आफ्नै कमरेडले पैसा र मोबाइल लुटे
९ असार, काठमाडौं । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनौटका क्रममा सेती अन्चल सम्पर्क कमिटीमा एकले अर्को पक्षमाथि कुटपीट र बलजफ्ती गरेको आरोप लगाउँदै निर्वाचन बदरको माग गरेका छन् ।
माधव नेपाल पक्षले ओली पक्षमाथि कुटपीटको आरोप लगाए लगत्तै ओली पक्षले पनि कुटपीटको आरोप लगाएको छ । महाधिवेशन प्रतिनिधि छनौटका लागि निर्वाचनका समयमा आफुमाथि कुटपीट गरी प्रतिनिधि चयन गरिएको भन्दै प्रयाग खड्काले एमाले संगठन विभागमा उजुरी गरेका छन् ।
सर्बसम्मत प्रतिनिधि चयन गर्न छलफल भइरहेका बेला बाहिरवाट आएका युवासंघका केन्द्रीय सचिवालय सदस्य सुरेन्द्रमान कार्की र अनेरास्ववियुका भीम रावलले आफुमाथि कुटपीट गरेको र आफु घाइते भइ बीर अस्पतालमा जानु परेको र सोही अवसर पारेर प्रतिनिधि छनौट गरेको बताएका छन् । नेपाल पक्षले भीम रावलमाथि आक्रमण भएको आरोप लगाएको
थियो ।
खड्काले आफुमाथि सांघातिक हमला भएको तर, उल्टै आफुवाट प्रतिनिधि छनौटमा कुटपीट गरिएको भनि प्रायोजित समाचार सञ्चार माध्यममार्फत बाहिर ल्याइ आफ्नो प्रतिष्ठामा आँच पुर्याएको पनि उनले उजुरीमा उल्लेख गरेका छन् । शनिवार एमाले केन्द्रीय सदस्य योगेश भट्टराईले सेती अञ्चल सम्पर्क कमिटीको प्रतिनिधि चयनमा ओली पक्षले कुटपीट गरेको विज्ञप्ति निकालेका थिए । खड्काले दिएको विवरण अनुसार सम्पर्क कमिटीमा नामै नरहेका युवा संघ र अखिलका माधव नेपाल पक्षीय कार्यकर्ताहरु कार्की र रावल लगायत छलफल गरेको ठाउँमा प्रवेश गरी कुटपीट गरेका थिए ।
कुटपीटका क्रममा खड्काको साथमा रहेको मोवाईल, ५ हजार ५ सय रुपैया नगद र पार्टी सदस्यता कार्ड पनि हराएको उल्लेख गरिएको छ । कुटपीटमा संलग्न कार्की, रावल, भुपेन्द्र शाह, कमल रावल, कपिल रावल, र प्रेम कुंवरसमेत संलग्न रहेकाले कारवाहीको माग गरिएको छ । नेपाल पक्षीय कार्यकर्ताहरुले बाहिरवाट मान्छे ल्याएर कुटपीट गरी घाइते बनाएर प्रतिनिधि चयन गर्नवाट बञ्चित गरी कुटपीटको दोष भने आफुमाथि लगाएर केन्द्रीय सदस्यले नै विज्ञप्ति जारी गरेकाले सोको समेत छानविन गर्न उनले माग गरेका छन् ।

No comments:
Post a Comment