चीनको विदेश मन्त्रालय बाह्य सुरक्षा मामिलासम्बन्धी प्रमुख एवं नेपालका
चीनका पूर्वराजदूत क्यू गोहाङले काठमाडौंमा राजनीतिक दलका नेता र
उच्चपदस्थसँग भेटघाट गरिरहेकै बेला राजनीतिमा हस्तक्षेपकारी भूमिका खेलेको
आरोप लाग्ने गरेको भारतीय गुप्तचर संस्था रअ् प्रमुख आलोक जोशी बिहीबार
काठमाडौं
आएका छन्।
नेपालमा राजनीतिक संकट उत्पादन र निराकरणमा प्रभाव र दबाबको भूमिका
खेल्ने बेलामा टुप्लुक्क देखा पर्ने जोशी यसपल्ट अर्कै कूटनीतिक व्यक्तिको
नाम प्रयोग गरी राजधानीमा क्रियाशील छन्। सुरक्षा स्रोतका अनुसार उनी
राजधानीको होटेल र्याडिसनमा बसेर सत्ता समीकरणका खेलाडीसँग अन्तरक्रियामा
व्यस्त छन्।
एमाओवादीले संविधानसभा अदालतमा मुद्दा दर्ता गर्ने, विजयजुलुस निकाल्ने र
संविधानसभा बहिष्कार पनि गर्ने घोषणा गरेकै बेला कांग्रेस र एमालेका
नेताहरू राष्ट्रपतिको नयाँ निर्वाचन गर्न हुने वा नहुने विवादमा रुमल्लिएर
राजनीतिक सत्ता समीकरणको गृहकार्य गरिरहेका छन्।
यस्तो राजनीतिक पृष्ठभूमिमा सुटुक्क आएका जोशीको भूमिका कस्तो हुने हो
भन्ने खुलेको छैन। तर नेपाल नीतिमा भारत मुख्य रूपमा रअ्मै निर्भर रहेकाले
जोशीको नेपाल भ्रमण पटकपटक हुने गरेको एक मधेस केन्द्रित दलका नेताले नाम
उल्लेख नगर्ने सर्तमा बताए।
नेपालस्थित भारतीय दूतावासमा रअ् डेस्क प्रमुख भएर काम गरिसकेका जोशी
एमाओवादी, कांग्रेस, एमालेलगायत सबै दलका माथिल्ला नेतासँग ज्यादै राम्रो
सम्बन्ध बनाउन सफल जासुस मानिन्छन्। उनको भ्रमणको केही दिनअघि मात्र
नेपालस्थित रअ् डेस्कका प्रमुख भएर काम गर्ने र हाल भारतमा कार्यरत रअ्का
उच्चअधिकृत पिटर हानामान काठमाडौं आएका थिए।
पराजित हुँदै गएपछि एमाओवादीले मत गणना बहिष्कारका साथै छानबिन माग राखी
त्यसका लागि आयोग नबनेसम्म संविधानसभामा नजाने उद्घोष गरेपछि परिस्थिति
विश्लेषण गर्न हानामान यहाँ आएको मधेसवादी दलका एक नेताले बताए।
मंसिर ९ गते आएका उनी दुई दिनसम्म नेताहरूसँग भेट गरी ११ गते दिल्ली
फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रेकर्डमा देखिन्छ। उनले
नेपाली नागरिकलाई मात्र उल्लेख गरिएको आगमन फाराम भरेका छन्। जसमा आएको
मिति पनि उल्लेख छैन तर एअर इन्डियाको उडान नं २१४ बाट आएको उल्लेख छ।
फर्कंदा भने उनले विदेशी नागरिकले नै भर्ने फाराममा पासपोर्ट नं ६७९७१७१६
प्रयोग गरेको उल्लेख छ।
यसैगरी चीनका थिंक ट्यांकमध्ये एक मानिने चिनियाँ संसद्को वैदेशिक
मामिलासमेत हेर्ने चाङयुनलिङको टोली मंसिर १५ गते नेपाल आएको थियो। टोलीले
विश्वविद्यालयका प्राध्यापक र दलका नेताहरूसँग नेपालको पछिल्लो
परिस्थितिबारे सूचना लिएको थियो।
यसअघि युनान मिडिया ग्रुपकी निर्देशक ली चिआनको १० सदस्यीय टोली मंसिर
११ गते आई १५ गते फर्किएको थियो। लीले राष्ट्रपति रामवरण यादवसँग समेत भेटी
चीन भ्रमणका लागि निम्तो गरेकी थिइन्। उनी फर्कनु एक दिनअघि चीनको
स्वशासित क्षेत्र तिब्बत सरकारका उपप्रमुख मिङ डेली काठमाडौं आएका थिए। उनी
मंसिर १८ गतेसम्म काठमाडौंमै थिए।
No comments:
Post a Comment