काठमाडौं। पहिलो संविधानसभाको निर्वाचनका बेला प्रचण्ड भित्ते राष्ट्रपति बने जस्तै दोस्रो संविधानसभाको निर्वाचनमा बाबुराम भट्टराई भित्ते राष्ट्रपति बन्ने भएका छन्। भट्टराईले अबको निर्वाचनपछि राष्ट्रपति बन्ने गरी प्रचण्डलाई पार्टीमा सर्वाधिकार सम्पन्न अध्यक्ष बनाउन उपाध्यक्ष पदत्याग गरेको विश्लेषण एमाओवादीका नेताहरूले पनि गरेका छन्।
             प्रचण्डपछि अब भित्ते राष्ट्रपति बन्ने पालो बाबुरामको आएको भन्दै खन्ना गार्मेन्टमा भेला भएका देशभरका एमाओवादीका अगुवा कार्यकर्ताहरूबीच हाँसोठट्टा चलेको थियो। प्रधानमन्त्री भइसकेकाले अब बाबुरामले राष्ट्रपति बन्ने सपना देखेर प्रचण्डलाई रिझाउन उनलाई प्राधिकार बनाउने गरी पदत्यागको नाटक रचेको आरोप समेत कार्यकर्ताले लगाएका छन्। ‘तर उनी पनि भित्ते राष्ट्रपति मात्र बन्नेछन्। किनकि प्रचण्डले नै उनलाई राष्ट्रपति बन्न दिने छैनन्’ एक केन्द्रीय सदस्यले भने। बाबुराम भट्टराईको पदत्यागबाट सिधा फाइदा प्रचण्डलाई मात्र भएको र अन्य नेताहरूको नेतृत्व तथा व्यक्तित्व विकासमा दीर्घकालीन
बाधा सिर्जना भएको टिप्पणी पदाधिकारीका दावेदार नेताहरूले खन्ना गार्मेन्टमै गरेका थिए। ‘बाबुरामजीले अचानक आवेशमा आएर वा भावनामा बगेर उपाध्यक्ष पद त्याग गरेका होइनन्, उनले योजनाबद्ध रुपमा आफ्नो फाइदा हेरेरै यो निर्णय गरेका हुन्। उनको कारण आज जसरी निर्वाचित पदाधिकारीहरूले राजीनामा दिएर केन्द्रीय सदस्यमा सीमित हुनुपरेको छ’ एमाओवादीका केन्द्रीय सदस्य जीवन गौतम भन्छन् ‘प्रधानमन्त्री भइसकेको र बाह्य शक्तिकेन्द्रको आशीर्वादप्राप्त व्यक्ति भएकाले उनका लागि एमाओवादी पार्टीको कुनै पदमा रहनु वा नरहनुले कुनै भिन्नता नहुन सक्छ तर यही पार्टीमा आफ्नो भविष्य देखेर लागेका हजारौं नेता कार्यकर्ताको व्यक्तित्व विकासमा गम्भीर असर परेको छ’।
              २० वर्षभन्दा लामो समयदेखि अध्यक्ष प्रचण्डको एकल नेतृत्व र उनको कार्यशैलीसँग असहमत रहँदै स्थायी प्रतिपक्षी नेताका रुपमा स्थापित भएका भट्टराईले आज अचानक पदत्याग गरेर प्रचण्डलाई प्राधिकारका रुपमा स्थापित गर्न खोज्नुले उनकै निकटस्थहरूलाई पनि सशंकित तुल्याएको छ। पदत्यागको निर्णय गर्नुअघि बाबुरामले हिसिला यमीसँग मात्रै सल्लाह गरेको भनेर राम कार्कीले व्यंग्य नै कसेका छन्। ‘उनका लागि उपाध्यक्ष पदको कुनै अर्थ थिएन, उपाध्यक्ष नभए पनि उनी दोस्रो बरियताका नेता हुन्। नारायणकाजी जस्तै उपाध्यक्ष भएर बस्दा उनलाई असहज पनि भएको थियो। पदाधिकारीमा हिसिला आउने पक्का थियो, नत्र सबैलाई केन्द्रीय सदस्य बनाउँदा उनी स्वतः दोस्रो नेता हुने नै थिए’ बाबुराम निकटस्थहरूको भनाइ छ ‘बाबुरामका लागि पदत्याग आए आँप गए झटारो थियो, अहिले आँप पनि उनको हातमा र झटारो पनि उनकै हातमा परेको छ तर उनका लागि भनेर राजनीतिक जीवन नै दाउमा राख्नेहरूको वृत्तिविकासमा भने अवरोध हालेका छन्’।
               खन्ना गार्मेन्टमा जम्मा भएका देशभरका कार्यकर्ताले बाबुरामको पदत्यागको नियतमाथि पनि प्रश्न उठाएका थिए। प्रचण्डलाई गुन लगाउने र राष्ट्रपतिको लागि प्रचण्डको समर्थनको आधार तयार पार्नेगरी उनले पदत्याग गरेको आशंका पनि कार्यककर्ताले गरेका छन्। बाबुरामको पदत्यागका कारण प्रचण्डलाई बाहेक अरुलाई फाइदा नभएकाले पनि अरु पक्ष एक ठाउँमा आइपुगेका हुन्। अब कम्तीमा पनि संविधानसभा निर्वाचनसम्म एमाओवादीमा अध्यक्ष प्रचण्ड सर्वाधिकार सम्पन्न बनेका छन्। बाबुरामले प्रचण्ड समक्ष सम्झौता गरेका हुन्, त्याग गरेका हुन् वा भावी दिनका लागि बार्गेनिङको आधार बनाएका हुन् भन्ने अझै प्रष्ट भएको छैन। तर खन्ना गार्मेन्टमा धेरैले यो प्रश्न भने उठाए।