म्याग्दी,फागुन २७– नेपाली काँग्रेस जिल्ला कार्यसमिति म्याग्दीको बेनीस्थित पार्टी कार्यालयमा लागेको ताला ७० दिनपछि खुलेको छ । समानुपातिक सभासद् छनोट गर्दा जिल्लाको प्रतिनिधित्व नगराएको भन्दै गत पुस १६ गते नेपाली काँग्रेस म्याग्दीका पदाधिकारीले कार्यालयमा तालाबन्दी गर्नुका साथै पदबाट सामूहिक राजीनामा दिने निर्णय गरेका थिए ।
बेनीमा सोमबार बसेको जिल्ला कार्यसमिति बैठकमा केन्द्रीय समितिका तर्फबाट केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले २६ जना सभासद् मनोनीत गर्ने क्रममा म्याग्दी जिल्लाको प्रतिनिधित्व गराउने प्रतिबद्धता जनाएपछि ताला खोखिएको जिल्ला सभापति रेशमबहादुर बानियाले बताए । केन्द्रीय समितिले संविधानसभामा म्याग्दी काँग्रेसको प्रतिनिधित्व गराउने, म्याग्दीका विकास योजनालाई प्राथमिकता दिने, पार्टी र भ्रातृ सङ्गठनको केन्द्रीय समितिमा सम्मानपूर्वक सहभागिता गराउने लगायतका प्रतिबद्धता जनाएपछि ताला खोल्ने र सामूहिक राजीनामा दिने निर्णय फिर्ता लिएको बानियाले जानकारी दिए । समानुपातिकतर्फ संविधानसभा सदस्यका लागि नेपाली काँग्रेसले म्याग्दीकी धनकुमारी थापालाई उम्मेदवार बनाएको थियो । तालाबन्दीका कारण पार्टीको नियमित बैठक बस्न र कार्यालय सञ्चालन हुन सकेको थिएन ।
No comments:
Post a Comment