मन्त्रिपरिषद् बैठकमा मुख्यसचिव हावी हुने गरेको समाचार बाहिर आएपछि त्यसको दोष भौतिक योजनामन्त्री छविराज पन्तलाई लगाएर पन्छिन खोजे पनि मुख्यसचिवबाट स्वयं पूर्व मुख्यसचिव समेत रहेको गृहमन्त्री माधव घिमिरे समेत पीडित बनेको स्रोतले जनाएको छ। मुख्यसचिवले आफ्ना हरेक एजेण्डामा बाधा हाल्ने गरेको भन्दै कुनै बेला पौडेलसँगै मुख्यसचिवको प्रतिस्पर्धामा रहेका शंकर कोइरालाले त कांग्रेस नेतृत्वसँग पनि गुनासो गरिसकेको थाहा भएको छ। त्यस्तै उमाकान्त झा पनि मुख्यसचिवबाट पीडित बनेको गुनासो बिजय गच्छदारले उच्चस्तरीय संयन्त्रमै गरेको बताइन्छ। उनले मन्त्रिपरिषद् अध्यक्ष बाहेक प्रायः हरेक विषयमा गृहमन्त्री माधव घिमिरे र संचार मन्त्री माधव पौडेलसँग छलफल गर्ने गर्छन्। अध्यक्षले बढी भरोसा गर्ने मन्त्री भएकाले उनीहरूसँग सल्लाह गर्ने गरे पनि पछिल्लो समयमा घिमिरे नै पौडेलबाट रुष्ट बनेको चर्चा गृहमन्त्रालयतिर चल्ने गरेको छ। मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री र संचारमन्त्री अनि पर्यटन मन्त्रीले लगेका हरेक प्रस्ताव पारित हुने तर अन्य मन्त्रीका प्रस्तावमा उनले भाँजो हाल्ने गरेको आरोप पनि लागेको छ। मन्त्रिपरिषद् बैठकमै पनि मन्त्रीलाई उछिनेर मुख्य सचिवले बोल्ने गरेको बताइन्छ। ‘मुख्य सचिव त उपप्रधानमन्त्रीको भूमिकामा प्रस्तुत हुने गर्छन्। उनले अहिलेका केही भ्रष्ट मन्त्रीहरूलाई चाहिं देखि सहन्न र ब्यवहार पनि सचिवकै गर्न खोज्छन्, यसबारेमा हामीले मन्त्रिपरिषद अध्यक्षसँग अनौपचारिक रुपमा गुनासो पनि गरिसकेका छौं’ कांग्रेस निकट एक मन्त्रीले भने।
                          बिभिन्न मन्त्रालयबाट छलफलका लागि गएका प्रस्तावमाथिको छलफलका बैठकमा मुख्यसचिव बस्ने गरे पनि पछिल्लो समयमा उनी त्यस्ता छलफलमा सहभागी हुन छाडेका छन्। तर केही शंकास्पद प्रस्ताव पारित हुन नदिन वा एजेण्डामै आउन नदिन भनें उनको सक्रियता बढेको छ। धेरैजसो मन्त्रीहरू क्याबिनेट बैठकमा शुरुदेखि अन्त्यसम्म बसे पनि निर्णय के भएर भनेर थाहा पाउन भने मुख्यसचिवको पत्र कुरेर बस्नुपर्ने अवस्थामा रहेको मधेशीमूलका एक मन्त्रीले गुनासो गरे। वृहत्तर जनकपुर क्षेत्र विकास समितिको अध्यक्ष रामकुमार शर्माले पदबहाली गरेको समाचार पत्रिकामा पढेपछि मात्र उनको नियुक्ति भएछ भनेर आफूले थाहा पाएको उनले गुनासो गरे। त्यसो त सचिव बढुवा र सहसचिवको सरुवामा पनि मुख्य सचिवको ताकत धेरै मन्त्रीले देखे।
                      पछिल्लो पटक तीन सहसचिवको सरुवा त मन्त्रिपरिषद बैठकमै नलगी मुख्यसचिवले निर्णय पुस्तिकामा धस्काउन सफल भएको चर्चा पनि मन्त्रिपरिषद् कार्यालयतिर चलेको छ। मन्त्रीहरूमात्र होइन मुख्यसचिवबाट अधिकांश सचिवहरू प्ानि पीडित बनेको गुनासो आइरहेको छ। ‘निष्कलंक छवि भए पनि आफूलाई बाहेक अरुलाई मान्छे नै नगन्ने, आफैंमात्र जान्नेसुन्ने हुँ भन्ने अनि एउटा आइप्याड अगाडि राखेर टाइप गर्दैमा विश्वको सबैभन्दा जान्ने सुन्ने मं हँु भन्ने उहाँको घमण्ड छ’ सचिवहरूको गुनासो छ ‘कुनै पनि मन्त्रालयका काममा सचिवहरूलाई सही सल्लाह सुझाव र मार्गदर्शन दिनुपर्ने काम मुख्यसचिवको हो, तर उहाँलाई भेट्न पनि गाह्रो हुन्छ।’