Tuesday, July 16, 2013

प्रचण्डपछि मै हुन्छु अध्यक्षः नारायणकाजी

narayan_kaji_shrestha-620x310 (2)                 काठमाडौं, साउन २— एकीकृत ने.क.पा.(माओवादी)का उपाध्यक्ष नाराणकाजी श्रेष्ठले अब आउने महाधिवेशनपछि आफू नै पार्टी अध्यक्ष हुने दाबी गरेका छन् । हात्तीबनस्थित आफ्नै निवासमा निकटस्थहरुसित केही दिनअघि भएको एक भेलामा नारायणकाजीले यस्तो दाबी गरेका हुन् ।
              उक्त भेलाका सहभागी एमाओवादीका एक पूर्व स्थायी समिति सदस्यले नारायणकाजीलाई उद्धृत भने, ‘बाबुरामलाई कुनै पनि हालतमा पार्टीमा सक्रिय भूमिका दिनै हुन्न । पाँच वर्षपछि प्रचण्डले पनि पदत्याग गर्नेछन् । म त भर्खर ५३ वर्षमात्रै पुगेको छु । प्रचण्डले पनि छाडेपछि पार्टी अध्यक्ष म
नै हुन्छु ।’
              पार्टी अब आफूहरुको हातमा आउने भएकाले सक्रिय भएर पहल लिन पनि देशैभरिका पूर्व एकताकेन्द्र मसालका नेता कार्यकर्तालाई नारायणकाजीले सर्कुलर समेत गरेको स्रोतले बताएको छ ।
             यसअघि एकीकृत माओवादी अध्यक्षले उपाध्यक्ष पदत्याग गर्न आग्रह गर्दा आफूले उपाध्यक्ष छाड्नुपरे पार्टी नै छाड्ने चेतावनी दिएको पनि नारायणकाजीले उक्त भेलामा खुलासा गरेको ती सहभागीले रातोपाटीलाई बताए ।  ‘बाबुरामले छाड्दैमा मैले किन छाड्ने ? तपाईं पनि मलाई उपाध्यक्ष छाड्न दबाब दिनुहुन्छ भने म बरु पूर्ववत पार्टी खोल्छु भनेपछि प्रचण्ड लत्रिए,’ नारायणकाजीले भेलाका सहभागीसामु खुलासा गरेको बताइएको छ । अब अध्यक्ष प्रचण्ड विदेश जाँदा अहिलेदेखि नै आफू पार्टीको कार्यवाहक अध्यक्ष हुने पनि नारायणकाजीको भनाइ थियो ।
              यसअघि पनि पार्टी एकतालगत्तै नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यले प्रचण्डपछिको बरिष्ठ नेता नारायणकाजी नै भएको दाबी गरेका थिए । उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘हेर्नुहोला, अबका केही वर्षपछि एमाओवादीको अध्यक्ष नारायणकाजी श्रेष्ठ हुनेछन् ।’
यसैबीच उपाध्यक्ष पदत्याग गरेका डा. बाबुराम भट्टराईलाई कार्यकारी पदमा नरहने गरी ‘वरिष्ठ नेता’ बनाउने अध्यक्ष प्रचण्डको प्रस्तावमाथि एमाओवादीभित्र छलफल चलिरहेको छ । अध्यक्ष मात्रै राखेर अरुलाई केन्द्रीय सदस्य बनाउने अध्यक्ष प्रचण्डको यसअघिको प्रस्तावमा नारायणकाजीलगायतका पदाधिकारीहरु सहमत नभएपछि प्रचण्डले ‘बीचको बाटो’को रुपमा यस्तो प्रस्ताव ल्याएका हुन् ।
                उक्त प्रस्तावलाई अन्तिम रुप दिन आज एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा एमाओवादीका पूर्व स्थायी समिति सदस्य, ब्यूरो इन्चार्जलगायतको सहभागितामा उच्चस्तरीय वैठक बस्दै छ ।

No comments:

Post a Comment