Tuesday, July 16, 2013

वैद्यले बहिस्कार गरे प्रचण्डलाई बढ्ता घाटा

prachanda-and-baidyaविस्तारित बैठकलाई चुनाबी रणनीतिमा केन्द्रित गर्ने तयारी

                १ साउन, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा- माओवादीले चुनाव बहिस्कार गर्दा आफूलाई फाइदा हुन्छ कि उपयोग गर्दा भन्नेबारे एकीकृत नेकपा माओवादीभित्र छलफल चल्न थालेकोछ।        मोहन वैद्यले चुनाव बहिस्कार गरिदिए प्रचण्डपक्षलाई फाइदा हुन्छ र उपयोग गरे एमाओवादी कमजोर हुन्छ भन्ने गैरमाओवादी क्षेत्रको विश्लेषण छ । तर, एक एमाओवादी
नेताले  भने, ‘वैद्य समूहले चुनाव बहिस्कार गर्यो भने हामीलाई झन् ठूलो समस्या पर्न सक्छ ।’  वैद्य समूहले चुनाव बहिस्कार गर्दा तपाईहरुलाई कसरी अप्ठ्यारो पर्छ भन्ने प्रश्नमा एमाओवादी नेता भन्छन्- ‘बहिस्कारका क्रममा उनीहरुले कुनै ठाउँमा हिंसाका घटनाहरु गराउने सम्भावना हुन्छ, चुनावका बेला त्यस्तो भए राज्य पनि चुप लागेर बस्ने कुरा आउँदैन र उसले बल प्रयोग गर्नुपर्ने हुन्छ । त्योबेला हाम्रो पार्टीले राज्यको पक्षमा बोल्ने कि माओवादीको ?’
                           राज्य र माओवादी मुठभेडमा उत्रिएको अवस्थामा राज्यले गर्ने दमनको पक्षमा बोल्दा जनयुद्ध लडेर आएका कार्यकर्ताहरु भड्किने र वैद्य माओवादीको पक्षमा बोल्दा चुनाव बिथोलिने डर हुने भएकाले त्यसबेला पार्टीलाई ठूलो नैतिक समस्या सिर्जना हुने एमाओवादी नेताको विश्लेषण छ । ‘बरु चुनाव उपयोग गरे भने वैद्यजीहरु पनि हाम्रै राजनीतिक एजेन्डामा आएको प्रमाणित हुन्छ र हामीलाई सजिलो हुन्छ,’ नाम उल्लेख गर्न अन्कनाउँदै एमाओवादी नेताले  आफ्नो विश्लेषण सुनाए, ‘बरु चुनावमा आए भने वैद्यजीहरुको प्रभाव हामीलाई कमैमात्र पर्ने छ, करिब आधा दर्जन जिल्लामा उहाँहरुले सामान्य प्रभाव पारे पनि अन्यत्र उहाँहरुले चुनाव लड्दा हामीलाई कुनै अप्ठ्यारो पर्दैन ।’
                      यसैवीच आगामी शुक्रबार बोलाइएको विस्तारित बैठक संगठनात्मक समस्या समाधानका लागि बोलाइएको भनिए पनि सो बैठक चुनाबी रणनीति बनाउनमा केन्दि्रत हुने माओवादी नेताले दाबी गरे । ‘बाबुरामजीको त्यागपत्र र संगठनको समस्याबारे विस्तारिक बैठक अघि नै टुंगो लगाएने छ ।’- एमाओवादी स्रोतले भन्यो, हाम्रो विस्तारित बैठक चुनावी रणनीति बनाउनमै केन्द्रित हुनेछ ।
                  संगठनात्मक समस्याले जटिल रुप लिएपछि त्यसलाई हल गर्न बोलाइएको एमाओवादीको विस्तारित बैठक आगामी शुक्रबारदेखि ललितपुरको खन्ना गार्मेन्टमा हुँदैछ । विस्तारित बैठकको तयारीका लागि एमाओवादी आन्तरिक छलफलमा जुटिरहेको छ । यसैक्रममा मंगलबार पदाधिकारी, पूर्वस्थायी समिति सदस्य तथा व्यूरो प्रमुखहरुको बैठक बस्ने एमाओवादी पार्टी कार्यालयले जनाएको छ । बैठक मंगलबार तीन बजेपछि पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने भनिए पनि आजै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उच्चस्तरीय राजनीतिक समितिको संयोजक भएपछि चारदलकोसमेत बैठक बस्नुपर्ने भएकाले पार्टी बैठकको समय परिवर्तन हुन सक्ने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।

No comments:

Post a Comment