नायिका रेखा थापा एक महिनाअघि एकीकृत
नेकपा माओवादी पार्टी प्रवेश गर्दा निकै ठूलो हल्लाखल्ला थियो । तर,
यतिबेला रेखाबारे कमै चर्चा हुन थालेको छ । यद्यपि नायिका थापाले एउटा निजी
टेलिभिजनलाई दिएको २८ मीनेट लामो अन्तरवार्ताको विषयलाई लिएर भने यतिबेला
एमाओवादीमा खैलाबैला मच्चिएको छ ।
चलचित्र
क्षेत्रको स्वच्छन्द दुनियाँमा हुर्केकी रेखाले एमाओवादीमा लागेपछि व्यक्त
गरेको विवाह र सन्तानोत्पादन सम्बन्धी स्वच्छन्द विचारप्रति एमाओवादी
कार्यकर्ताहरु आक्रोशित भएका हुन् । कसैसँग विवाह नगर्ने, जीवनसाथीमात्रै
राख्ने र अर्की रेखा जन्माउने नायिका थापाको विचारप्रति
माओवादीभित्र तीव्र
बहस शुरु भएको हो । तीन हप्ताअघि हिमालयन टेलीभिजनलाई दिएको अन्तरवार्तामा
नायिका थापाले भनेकी थिइन्- ‘पुरुषविना पनि बाँच्न सकिन्छ । कोमल दिदी
बिहे नगरी बस्नुभा’छ । मिथिला शर्मा बिहा नगरी बस्नुभा’छ । विवाहले
बाँधिन्छ मान्छे ।’ नायिका थापाको भनाइ थियो- ‘म बिबाह
गर्दिँन एउटा पुरुष र महिला लाइफटाइम साथी भएर अगाडि बढ्ने । सृष्टि त भइ
नै हाल्ला, विवाह बन्धनको खिलाफ त होइन, तर त्यसमा म हल्का परिवर्तन होस्
भन्ने चाहन्छु । विवाह नगरौंला तर जीवन साथी त अवश्यै चाहिन्छ । दर्शकहरुले
अर्को रेखा हेर्न चाहलान् । कहिले हुन्छ, कहाँ हुन्छ, कोसँग हुन्छ, त्यो
मलाई थाहा भएन ।’ विवाह नगर्ने तर लाइफ पार्टनर बनाएर
सन्तान जन्माउने रेखाको विचारलाई एमाओवादी नेता, कार्यकर्ताले
गैरमाक्र्सवादी अराजकतावादी सोचाइको संज्ञा दिएका छन् । विवाहसम्बन्धी रेखाले व्यक्त विचारलाई
परम्परागत कम्युनिष्टहरुले पुँजीवादी यौन अराजकता मान्ने गर्छन् । माओवादी
कार्यकर्तालाई रेखाले भनेजस्तै ‘लिभिङ टुगेदर’को छुट हुँदैन । तर, एमाओवादी
नेता स्वनाम साथी भने रेखा थापाजस्तै लिभिङ टुगेदरका पक्षपाती हुन् ।
अहिलेसम्म जिम्मेवारीविहीन
पार्टी प्रवेशपछि केन्द्रीय सदस्य बन्ने
आशा भए पनि पार्टी प्रवेश गरेको एक महिना बितिसक्दा पनि रेखालाई पार्टीले
कुनै पद वा जिम्मेवारी दिने छनक देखाएको छैन । रेखाले यतिबेला आफू पदका
लागिभन्दा पनि काम र समाज सेवाका लागि पार्टीमा लागेको तर्क गर्दै आएकी
छिन् । नायिका थापालाई पार्टी प्रवेश गर्नुअघि
विभिन्न नेताहरुले विभिन्न खालका सल्लाह दिएको माओवादी स्रोत बताउँछ ।
एमाओवादीका संगठन विभाग प्रमुख कृष्णबहादुर महराले रेखालाई पार्टी प्रवेश
नगरी बाहिरै बसेर सहयोग गर्न सल्लाह दिएको बुझिएको छ । महराको भनाइलाई
उर्द्धत गर्दै श्रोतले भन्यो- ‘पार्टीमा योगदान गरेर आएका थु्रपै अन्य
कार्यकर्ता पनि छन्, यसैले तपाई एकजना कलाकार भएको नाताले बाहिरबाटै सहयोग
गर्दा राम्रो हुन्छ ।’ महराले रेखालाई पार्टीमा आएर तत्काल
केन्द्रीय सदस्य पद पाउने आशा नगर्न सुझाव दिएको श्रोतको भनाइ छ ।
संविधानसभाको निर्वाचनमा समानुपातिकतर्फबाट तपाईलाई संविधानसभामा ल्याउनका
लागि कार्यकर्ता नै बन्नुपर्दैन, विभिन्न क्षेत्रका व्यक्तिहरुलाई
समानुपातिकमा ल्याउन सकिन्छ, यसैले पार्टीमा प्रवेश गरेर चुनाव नै लड्ने
सोचाइ नबोक्नु होला भन्दै महराले रेखालाई सुझाव दिएको स्रोतको दाबी छ ।
पार्टीमा युवराज लामा, मौसमी मल्लजस्ता लामो समयदेखि सक्रिय कार्यकता
हुँदाहुँदै रेखालाई केन्द्रीय सदस्य पद दिन गाह्रो हुने भनाइसमेत महराको
रहेको स्रोतले बतायो ।

No comments:
Post a Comment