Friday, September 20, 2013

दसैं आयो कि तेलको हाहाकार

nepal_oil_corporation                काठमाडौं। एक महिनायता मात्रै पेट्रोलियम पदार्थको मूल्य दुईपटक वृद्धि गरिएपछि सर्वसाधारण उपभोक्ता आन्दोलित भएका छन्। दसै तिहारमा पेट्रोलियम पदार्थको हाहाकार हुने दाबी नेपाल आयल निगमले गरेको छ।
                 अमेरिकी डलरको मूल्य निरन्तर बढेसँगै पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्य पनि निरन्तर बढ्दै गइरहेका कारण नेपाल आयल निगम घाटामा गएको हो। पछिल्लो पटक गरिएको मूल्यवृद्धिपछि आयल निगमको घाटा मासिक सवा अर्ब रुपैयाँबाट घटेर ८० करोड रुपैयाँमा
झरेको छ। तर दसैं तिहारको बीचमा खपत दोब्बर हुने भएकाले यस अवधिमा मात्रै निगमले दुई अर्ब रुपैयाँ घाटा बेहोर्नुपर्ने हुन्छ। इन्डियन आयल कर्पोरेसनलाई तिर्नुपर्ने एक अर्ब ७० लाख रुपैयाँको जोहो गर्न नेपाल आयल निगमले नसकेका कारण पेट्रोलियम पदार्थ कम आयात हुन थालेको छ। जसका कारण केही दिनदेखि अभाव सुरु भइसकेको छ। आईओसीलाई रकम बुझाउनु नसके पेट्रोलियम पदार्थ साविकभन्दा ५० प्रतिशत कम आयत हुने, तर चाडपर्वका कारण माग भने सतप्रतिशत बढ्ने स्थिति छ।
                  दसैको मुखमा हुन गइरहेको पेट्रोलियम संकटलाई हटाउन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट एक/एक अर्ब रुपैयाँ ऋण लिने तयारी गरेको छ। सरकार ग्यारेन्टी बसेर लिन लागिएको उक्त ऋणको ब्याज १२ दशमलब ५ प्रतिशत छ। निगमले निजी बैंकबाट लिएको तीन अर्ब ऋणसमेत चुक्ता  गर्न सकेको छैन। यी निजी बैंकबाट निगमले ९ दशमलब ५ प्रतिशत ब्याजदरमा ऋण लिएको हो। निगमले ऋणको ब्याज मात्रै मासिक ३४ करोड रुपैयाँ बुझाउँदै आएको छ। निगमले सबैभन्दा बढी घाटा डिजेलमा बेहोर्ने गरेको छ। मासिक ६ करोड लिटर खपत हुने डिजेल निगमले प्रतिलिटर ११ रुपैयाँ घाटा खाएर बिक्री गरिरहेको छ भने खाना पकाउने एलपी ग्याँसमा मात्रै निगमले मासिक १३ करोड रुपैयाँ घाटा बेहारिरहेको छ।

No comments:

Post a Comment