार सुरक्षित गर्न दाहालको तेस्रो उद्देश्य रहेको स्रोतहरुले बताएका छन्। सिंगापुरमा घरजग्गाको कारोबार गरेर छोटो समयमै ठूलो धनराशि जम्मा गरेका थापाले एमाओवादी अध्यक्ष दाहालको १४ अर्ब रुपैयाँ चलाएको बताइन्छ। उक्त १४ अर्ब रुपैयाँलाई सेयरमा रूपान्तरण गर्ने र अन्य देशमा पनि व्यावसायिक कारोबार विस्तार गर्ने सिलसिलामा अध्यक्ष दाहाल सिंगापुर गएको पार्टीभित्र चर्चा छ। पार्टी पंक्ति, मिडिया र सर्वसाधारणका लागि आकस्मिक लागे पनि उनको सिंगापुर भ्रमण दुई महिनाअघि नै तय भएको हो। भारतीय विदेशमन्त्री सलमान खुर्सिदको नेपाल भ्रमण तय हुनुअघि नै दाहालको सिंगापुर भ्रमण तय भएको थियो। म्यानमार (बर्मा) को सैनिक सरकारले लोकतन्त्र र आर्थिक उदारीकरणको नीति अवलम्बन गर्नासाथ म्यानमारमा उद्योगधन्दा र रियलस्टेट व्यवसाय विस्तार गर्ने प्रस्ताव सिंगापुरका व्यावसायिक साझेदारहरूले दाहाललाई पठाएका थिए। विपिन थापा, चाइनिज मूलका एक अमेरिकी जोडी मिलेर म्यानमारमा एक अर्ब अमेरिकी डलर लगानी गर्न तयार गरिएको प्रोजेक्टमा पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंहसमेत संलग्न हुने भएका छन्। प्रचण्डलाई एक्यापसम्म पुर्‍याउने राजबहादुरका विश्वासी उलक थरका व्यक्तिले मधेस्थता गरिरहेको बुझिएको छ ।

                     त्यो कम्पनीमा एक चौथाइ सेयर राख्ने सिलसिलामा दाहाल सिंगापुर पुगेका हुन्। कम्पनीको प्रधान कार्यालय सिंगापुर, लन्डन र हङकङमध्ये कहाँ राख्ने? भन्ने विषयमा भने अझै निर्क्याैल हुनसकेको छैन। लन्डनमा मुख्यालय राख्दा तेस्रो विवाह गरिसकेका दाहालका छोरा प्रकाश दाहाललाई भिसामा समस्या पर्नसक्ने, हङकङमा राख्दा चाइनिजमूलका अमेरिकी दम्पतीलाई अप्ठेरो पर्नसक्ने भएकाले सिंगापुरमै केन्द्रीय कार्यालय राख्ने टुंगोमा कम्पनी पुगेको समाचार स्रोतले जनाएको छ। तर सिंगापुर प्रशासन ‘कालोधन’ प्रति निकै सतर्क हुने गरेका कारण एमाओवादी अध्यक्ष दाहाल ढुक्क भने छैनन्। छोरा प्रकाशलाई सिंगापुर नराखेर बर्मामा राख्ने तयारी उनको छ। बेलायतले प्रकाशलाई भिसा दिन अस्वीकार गरिसकेको समाचार यसअघि आएको थियो।