Saturday, January 4, 2014

क्रिश्चियनको प्रचारमा डीआइजीको लर्को

                     काठमाडौं। विदेश भ्रमणमा जाने मौका पाउनसाथ सुरक्षा निकायका हाकिमहरू समेत लर्को लागेर हिंड्नुलाई आचारसंहिता अनुकूल मान्ने कि नमान्ने भन्ने प्रश्न उठ्न थालेको छ। सरकारी अधिकारीहरूले विदेश भ्रमणका लागि कसैले अवसर दियो भने त्यो कुन र कस्तो पृष्ठभूमिको संस्थाले लान खोजेको छ भन्ने बारेमा पनि अब मतलब हुन छाडेको छ। 
                    जसले र जुनसुकै संस्थाले भ्रमणको अवसर दिएपछि दायाबायाको वास्तै नगरी कुद्ने बानी नेपालका राजनेता, कर्मचारीमा त देखिएकै हो, पछिल्लो पटक सुरक्षा अंगका अधिकारीहरूलाई समेत यसले गाज्न थालेको छ।
नेपालका सुरक्षा निकायका बहालवाला उच्च अधिकारीहरू क्रिश्चियन धर्म प्रचारक संस्थाको आयोजनामा तीन दिनसम्म बैंकक घुमेर फर्किएपछि यसबारेमा प्रश्न खडा भएको छ। सुरक्षा निकायका
बहालवाला र पूर्व अधिकारीहरू क्रिश्चियन धर्म प्रचारको मुख्य उद्देश्य बोकेको नेपाल परिवार दलले आयोजना गरेको कार्यक्रममा सम्मानित भएर फर्किएपछि क्रिश्चियन मेसिनरी कसरी राज्यका हरेक निकायका घुसपैठ हुदैछ भन्ने कुरालाई उजागर गरेको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीमात्र होइन, तीनवटै सुरक्षा निकायका अवकाशप्राप्त उच्च अधिकारीसम्मलाई घुमाउने काम नेपालमा क्रिश्चियन धर्म प्रचारमा पैसाको खोलो बगाउदै आएको नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले गरेका हुन्। २०७० मंसिर
२८ गतेदेखि ३० गतेसम्म बैंककमा एसिया प्यासिफिक पिस कन्फ्रेन्स कार्यक्रम आयोजना गरी ढकालले सुरक्षा अंगका अधिकारीहरूलाई बैंकक भ्रमण गराएको खुलासा भएको छ। नेपाली सेनाबाट बहालवाला अधिकृत कोही नगए पनि भूतपूर्व जर्नेल टीका धमला र फत्तेबहादुर लिम्बुले भाग लिएको थाहा भएको छ। नेपाल प्रहरीबाट डीआइजीद्वय गोपालप्रसाद भण्डारी र जयबहादुर चन्द गएका थिए। सशस्त्र प्रहरी बलका भूतपूर्व आइजीपी सनत बस्नेत र नेपाल प्रहरीका एकडेढ महिनाअघि अवकाश पाएका एआइजी नवराज ढकाल पनि एकनाथ ढकालको अतिथि बनेर बैंककको सयर गर्नेमा परेको बताइन्छ।
एकनाथ ढकालले आतेजाते हवाइभाडा, फाइभस्टार होटलमा बस्ने व्यवस्थासहित सुरक्षा निकायका बहालवाला र भूतपूर्व अधिकारीहरूलाई कुन स्वार्थका लागि लगे भन्ने प्रश्न उठेको छ। क्रिश्चियन धर्म प्रचार गर्ने पार्टीको रुपमा विवादमा आएको यो संस्थाको भ्रमणमा सेनाका बहालवाला अधिकारी कोही नगएको बताइन्छ। प्रहरी र सशस्त्रका बहालवाला अधिकारीले विदेश जान गृहमन्त्रालयको अनुमति लिनुपर्ने व्यवस्था नियममा रहेको छ। गृहमन्त्रालयले विवादास्पद संस्थाको आयोजनामा भएको कार्यक्रममा कसरी जाने अनुमति दियो भन्ने कुरासमेत सुरक्षानिकायमा उठेको छ। नेपाल प्रहरीका एक अधिकारीले भने–’यो संस्थाले दिएको सम्मानले वृत्तिविकासमा कुनै प्रभाव नपारे पनि कुन स्वार्थका लागि लगियो भन्ने प्रश्न महत्वपूर्ण छ। भूतपूर्व अधिकारीहरूको हकमा उनीहरू व्यक्तिगत निर्णय गर्न स्वतन्त्र छन्, तर बहालवालालाई किन पठाइयो, त्यो कुरा गम्भीर छ।’ नेपालमा लोभलालच देखाएर क्रिश्चियन धर्म विस्तार गर्नमा परिवारदल मुछिंदैआएको छ।
अझ रोचक कुरा त के छ भने नेपाल प्रहरीबाट बैंकक जानेमा केन्द्रीय अनुसन्धान ब्यूरोका डीआइजी प्रकाश अर्याल र प्रवक्ता एसएसपी गणेश केसीको नाम थियो। उनीहरू नगएपछि डीआइजीद्वय भण्डारी र चन्दलाई लगिएको थियो। डीआइजी भण्डारीले बैंकक सयर गरी फर्र्किएपछि सीआइबीका डीआइजीका लागि बुकिङ भएको होटलमा बसेर आइयो भनेर आफ्ना निकटहरूसग खुसी बाडेका छन्। होटल बुक नै अर्याल र केसीका नाममा भइसकेको अवस्थामा पछि भण्डारी र चन्द बैंकक गएको भण्डारीले नै पुष्टी गरिसकेका छन्। सुरक्षा निकायका वरिष्ठ अधिकृतहरू एउटाको नाममा बुक भएको होटलको रुममा अर्काे व्यक्ति बस्दा कुनै दुर्घटना भएको भए बीमा जस्ता कुरामा समस्या आउने कुरालाई पनि ख्याल नराखी विदेश भ्रमणमा प्रहरी अधिकारीले र्‍याल चुहाएको यो घटनाले प्रहरी संगठन फौजी अनुशासनमा नरहेको पुष्टि हुन्छ।
परिवार दलले नेपालमा ठूलो धनराशी खर्च गर्दै लोभलालच देखाएर क्रिश्चियन धर्मको प्रचार गर्दैआएको आरोप छ। २०७० मंसिर ४ मा सम्पन्न निर्वाचन प्रचारमा यो पार्टीले हेलिकोप्टरको प्रयोग र भडि्कलो प्रचारमा करोडौ रुपैया खर्च गरेको बताइन्छ। यो पैसा नेपालमा क्रिश्चियन मेसिनरीले नै ढकाललाई दिएको चर्चा पनि हुने गरेको छ। ढकालले केही महिना अघि पत्रकारहरूलाई पनि पीस कन्फ्रेन्सका नाममा बैंकक सयर गराएका थिए।

No comments:

Post a Comment