rekha n chhabi                 काठमाडौं ।  नायिका तथा निर्माता रेखा थापा फेरि एकपटक चर्चामा छिन्। नेपाली चलचित्र क्षेत्रकी वर्तमानकी  हिट नायिका थापा यतिबेला निर्माता तथा कागजी पति छविराज ओझासँगको दोहोरीका कारण चर्चामा छिन्। नेपाली सिने नगरीमा बाठो र चलचित्र चलाउन माहिर मानिएका निर्माता ओझासँग रेखाको दोहोरी चलचित्र निर्माण र प्रदर्शनको डेटका कारण भएको हो।
             रेखाले आफैं निर्माण गरेको चलचित्र ‘काली’ र छविराज प्रोडक्शनको ब्यानरमा तयार भएको चलचित्र ‘लोफर’ असोज २५ गते फूलपातिका दिनबाट प्रदर्शनमा आउँदैछ। सुरुवातमा निर्माता ओझाले
दशैंमा प्रदर्शनको मिति तय गरेपनि रेखाले ‘काली’लाई पनि यसै दिनमा प्रदर्शन गर्ने तयारी गरेपछि जुहारी सुरु भएको हो। चलचित्र ‘हिरो’ पश्चात छविले रेखा विना निर्माण गरेको पहिलो चलचित्र हो ‘लोफर’। निर्माता छविराज ओझा भन्छन्, ‘रेखा त मेरो लागि बच्चा जस्तै हो, भोलि उसको सिनेमाले व्यापारमा जिते पनि केही हुँदैन मलाई।’ उनी भन्छन्, ‘मेरो सिनेमा मल्टिप्लेक्स केन्द्रित छ, रेखाको सिंगल हल केन्द्रित छ, अब यसलाई जुधाए भनेर के गर्व गर्नुहुन्छ र।’
                 छविले रेखालाई मल्टिप्लेक्समा सिनेमा लगाएर आफूलाई उछिन्न चुनौती पनि दिएका छन्। ‘केही व्यक्तिले उचालेको भरमा उनी मसँग जुध्न खोज्दै छिन्, तर मलाई केही फरक पर्नेवाला छैन, भोलि काली पछारिएपछि उनको करिअर पनि पछारिने छ’, छविले भने। यता नायिका रेखा थापाले भने कुनै चाडपर्व कसैको पेवा नभएको भन्दै आफूले चलचित्र फूलपातिमै लगाउने बताउँदै हिंडेकी छिन्। नायिकाको रुपमा ओरोलो लाग्दै गएपछि रेखाले आफ्नै लगानीमा निर्माण गरेको सिनेमा ‘काली’ र चलचित्र चलाउन निक्कै माहिर मानिएका छविराज ओझाको ‘लोफर’ भिडन्तले सिने नगरीलाई तताउन थालेको छ। आर्यन सिग्देल, दयाहाङ राइ, नव नायिका रजनी केसीले अभिनय गरेको ‘लोफर’को चर्चा सिने नगरीमा चुलिएको छ। यसैले पनि छविसँग सिनेमा जुधाएर चलाउनु रेखाका लागि फलामको चिउरा चपाएजस्तै हुने चलचित्र पण्डितहरूको विश्लेषण छ।