काठमाडौँ, चैत १६। पूर्व प्रधानमन्त्री एवम् एकीकृत नेकपा(माओवादी)का नेता डा बाबुराम भट्टराईले सक्रिय राजनीतिक जीवनपछिको बाँकी समय गोरखा जिल्लामै पशुपालन व्यवसाय गरेर बिताउने धारणा व्यक्त गर्नुभएको छ।
गोरखा पर्यटन समाजले सनीबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा डा भट्टराईले भन्नुभयो, “मैले यस्तोभन्दा धेरैले मेरो भनाइमा विश्वास नगर्लान् तर म गोरखा जिल्लामै बसेर त्यहीँ मर्न चाहन्छु।”
उहाँले विदेशिने वा काठमाडौँमा बस्ने प्रवृतिको अन्त्य गर्न जरुरी रहेको बताउँदै सबै व्यक्ति गाउँ फर्केर जान आवश्यक रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “छोराछोरीलाई विदेश पठाउने र उनीहरू उतै बस्ने तथा बाबुआमा काठमाडौँमा आएर बस्ने दुवै प्रवृति बढ्दै गएको छ, यसलाई निरुत्साहित गर्न जरुरी छ।”
परम्परागत खेतीपाती गर्ने वा जागिर गर्ने दुवै मानसिकता त्यागी अबको पुस्ताले आफैँ उद्यमशील बन्न जरुरी रहेको उहाँको भनाइ थियो।
उहाँले भन्नुभयो, “मेरो गोरखाको घर रहेको क्षेत्रमा खेती बढी हुँदैन, सो ठाउँमा बाख्रापालन गर्न उपयुक्त छ, साथीसँग मिलेर अहिलेदेखि नै बाख्रापालन गर्ने
तयारीसमेत गरेको छु।” गोरखा जिल्लाका सभासद्समेत रहनुभएका डा भट्टराईलेे गोरखालाई विकासको नमुना जिल्ला बनाउने पक्षमा आफू रहेकोसमेत बताउनुभयो। कार्यक्रममा एमाओवादी नेता एवम् गोरखाका सभासद् हितराज पाण्डेले गोरखा ऐतिहासिक, सांस्कृतिक, धार्मिक, हिमाली र युद्ध पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै यसको प्रवर्द्धनका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा गोरखाको पर्यटन विकासबारे कार्यपत्र प्रस्तुत गरिएको थियो।
No comments:
Post a Comment