Saturday, January 4, 2014

एमालेमा केपी बने सर्वाधिक बलवान

              एमालेमा केपी बने सर्वाधिक बलवानसंविधानसभा निर्वाचनको अन्तिम परिणाम आएपछि नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओली पार्टीका सर्वाधिक बलवान नेता भएको प्रमाणित हुन पुगेको छ। संविधानसभामा एमालेको कुल एक सय त्रिहत्तर सभासद्मध्ये ओलीको पक्षमा कम्तीमा पञ्चानब्बे (९५) देखि एक सय पाँच (१०५) सभासद् रहेको देखिएको छ। त्यस्तै वरिष्ठ नेता माधव नेपालको समर्थनमा करिब तीस (३०) जना र अध्यक्ष झलनाथ खनालको पक्षमा करिब चालीस सभासद् देखिएका छन्। अब खनाल र नेपालबीच गठबन्धन नै भए पनि संसदीय दलको नेता बन्न ओलीलाई कसैले पनि रोक्न नसक्ने स्थिति बनेको छ।
                      तर, स्वयम् नेता ओलीले भने संसदीय दलको नेता बन्ने कुरालाई प्राथमिकतामा नराख्नुभएको बताइन्छ। उहाँ पार्टीको नेतृत्व लिन इच्छुक हुनुभएको र यथाशीघ्र पार्टीको महाधिवेशन बोलाउन उहाँले आग्रह गर्दै आउनुभएको छ। यदि झलनाथ खनाल संसदीय दलको नेता बन्न चाहनुहुन्छ भने आफूले अध्यक्ष पदको जिम्मेवारी लिएर खनाललाई दलको नेता बनाउन केपी ओली तयार रहनुभएको बुझिएको छ। खनाल त्यसो गर्न तयार नभएको अवस्थामा भने ओली आफैँ संसदीय दलको नेता बन्नुहुने
सम्भावना छ।
नेकपा एमालेको साङ््गठनिक संरचनाभित्र पनि केपी ओली नै बलियो मानिनुहुन्छ। युवा सङ्घ, महिला सङ्घलगायत अधिकांश भ्रातृ सङ्गठन ओलीको पक्षमा छन् भने पार्टीको स्थायी समिति र केन्द्रीय समितिमा पनि ओलीकै पल्ला भारी रहेको छ। हालै सम्पन्न निर्वाचनमा एमालेले विजय हासिल गर्नुलाई केपी ओलीकै विचारको विजयको रूपमा लिइएको छ। स्मरणीय पक्ष के छ भने नेकपा एमाले पार्टी परित्याग गरेर विगतमा जति पनि नेताहरू बाहिरिए तीमध्ये केपी ओलीको विचार समूहप्रति प्रतिबद्ध एकजना पनि छैनन्। पार्टी परित्याग गर्नेहरूमध्ये अशोक राई, राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र केशव स्थापितलाई वामदेव गौतमसमर्थकका रूपमा बुझिन्थ्यो भने रामचन्द्र झा, गोपाल ठाकुर र रिजवान अन्सारी माधव नेपालको समर्थकका रूपमा चिनिन्थे। त्यसैगरी उर्मिला अर्याल, अजम्बर काङवाङ राई, लक्की शेर्पा र लार्केल लामा झलनाथ खनालको समर्थकका रूपमा परिचित थिए। विजय सुब्बा र वीरबहादुर लामालाई भने एमाले छोडिसकेका नेता सीपी मैनालीको समर्थकका रूपमा बुझिन्थ्यो। पृथ्वी सुब्बा गुरुङ एमालेबाट बाहिरिन्छन् कि भन्ने अनुमान धेरैले गरेका भए पनि ओलीको विचार समूहमा आबद्धता रहेका कारण उनले पार्टी परित्याग गर्न नसकेको बताइन्छ। त्यसैले त्यतिबेला वास्तविक एमालेको सच्चा नेताका रूपमा केपी ओलीलाई लिइएको छ र अबको पार्टी अध्यक्ष पनि ओली नै बन्नुपर्छ भन्ने आवाज एमालेभित्र घनीभूत भएको छ।

No comments:

Post a Comment