Tuesday, July 16, 2013

चार दलले डाकेको छलफलमा बस्नुको औचित्य छैनः गजुरेल


खिलराज सरकारले चुनाव गराउने नसक्ने दाबी
CP-Gajurel
          इटहरी, साउन १- नेकपा-माओवादीका उपाध्यक्ष सिपी गजुरेलले चारदलीय सिन्डिकेटले सर्त राखेर डाकेको छलफलमा बस्नुको कुनै औचित्य नभएको बताएका छन् । उनले सर्तरहित वार्तामा मात्र आफूहरु बस्ने स्पष्ट पारे ।
              सुनसरीको इटहरी-२ स्थित सङ्गीत महाविद्यालय प्रतिष्ठानको भवन निर्माणस्थलको मंगलबार बिहान स्थलगत निरीक्षणपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले भने, ‘सर्त राखेर छलफलमा बस्दा त्यसले कुनै निष्कर्ष ननिकाल्ने भएकाले हामीले सर्तरहित छलफलमा मात्र बस्ने भनेका हौँ ।’
             पच्चिस बुँदे सहमति र एघार बुँदे सम्झौता खारेज भई गोलमेच सम्मेलनसहित सम्पूर्ण
राजनीतिक दलहरू सम्मिलित सरकारले मात्र संविधानसभाको चुनाव गर्न सक्ने उनले बताए । अहिलेकै अवस्थामा संविधानसभाको निर्वाचन हुन नसक्ने दाबी उनको थियो । वार्ताको कुरा पनि गर्ने अनी अर्कोतिर भित्रभित्रै चुनावी कार्यक्रमलाई पनि अघि बढाउने काम भइरहेकाले त्यसप्रति आफ्नो पार्टीको असहमति रहेको उनले बताए।
              उपाध्यक्ष गजुरेलले बरु विज्ञहरूको समूहबाट निर्माण भइनसकेको संविधानलाई पूरा गराएर प्रतिनिधि परिषद्मार्फत अनुमोदन गरी पारित गराउन सकिने तर्क अघि सारे।

No comments:

Post a Comment