Monday, July 22, 2013

सलमानको रेकर्ड ब्रेक गर्न एक दिन पछि सरे साहरुख

                          रोहित सेट्टीको निर्देशनमा तयार भएको पछिल्लो चलचित्र ‘चेन्नाई एक्सप्रेस’ अहिले सर्वाधिक चर्चामा छ । चलचित्रले बलिउडमा यसअघि बनेका सबै बक्स अफिस रेकर्ड तोड्ने अपेक्षा पनि गरिएको छ ।
                         यसैक्रममा यसको निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति एक दिन पछि सारेको छ । अगष्ट ८ बाट प्रदर्शनमा आउने भनिएको यो चलचित्र अब एक दिन पछि अर्थात अगष्ट ९ बाट विश्वभर एकसाथ प्रदर्शनमा आउनेछ ।
                     साहरुख खान, दीपिका पादुकोण अभिनित यो चलचित्रको प्रदर्शन मिति किन एक दिन पछि सारियो भन्ने विषयमा निर्माणपक्षले केही बोलेको छैन । तर अगष्ट ९ मा भारतको चर्चित पर्व ईद परेकाले पनि प्रदर्शन मिति सारिएको अड्कल काटिएको छ । बक्स अफिसमा सलमान खान अभिनित ‘एक था टाइगर’ पहिलो दिनमा सबैभन्दा बढि आम्दानी गर्ने चलचित्र हो । 
                    यो सिनेमाले गतबर्षको ईदमा ३२ करोडको ओपनिङ कलेक्शन गरेको थियो । यसैले पनि साहरुखले यो रेकर्डलाई तोड्नका लागि ईदकै दिनबाट सिनेमा प्रदर्शन गर्ने सोचाई बोकेको अनुमान गरिएको छ । बलिउडमा साहरुख र सलमान एक अर्काको चर्को दुश्मन मानिन्छन् ।
                       पूर्णतया द्वन्द्व र प्रेमलाई आधार बनाएर तयार पारिएको चलचित्रको चर्चा निक्कै छ । यसैले पनि यसले ‘एक था टाइगर’ले बनाएको सम्पुर्ण रेकर्ड तोड्ने अपेक्षा गरिएको छ ।

No comments:

Post a Comment