विशेष गरी
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी स्वयं सरकार प्रमुखको भारी चाँडो
बिसाउन पाए हुन्थ्यो भनेर आफू निकटस्थहरूसँग कुनै हालतमा चुनाव मंसिरबाट
उता लानै नसकिने बताउन थालेका छन्। सूचना तथा संचारमन्त्री माधव पौडेलले त
यदि मंसिरमा चुनाव हुन नसके यो सरकारको औचित्य सकिने भन्दै आफू त्यसपछि
मन्त्रीको कुर्सीमा नबस्ने सार्वजनिक रुपमै घोषणा गरेर सरकारको आशय प्रकट
गरिसकेका छन्। भारतीय विदेशमन्त्री सलमान खुर्सिदको हालैको भ्रमणपछि भारत
पनि चुनाव तोकिएकै मितिमा होस् भन्ने पक्षमा देखिएको उच्च स्रोतहरूले
जनाएका छन्।धेरैको अनुमान अहिलेको सरकार गैर राजनीतिक तथा अवकाशप्राप्त कर्मचारीहरूको भएकाले उनीहरूले चुनाव सारेर आफ्नो आयु लम्ब्याउन चाहिरहेका छन् भन्ने छ। तर मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी भने ‘कतिबेला अहिलेको भारी बिसाएर आत्मसम्मानको जीवन बिताउँं’ भन्ने मनोविज्ञानमा हरेक दिन बाँचिरहेको उनी निकटस्थहरू बताउँछन्। रेग्मी दलका नेताहरूको दोहोरो चरित्र देखेर ‘यस्तो पनि राजनीति हुन्छ?’ भन्दै दिक्दारी व्यक्त गर्न थालेका छन्। उनले नेताहरूसँगको भेटमै पनि बोली र व्यवहार एउटै बनाउन र दोहोरो चरित्र देखाएर जनतालाई भ्रममा नपार्न आग्रह समेत गरिसकेका छन्। ‘हामी त बेन्चमा बसेपछि संविधान कानुनले जे भन्छ त्यही आधारमा आफ्नो ब्रम्ह र विवेकले देखे बमोजिम फैसला गर्ने मान्छे हौं’ रेग्मीले नेताहरूप्रति दिक्दारी व्यक्त गर्ने क्रममा आफ्ना बह पोख्दै भन्ने गरेका छन् ‘तर नेताजीहरूका त हरेक व्यक्तिसँग अलग कुरा हुने, बाहिर एउटा बोल्ने भित्र अर्कै गर्ने यस्तो पनि हुन्छ?’।
दलहरूले प्रधानमन्त्री बन्न आग्रह गर्दा एक महिनाभन्दा बढी समयसम्म अस्वीकार गरेर साझा सहमति बनाउन दबाब दिएका रेग्मीले चुनावी सरकारको नेतृत्व आफ्नो रहर नभई मुलुकप्रतिको बाध्यताका रुपमा ग्रहण गरेको बताउने गरेका छन्। हालैको नेपाल भ्रमणका क्रममा भारतीय विदेशमन्त्रीले पूर्व प्रधानमन्त्री सहित सबै दलका नेताहरूलाई औंला ठड्याएरै ‘तपाईंहरूले के गर्नुभयो यो देशका लागि? तपाईंहरूको भन्दा धेरै त्याग र बलिदान त प्रधानन्यायाधीस रेग्मीले गरेका छन्, उनीबाट सिक्नुस्’ भनेको त्यस भेटका एक सहभागीले बताए। खुर्सिदले रेग्मीको अनुपस्थितिमा उनीप्रति दर्शाएको सम्मान र समर्थन देखेर चार दलका शीर्षनेताहरू समेत अचम्मित भएका थिए। भारत कुनै पनि हालतमा यो सरकारले तोकेको मितिमा नेपालमा संविधानसभाको निर्वाचन हुनुपर्छ र त्यसका लागि जे सुकै सघाउन पनि तयार छ भन्ने सन्देश पनि खुर्सिदले दिएर गएका छन्।
अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष रेग्मी अहिले आफूसँग भेट्न जाने व्यक्ति तथा समूहहरूसँग पनि विश्वासका साथ मंसिर ४ को चुनाव गराएरै छाड्ने दृढता व्यक्त गरिरहेका छन्। ‘सबै दल र समूहलाई चुनावमा सहभागी गराउने हाम्रो चाहना हो। तर नेपालको इतिहास र विश्वकै इतिहास हेर्दा पनि यो सम्भव छैन। कहिले को सहभागी हुन्नन्, कहिले कोही हुन्छन्। तर चुनाव भनेको प्रजातन्त्रको धमनी हो, यसलाई रोक्न दिन हुँदैन’ इजरायल लगायतका देशको उदाहरण दिदै रेग्मीले भन्ने गरेका छन् ‘इजरायल मुलुक जन्मेदेखि युद्धमा छ, तर त्यहाँ हरेक चार वर्षमा चुनाव हुन्छ, श्रीलंका दशौं वर्ष गृहयुद्धमा हुँदा पनि कहिल्यै चुनाव रोकिएन, अफगानिस्तान र इराकमा त चुनाव भइरहेको छ भने हाम्रो देशमा कुनै एउटा समूहले चुनावमा भाग लिंदैन भन्दैमा चुनाव नै रोक्ने कुरा किन भइरहेको छ मैले बुझि्दनँ’।
रेग्मीलाई चुनाव गराउनका लािग देशभित्रबाट भन्दा देश बाहिरबाट धेरै समर्थन मिलेको आभास अहिले भइरहेको छ। भारतीय विदेशमन्त्रीको उनीप्रतिको सम्मानमात्र होइन, भारतले चुनाव तोकिएकै मितिमा हुनुपर्छ भनेर आफ्नो स्पष्ट सन्देश पनि दिएको छ। भारतको विश्व्ाासिला मानिने पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको पछिल्लो अभिव्यक्तिले पनि त्यही संकेत गरेको छ। त्यसो त अमेरिका, युरोपेली युनियन र चीनले समेत रेग्मी सरकारलाई मंसिरमै चुनाव गराउन सम्पूर्ण समर्थन दिइसकेकाले पनि उनी उत्साहित छन्। सकेसम्म नेकपा माओवादीलाई पनि चुनावमा सहभागी गराउने प्रयास रेग्मी सरकारले गरिरहेको छ। तर त्यस पार्टीको आधिकारिक लाइन चुनाव बहिस्कारका रुपमा आइसकेको र वार्तालाई अल्मल्याउने रणनीति मात्र बनाएको आशंका सरकारले गरेको छ। सरकारले वैद्य पक्षले चुनाव बहिस्कार गर्दा त्यसको असर कति पर्न सक्छ भनेर प्रशासनिक र सुरक्षा निकायबाट रिपोर्ट पनि लिइरहेको छ। तर अरु दलहरूलाई कुनै पनि हालतमा मंसिर ४ को निर्वाचनबाट भाग्न नदिन सरकारले पहल लिएको छ। ‘कुनै दललाई मंसिर ४ गते प्रतिष्ठाको विषय बनेको छ भने त्यसलाई २ वा ३ मा सार्न सकिन्छ, ५ बनाउन सकिएला तर निर्धारित मितिबाट तलमाथि गर्ने कुनै सम्भावना छैन’ एक मन्त्रीले भने। नियतवस चुनावमा भाग नलिने दलहरू बाहेक अरु सबैलाई समेटेर लैजाने र चुनाव निष्पक्ष तथा स्वतन्त्र बनाउने कुनै कसर बाँकी नराख्ने गरी काम गर्न रेग्मीले सम्बन्धित मन्त्रीहरूलाई पनि दबाब दिएको स्रोतले जनाएको छ।
No comments:
Post a Comment