DSP-Prakash Dahal Prachanda                      काठमाडौ  । गत साता प्रचण्डपुत्र प्रकाशको अचानक खेलकुदमा प्रवेशको समाचारले सनसनी फैलियो। आफ्नो प्रचलित नाम ‘प्रकाश’को ठाउँमा ‘साकार’ छद्म नामबाट प्रवेश गरेपछि नेपाली खेलकुदमा क्षेत्रमा ठूलै भूकम्प गएजत्तिकै अनुभूति गर्नेहरू देखिए। नेपाल मोडर्न पेन्ट्राथलन सङ्घको उपाध्यक्षको रूपमा खेलकुदमा भित्रिएका प्रकाशको आगमनलाई यतिबेला अर्थपूर्ण दृष्टिले हेरिएको छ। राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा पार्टीगत रूपमा एमालेनिकट मानिने पीताम्बर तिम्सिना अध्यक्ष रहेको उक्त सङ्घमा एमाओवादीका अध्यक्षकै पुत्र प्रकाशको उपस्थितिलाई गम्भीर रूपमा हेरिनु अस्वाभाविक पनि छैन। राखेपमा पेन्ट्राथलन सङ्घ एक महिनाअघि एक सय ३५औँ सङ्घको रूपमा दर्ता भए पनि
यो सङ्घको दर्ताबारे राखेपले मौनता साँध्नुले यसलाई अझ रहस्यमय बनाइदिएको छ। प्रचण्डपुत्र प्रकाश किन ‘साकार’को नामबाट खेलकुदमा प्रवेश गरे– चर्चा र खोजीको विषय बनेको छ। प्रकाश अर्थात् साकारले पनि यो विषयमा चुप्पी साँधेका छन् भने सङ्घका अध्यक्ष तिम्सिनाले प्रकाश सङ्घको उपाध्यक्ष भएको स्वीकारेको स्थिति छ। राखेपले चाहिँ ‘साकार’ प्रचण्डपुत्र भएकोमा अनभिज्ञता प्रकट गरेको छ।
                               पेन्ट्राथलन सङ्घका अध्यक्ष दक्षिणपन्थी र उपाध्यक्ष क्रान्तिकारी खेमाका भन्ने विषयलाई यतिखेर चर्चामा ल्याइएको छ र यो तालमेल वास्तवमा आफँैमा अनौठो र अमिल्दो देखिएको छ। विपरीत राजनीतिक ध्रुवका यी खेलाडीको गठबन्धनलाई खेलकुदमा अहिले शङ्काको दृष्टिले हेरिन थालिएको छ। के उद्देश्यबाट पे्ररित भएर कमरेड पीताम्बर र प्रकाशबीच लगनगाँठो कसियो? यो सोचनीय छ। कुनै स्वार्थबिना यो गठजोड बन्यो होला भनेर पत्याउने ठाउँ पनि छैन। तसर्थ दुई महिनापछि राखेपबाट बिदा हुन लागेका उपाध्यक्ष तिम्सिनाको यो नौलो रणनीतिको करामतले अहिले खेलकुद पदाधिकारीलाई निकै सशङ्कित बनाएको छ। खेलकुदमा निकै चतुर खेलाडी मानिने तिम्सिनाले आफ्नो कार्यकालको समाप्तिसँगै चालेको यो गम्भीर चालले अन्य पदाधिकारीको भोक र निद्रा उडाएको छ। जसलाई अहिले विभिन्न कोणबाट विश्लेषण गरिन थालेको छ– ‘कहीँ ठूलै षड्यन्त्रको शंखनाद त होइन भनेर। आफ्नो स्वार्थ पूरा गर्न र विरोधीहरूलाई पाखा लगाउन केही महिना पहिलेदेखि राखेपका सदस्यसचिव युवराज लामासँग आत्मीय सम्बन्ध गाँसेका तिम्सिनाले अहिले प्रकाशलाई सङ्घको उपाध्यक्षको रूपमा भित्र्याएर एक तीरले दुई निशाना साँध्न लागेका त होइनन्– खेलवृत्तमा यस्तै हल्ला चलेको छ।
                                    ‘पेन्ट्राथलन’ ओलम्पिक खेल भएकोले यसले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यता पाउनेमा दुईमत छैन। र पनि, नेपाल ओलम्पिक कमिटीभित्र यसको प्रवेश सहजै हुनेमा विश्वास गर्न सकिँदैन। अझ ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधान र महासचिव जीवनराम श्रेष्ठसँगको तिम्सिनाको छत्तीसको आँकडालाई हेर्दा त्यो निकै जटिल हुनेेमा सायदै कसैको दुईमत होला। जसका लागि तिम्सिनाले फलामको चिउरा चपाउनुपर्ने प्रस्ट रूपमा देखिएको छ। प्रधानभन्दा पनि श्रेष्ठसँगको ‘मल्लयुद्ध’ले गर्दा ओलम्पिक प्रवेश तिम्सिनाका लागि निकै असहज बन्ने प्रायः निश्चित छ। एउटै पार्टी नेकपा एमालेका यी दुई खेलाडीबीचको ‘बुलफाइट’ अहिले एक–अर्कालाई सिध्याउनेसम्म पुगिसकेको छ। जसको प्रत्यक्ष फाइदा नेपाल ओलम्पिक कमिटीको महासचिवको सपना देखेका अर्थात् शिखण्डीको रूप धारणा गरेका एमालेकै अर्का कार्यकर्ता टेन्डी लामालाई पुगेको छ। ‘फुटाऊँ’ भन्दा पनि ‘जुधाऊँ’ र फाइदा उठाऊँ भन्ने रणनीतिमा लागेका लामा तालपरे जे गर्न पनि तत्पर देखिएका छन्। पार्टीगत हिसाबले अहिले जीवनलाई समर्थन गरिरहेका उनी भोलि आफ्नो स्वार्थसिद्ध नभए जीवनरामलाई लात हान्ने पक्षमा छन्। जो अध्यक्ष भए पनि आफू महासचिव बन्ने होडमा लागेका लामाले भोलि यही कारणले प्रधानलाई साथ दिएमा अन्यथा मान्नुपर्ने छैन।
                              आफ्नै भाइ सुनिल प्रधानको फेन्सिङ सङ्घलाई ६ वर्षपछि मात्रै एनओसीमा प्रवेश गराएका प्रधानले पेन्ट्राथलन सङ्घलाई पनि त्यसरी नै नझुलाउलान् भन्न सकिँदैन। अझ एनओसीको भावी अध्यक्षको रूपमा आफूलाई उभ्याएका जीवनराम एनओसीको अध्यक्ष भए भने यो खेलको एनओसी प्रवेशको ढोकामा लामो समयका लागि तगारो लाग्नेछ। यस्तो सम्भावना निकै बढी छ। जीवनराम र पीताम्बरको दुश्मनी पार्टीदेखि खेलकुदसम्म छताछुल्ल छ। यी दुई खेलाडी एमाले अध्यक्ष झलनाथ खनाल र प्रभावशाली नेता ओली गुटका प्यादाका रूपमा चिनिन्छन्। उनीहरू एक–अर्कालाई सिध्याउन लामो समयदेखि युद्धरत रूपमा लागेका छन्। एक–अर्काको कमजोरीमाथि ‘मार’ हान्न अवसरको खोजीमा ढुकिरहेकाहरूले पेन्ट्राथलनको पनि तेजोबध गरे भने अन्यथा मान्नुपर्ने छैन। श्रेष्ठका हरेक चाललाई माथ दिन राखेपको सहयोगी बनेर आवरणमा देखिएका तिम्सिनाले राखेपकै काँधमा बन्दुक राखेर फड्काउने प्रायः निश्चित छ। श्रेष्ठसँग असन्तुष्ट राखेप यो कार्यमा तिम्सिनाको सहयोगी बन्नेछ भन्दा अतिसयोक्ति नहोला। तसर्थ साँढेजुधाई गर्नका लागि गठन गरिएको पेन्ट्राथलन सङ्घमा भोलि साकारको उपस्थितिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा कसैको दुईमत होला। पेन्ट्राथलन सङ्घमा प्रकाशको आगमनसँगै एकलौटी तरिकाले ओलम्पिक कमिटीलाई हाँक्दै आएकाहरूको निदहराम भएको छ। ओलम्पिक सूत्रकै अनुसार यो सङ्घ गठन हुनुलाई ओलम्पिक छिर्ने ढोकाको रूपमा वर्णन गरिएको छ। अमेरिकी डलरमा कुस्त भत्ता खाने सुविधाभोगी सङ्घको रूपमा चित्रित गरिएको छ। यसबाट के अन्दाज लगाउन सकिन्छ भने एनओसीका पदाधिकारी अमेरिकी डलरमा भत्ता खान्छन् र विदेश सयर गर्छन् भनेर। अर्को कुरा, उनीहरू खेलकुद र खेलाडीको विकासभन्दा व्यक्तिगत विकासमा लागेको प्रस्ट हुन्छ। अन्यथा एउटा खेलकुद सङ्घ गठन हुँदा उनीहरूको टाउको अवश्य दुःख्ने थिएन। सङ्घ खोल्ने र त्यसमा बस्ने अधिकार आमनेपालीलाई छ भने साकार बस्दा किन यत्रो सन्त्रास त? कुरा स्पष्ट छ, आफूले खाइपाई आएको खोसिने डर र भयले उनीहरू छटपटिएका हुन्। तर, उनीहरूलाई वनको बाघले नखाए पनि मनको बाघले खाएको पीडा र छटपटी अहिले हेर्नलायक भएको छ जुन गत साता सार्वजनिक रूपमा छरपस्ट भइसकेको छ।
                                        अब कल्पना गरौँ, तिम्सिनाको रणनीति सफल भयो र साकाररूपी प्रकाश एनओसीमा प्रवेश गरे के होला? सर्वप्रथम महासचिव जीवनरामको पत्तासाफ हुनेछ भने त्यसपछि उनका हनुमानहरूको। यसर्थमा कि उनीहरूलाई समाप्त गर्नमा तिम्सिनाको नेतृत्वदायी भूमिका रहनेछ। एक–अर्कालाई सिध्याउने खेलमा लागेका तिम्सिनाले प्रकाशको उपस्थितिलाई क्षेप्यास्त्रको रूपमा प्रयोग गर्नेछन्। जीवनराम र उनका हनुमानहरूलाई समाप्त नपारुन्जेल उनको कोसिस जारी रहनेछ। प्रकाश सियो भएर एनओसीमा प्रवेश गर्ने र फाली भएर निस्कने प्रायः निश्चित छ। यसैका लागि उनी सङ्घमा पनि आएका हुन् भन्दा फरक नपर्ला। सदस्यसचिव युवराज लामाले एनओसीमा नजाने पटकपटक घोषणा गरिसकेका छन्। यस्तो अवस्थामा माओवादीको तर्फबाट पहिलो विकल्प भनेकै प्रकाश हुनेछन्। प्रकाशको नेतृत्वमा माओवादीको डफ्फा एनओसीमा प्रवेश गर्ने र विभीषणको भूमिकामा तिम्सिना देखिने प्रायः निश्चित छ।