army                          काठमाडौं। नेपाली सेनाको कल्याणकारी कोषमाथि सौता हाल्ने तयारी भएको चर्चाले सेनामा तहल्का मच्चाएको छ। भूतपूर्व सैनिक कल्याणकारी कोषका नाममा अर्को संस्था खडा गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।
                          पूर्व प्रधानसेनापति धर्मपाल वरसिंह थापा र अवकाशप्राप्त रथी सीबी गुरुङको मास्टर माइन्डमा उपरथी पवन पाण्डेले यो संस्था खडा गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएका
छन्। सीबी गुरुङकै नेतृत्वमो यो संस्था खडा हुन लागेको सैनिक स्रोतले जनाएको छ। सो संस्थामा उपरथी नरेश बस्नेत, रतुवा काण्ड लागेका पूर्व सहायकरथी दिलिपशमशेर राणा, पूर्व प्रधान सेनापति धर्मपालवरसिंह थापाका छोरा महासेनानी अजितवरसिंह थापा सदस्य रहने बताइएको छ।
                            यो संस्थालाई तुरुन्तै कल्याणकारी कोषबाट २५ करोड रुपैयाँ संस्था चलाउने नाममा दिन लागिएको बताइएको छ। यसले सेनाको कल्याणकारी कोषलाई समेत चलाउने गुप्त योजना अनुरुप खडा गर्न लागिएको भन्दै सेनाभित्र असन्तुष्टि मच्चिएको छ। यसको दीर्घकालीन सोच अनुरुप नै जो सेनापति भए पनि यसमा आफू अनुकूलका भूतपूर्व अधिकृतहरूलाई राखेर संचालन गर्ने रहेको स्रोतले जनाएको छ। भूतपूर्व सैनिक अधिकारीहरूले सेनाको पैसा संचालन गर्नु भ्रष्टाचार भएकाले यसलाई रोक्नुपर्ने लबिङ पनि भइरहेको छ। सेनामा रहेको विद्यमान कल्याणकारी कोष नै बैधानिक संस्था हुँदाहुँदै अर्को संस्था किन चाहियो भन्ने प्रश्न उठेको छ। कोषले भूपू र बहालवाला सबै सैनिकको कल्याणकारी काम गरिरहेको छ। यसको अध्यक्षमा प्रधानसेनापति रहने र प्रधानमन्त्री संरक्षक रहने व्यवस्था छ। त्यस्तै संरक्षकले भूतपूर्व र बहालवाला सैनिक अधिकृतबाट २ जना मनोनीत गर्ने तथा प्रधानसेनापतिले दुई जना मनोनीत गर्ने व्यवस्था छ। हाल सीबी गुरुङ नै यो कोषका पनि सदस्य छन्। अर्थमन्त्रालय र रक्षा मन्त्रालयका एक एक जना सहसचिव सदस्य रहने सो कोषको विकल्पमा अर्को संस्था किन चाहियो भनेर नियतमाथि नै प्रश्न उठाइएको छ। सैनिक कल्याणकारी कोष नियमवाली २०६५ को दफा ७ को उफदफा ख १ मा स्पष्ट रुपमै पूर्व सैनिकहरूको बारेमा उल्लेख गरेको छ।
                       सो दफामा ‘नेपाली सेनाका बहालवाला तथा भूतपूर्व व्यक्ति र निजका परिवारको कल्याणका लागि कल्याणकारी कार्य संचालन गर्ने’ उल्लेख छ। कल्याणकारी कोषले भूतपूर्व सैनिकको हकमा स्पष्ट रुपमा काम गर्ने व्यवस्था हुँदाहँुदै अर्को संस्था खडा गर्न खोजिनुले केही व्यक्तिको गिद्धेदृष्टि अर्बौं रुपैयाँमा परेको स्पष्ट बुझ्न सकिन्छ। सैनिक कल्याणकारी कोषमा हाल करिव २२ अर्ब रुपैया संचित छ। त्यो रकममा भ्रष्टाचार गर्न गिरोहले कोषको सौता हाल्न लागेको स्रोतले जनाएको छ। ‘कोषको रकम दुरुपयोग गर्न कानुनी अड्चन भएपछि उनीहरूले अर्को बाटो अपनाएका हुन्’ एक उच्च सैनिक अधिकृतले भने।