Tuesday, September 9, 2014

केन्द्रीय सदस्य शर्मा निलम्बित भएको भन्दै विप्लव असन्तुष्ट

           काठमाडौँ, भदौ २४– नेकपा–माओवादीले केन्द्रीय सदस्य अनिल शर्मा विरहीलाई अनिश्चितकालसम्मका लागि निलम्बन गर्ने निर्णय गरे पनि सचिव नेत्र विक्रम चन्द विप्लव असन्तुष्ट बनेका छन् । केही दिन पहिले चितवन जिल्ला पार्टी कार्यालयको विषयलाई लिएर शर्माले प्रेस वक्तव्यमार्फत पार्टी नेतृत्वलाई आरोप लगाएको भन्दै कारबाही गरिएको महासचिव रामबहादुर थापाले विज्ञप्तिमार्फत जनाएका थिए । एकीकृत नेकपा(माओवादी)मा विभाजन आउनुभन्दा पहिले निर्मित चितवन जिल्ला पार्टी कार्यालय बिक्री गर्न लागिएको भन्दै शर्मा र हाल एमाओवादीमै रहेका केही जिल्ला नेताले आरोप लगाउँदै आएका थिए । तर एमाओवादीको संस्थापन पक्षले भने सो आरोपमा सत्यता नभएको बताउँदै आएको छ । महासचिव थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पार्टी नेतृत्वविरुद्ध अनर्गल आक्षेप लगाएको र मर्यादाविपरीत तथा अनुशासनहीन काम गरेकाले शर्मालाई अनिश्चितकालका लागि सम्बन्धित कामको जिम्मेवारीबाट निलम्बन गरिएको छ ।” विप्लबले भने शर्मामाथि अनुशासनहीनको
आरोप लगाउँदै महासचिव थापाले कारबाहीका नाममा निकालेको वक्तव्य कुनै कमिटीको निर्णय नभएको दाबी गरेका छन् । उनले पार्टी पद्धति विपरीत भएकाले उक्त निर्णयप्रति असहमति रहेको समेत विज्ञप्तीमार्फत जनाएका छन् ।

No comments:

Post a Comment