Wednesday, July 10, 2013

चोरीको गाडी अग्नि सापकोटाको

           महानगरीय अपराध महाशाखा प्रहरीले राजधानीको मीनभवनबाट जफत गरेको गाडी माओवादी प्रवक्ता अग्नि सापकोटाको भएको खुलेको छ । महाशाखाले असार १३ गते महिन्द्रा कम्पनीको बा००१अ १० हरियो नम्बर प्लेट भएको सेतो रङको गाडी समातेको थियो।
           युद्धबाट शान्ति प्रक्रियामा आएपछि पनि माओवादी नेताहरूले चोरीका गाडी प्रयोग गरेपछि सरकारले नै हरियो र पहेँलो प्लेटमा अस्थायी नम्बर दिएको थियो । स्रोतका अनुसार यो नम्बर प्लेट सापकोटाले चलाउँथे। प्रवक्ता सापकोटा आफैंले उक्त नम्बर प्लेटको गाडी पहिले चलाएको स्वीकारेका छन् । ‘पहिले यो गाडी मैले नै
चलाएको हुँ,’ सापकोटाले  भने, ‘सरकारले निजी नम्बर प्लेट दिएपछि त्यो चढ्न छाडेँ।’ सापकोटा अहिले बा८च ९४६६ नम्बरको गाडी चढ्छन् । विगतमा चढ्ने गरेको गाडी अहिले कसले चलाइरहेको रहेछ भनेर जान्न इच्छुक रहेको उनले बताए। माओवादी नेताको भएकैले प्रहरीले उक्त गाडी ‘बेवारिसे’ कागजात बनाएर लिलामीका लागि भन्सार पठाउन लागेको छ । स–साना चोरी र त्यसमा संलग्नलाई चोरी मुद्दा लगाएर कारबाही गर्ने गरेकोमा माओवादी नेतालाई भने नक्कली कागजात बनाएर चोख्याउन खोजेको छ। यातायात व्यवस्था कार्यालय बागमतीमा खोजी गर्दा उक्त सवारी दर्ता नदेखिएपछि लिलामीमा भन्सार पठाउन लागिएको महाशाखाका एक प्रहरी अधिकृतले जानकारी दिए । ‘दर्ता नदेखिएकाले बेवारिसे कागज बनाएर आजभोलितिरै भन्सार पठाउने तयारी भइरहेको छ,’ ती अधिकृतले भने।
              अपराध महाशाखा नेतृत्वले माओवादी नेताको गाडी पक्राउ र अनुसन्धानबारे औपचारिक जानकारी दिन मानेको छैन । सापकोटाले प्रयोग गरिरहेको पुष्टि भए पनि महाशाखाका प्रहरी नेतृत्व र अधिकारीहरू माओवादी दबाबसामु झुकेका छन् । लिलामीमा पठाउने समय भइसक्दा पनि महाशाखा प्रमुख विजयलाल कायस्थ उक्त सवारीबारे जानकारी दिन अस्वीकार गर्छन्।
           उक्त गाडी फेला परेको मीनभवनस्थित घरमा पहिले एकीकृत माओवादीको तामसालिङ राज्यसमिति कार्यालय बस्थ्यो । स्रोतका अनुसार कार्यालय सरे पनि सापकोटा त्यहाँ आउजाउ गरिरहन्थे । उक्त सुराकीका आधारमा प्रहरीले छापा मारे पनि सवारीबाहेक केही फेला नपरेको भन्दै प्रहरीले ‘बेवारिसे मुचुल्का’ तयार पारेको छ । कानुनी व्यवस्थाअनुसार चोरीका सवारी प्रयोग गर्ने व्यक्तिमाथि छुट्टै कारबाही हुनुपर्छ। लडाकु व्यवस्थापन, समायोजना प्रक्रियामा बढीजसो यस्ता गाडी प्रयोग हुन्थे । शान्ति प्रक्रिया समाप्तिसँगै सरकारले ती गाडी आफ्नो नियन्त्रणमा लिएर माओवादी नेतालाई निजी नम्बर प्लेट उपलब्ध गराएको थियो।

No comments:

Post a Comment