काठमाडौं। विभिन्न स्थानका गेस्ट हाउसमा हुने अवैध र अनैतिक क्रियाकलाप रोक्न कस्सिने नेपाल प्रहरीकै गेस्ट हाउसमा भने त्यस्तो धन्दा हुन्छ भन्दा पत्यार नलाग्न सक्छ । तर, घटना विवरण थाहा पाएपछि त्यो कुरा पत्यार नगरी सुखै छैन।
                          अवैध  क्रियाकलाप भएको आरोपमा विभिन्न गेस्ट हाउसबाट हप्तावारी दस्तुर नपाए आक्कल–भुक्कल छापा मारी टोपल्ने प्रहरीले भने आफैंद्वारा सञ्चालित गेस्ट हाउसमा अवैधधन्दा हुँदासमेत थाहा नपाएजस्तो गरिरहेको छ। 
            प्रसंग हो, अद्धैतमार्गस्थित नेपाल प्रहरीको केन्द्रीय कल्याणकारी कोषद्वारा सञ्चालन गरिएको प्रहरी अतिथि कक्षको। मुलुकका विभिन्न स्थानबाट उपत्यकामा कार्यालयका कामका सिलसिलामा आउने भूतपूर्व तथा बहालवाला प्रहरी कर्मचारीको सुविधाका लागि सञ्चालन गरिएको सो
अतिथि कक्षमा अचेल दिउँसै जोडी भित्रिने एकाध घन्टा बसेर निस्किने गरेको स्थानीय बासिन्दाले बताए। सो गेस्ट हाउसमा प्रहरीले अकस्मात छापा मारेर आपत्तिजनक अवस्थामा पक्राउ गर्ने समस्या नरहेकाले सुरक्षित वातावरणका लागि जोडीहरू आउन थालेको स्रोतको दाबी छ। ‘आपत्मा आश्रय लिने प्रयोजनका
                 लागि सञ्चालन गरिएको सो गेस्ट हाउस संगठनकै बदनाम हुनेगरी दुरुपयोग हुँदा पनि माथिल्लो निकायले अझै सञ्चालकलाई सचेतसम्म गराएको छैन’– स्रोतले भन्यो– ‘गेस्ट हाउसको आवासीय सुविधा लिँदा–दिँदा पनि पक्षपात हुने गरेको छ।’  टाढादेखि आएकाहरूले एक दुई दिनका लागि पनि गेस्ट हाउसको सुविधा नपाउने तर गेस्ट हाउस इन्चार्जलाई खर्चपानी व्यवस्था गर्नेहरूका लागि महिनौंसम्म पनि गेस्ट हाउसमा बस्ने सुविधा दिने गरिएको छ। नियमतः एकै व्यक्ति लगातार सात दिनभन्दा बढी सो गेस्ट हाउसमा बस्न नमिल्ने कुरा सूचना पार्टीमै लेखिएको छ। तर, गेस्ट हाउस हेर्ने इन्चार्ज हरिदास सुन्दासकै कारण यस्तो अनियमितता भइरहेको बताइएको छ। उनी १७ वर्षदेखि लगातार प्रहरी कल्याण कोषअन्तर्गत र पाँच वर्षदेखि सोही गेस्ट हाउसमा कार्यरत छन्। उनकै बदमासी र गलत नियतकै कारण गेस्ट हाउस विकृतिको अखडा भइरहेको बताइन्छ। सुन्दास बिहान एकछिन गेस्ट हाउसमा आउने र दिउँसो  प्रधान कार्यालयअन्तर्गत कल्याण शाखातिरै चलखेलमा अल्मलिने गरेका छन्। उनले मासिक ३० हजारभन्दा बढी वैध कमाइ गेस्ट हाउसबाट नै लिने गरेका छन्।
                  गेस्ट हाउसमा अहिले जम्मा १९ वटा कोठा छन्। त्यसमध्ये एसपीका लागि एक, डीएसपी र इन्स्पेक्टरका लागि चार, सई र असईका लागि सात र सिपाही र हवल्दारका लागि सात छुट्ट्याइएको छ। जसमध्ये एसपीका लागि एक रातको २ सय, डीएसपी र इन्स्पेक्टरका लागि २ सय ५०, सइ र असईका लागि १ सय  र सिपाही र हवल्दारका लागि ७५ रुपियाँ शुल्क छुट्ट्याइएको छ। तर, त्यस्तो धन्दाका लागि आउनेहरूले एक घन्टाकै लागि पाँच सय तिर्ने गरेका छन्।  सुन्दासले हरेक रात कोठा प्याक भए पनि कोषमा हिसाब देखाँउदा फाट्टफुट्ट मात्र अतिथि बसेको भनेर हिसाब बुझाउने र कुनै व्यवस्थित लेखा नराख्ने गरेका छन्। राष्ट्रसेवक प्रहरीहरूको परिचयपत्र हेरेर मात्र गेस्ट हाउसमा प्रवेश र आवासको अनुमति दिनुपर्नेमा सुन्दासले केही पनि सोधपुछ नै नगरी फाइदा दिनेहरूलाई अनैतिक धन्दा गर्न प्रश्रय दिने गरेका छन्। हरिमायाको पनि उस्तै हर्कत तीनकुनेस्थित एक घरमा लामो समयदेखि अवैध यौनधन्दा हँुदा पनि प्रहरी प्रशासन रमिते बनेको छ। बानेश्वर वृत्तका डीएसपी भीम ढकालको कार्यालयबाट ५ सय मिटर टाढा रहेको एक घरमा मिनी क्यासिनो र अवैध यौनधन्दा हुने गरेको छ।
                वृत्तका घुमुवाहरू नियमितजसो सुरापानका लागि पुग्ने सो अखडामा मासिक नजराना लिएर प्रहरीकै संरक्षणमा यौनधन्दा मौलाएको स्रोतको दाबी छ। तीनकुनेस्थित केएफसी फास्टफुड रेस्टुरेन्टबाट १ सय मिटर भित्र पेन्टागन कलेजतर्फ सो धन्दा हुने गरेको हो। हरिमाया गुरुङले प्रहरीलाई राम्रो रकम बुझाई  आफ्नै माइती घरमा त्यस्तो धन्दा चलाएकी हुन्। उनले गाउँबाट राम्री किशोरीहरू ल्याएर त्यहाँ राख्ने गरेको बताइन्छ। लामो समयदेखि होटल थापेर केही कोठा देहव्यापारका लागि छुट्ट्याउँदा पनि उनका माइतीखलक भने ‘पैसा आइरहेकै छ’ भनेर तैं चुप मै चुप जस्ता भएका छन्।