Tuesday, July 23, 2013

काठमाडौंका जनतामा चुनावप्रति उत्साह देखिएन

कुन जिल्लाका कति प्रतिशत मतदाता ?

             ८ साउन, काठमाडौं । संविधानसभा निर्वाचनको मिति नजिकिँदै गएपनि जनतामा अझै चुनावप्रति उत्साह देखिएको छैन । यो दुरदराजभन्दा राजनीतिक बहसको केन्द्र मानिने काठमाडौंमा बढि देखिएको छ ।
           काठमाण्डौमा बालिग मताधिकार प्रयोग गर्ने जनसंख्याको ४६ दशमलव १२ प्रतिशतले मात्र फोटोसहितको मतदाता नामावलीले पनि यसलाई प्रष्ट पारेको छ । निर्वाचन आयोगका अनुसार झण्डै ५४ प्रतिशत मतदाता अबको निर्वाचनमा मतदात गर्नबाट बन्चित भएका
छन् । २०६८ को जनगणना अनुसार काठमाडौंमा १७ लाख ४४ हजार २ सय ४० जनसंख्या छ, उनीहरुमध्ये १२ लाख ६७ हजार ६ सय ३३ जना १८ वर्ष वा सो भन्दा माथिका अर्थात मतदानका लागि योग्य छन् । तर, फोटोसहितको मतदाता नामावलीमा ५ लाख ८४ हजार ६ सय ७४ ले मात्र आफ्नो नाम दर्ता गराएका छन् ।
               ‘सामान्यतया कार्यालय आएपछि नाम लेखाउन ३ मिनेटको काम हो । तर, अन्यत्रको तुलनामा काठमाडौंमा मतदाताको उत्साह निकै कम देखिएको छ’ काठमाडौंका निर्वाचन अधिकृत सम्भु चालिसेले अनलाइनखबरसँग भन्नुभयो । मतदातामा फोटो खिचाएर, भोट हालेर के हुन्छ भन्ने निराशाजनक भावना अन्यत्र भन्दा बढी काठमाडौंको मतदातामा पाइएको आयोगका अधिकारीहरुको भनाई छ । उनीहरुका अनुसार काठमाडौंमा पढेलेखेका र सम्पन्नहरु पनि धेरै छुटेका छन् । ‘पढे लेखेका र सम्पन्न १० जनामा ४ जना छुटेको हुनसक्छ’ आयोगका एक अधिकारी भन्छन्-’यहाँका मानिसहरु कि धेरै व्यस्त कि अल्छि देखिए ।’ यद्यपि अस्थायी बसोबास गर्नेहरुको नामवली स्थायी बसोबास गर्ने जिल्लामा पठाइएको तथा केही बिदेशमा पनि रहेकाले काठमाडौंमा रहेर मतदान गर्न नपाउनेहरुको संख्या केही घट्ने आयोगको अनुमान छ ।
                   निर्वाचन अधिकृत चालिसेका अनुसार मतदाता नामावलीमा नाम लेखाउन कार्यालयले २ सय ९९ बटै मतदान केन्द्रमा टोली खटाएको थियो । त्यसपछि सबै गाविसमा पुग्नुका साथै घुम्ती सेवा समेत चलाइएको थियो भने जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा समेत नाम दर्ता गर्ने व्यवस्था मिलाइएको थियो । मतदाता नामावलीमा नाम लेखाउने अन्तिम केही दिन भने मतदाताको संख्या ह्वात्तै बढेको थियो । जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा भिड नै देखिन्थ्यो । अन्तिम दिन मात्र १० हजारले नाम लेखाएका थिए ।
काठमाण्डौको प्रतिशत सवैभन्दा कम
           मतदाता नामावलीमा सबैभन्दा कम मतदाताको सहभागिता काठमाडौंकै देखिएको छ । ललितपुरमा ६१.२४ र भक्तपुरमा ६९. ७२ प्रतिशत ले नाम लेखाएका छन् । सिन्धुपाल्चोक र दोलखामा कुल मतदाताको सबैभन्दा धेरैले नाम दर्ता गराएका छन् । सिन्धुपाल्चोकमा ९२.४१ र दोलखामा ९२.४० प्रतिशत मतदाताले नाम लेखाएका छन् । त्यसपछि अर्धाखाँचीमा ९०.३० प्रतिशत छ । विकट मानिने मनाङ, मुस्ताङ लगायतका जिल्लामा उल्लेख्य मतदाताले नाम लेखाएका छ्न । मनाङमा ८७.७०, मुस्ताङमा ७०.८६, हुम्लामा ७५.२२, जुम्मामा ७९.५७ र डोल्पामा ७०.९३ मतदाताले फोटोसहितको नामावलीमा नाम लेखाएका छन् ।
                मधेसवादी दलहरुले मधेसमा धेरै नागरिक नागरिकताविहीन रहेको भनेपनि मतदाता नामावलीमा उनीहरुको सहभागिता ७० प्रतिशतभन्दा माथि देखिएको छ । मधेसका जिल्लाहरुमध्ये सबैभन्दा बढी झापाका कुल मतदाताको ८३.१६ ले नामावलीमा नाम लेखाएका छ्न । सबैभन्दा कम रुपन्देहीमा ७०.१६ प्रतिशतले मतदाता नामावलीमा नाम लेखाएको आयोगले जनाएको छ ।

No comments:

Post a Comment