Tuesday, July 2, 2013

मण्डेला छट्पटाइरहँदा परिवारमा भने चिहानको झगडा


       रंगभेदबिरुद्धका सर्वोच्च नेता नेल्सन मण्डेला जीवन र मृत्युको दोसाँधमा दक्षिण अफ्रिकाको एक अस्पतालमा छट्पटाइरहेका बेला उनको परिवार भने चिहान विवादमा चर्को झगडा गरिरहेको छ ।
        परिवारका केही सदस्यहरूले उनको सबैभन्दा जेठा नाति मन्ड्लाविरुद्ध मण्डेलाका निधन भइसकेका तीन छोराछोरीको चिहान खोतल्न माग गर्दै
अदालतमा मुद्दा हालेका छन् । ती चिहान खनेर कुनु भन्ने ठाउँमा रहेको पारिवारिक चिहानघारीमा गाड्न पाउनुपर्ने माग परिवारका ती सदस्यको छ । कुनु मण्डेलाको गाउँ हो । मण्डेलाले भने आफ्नो निधनपछि आफूलाई कुनुमै गाड्न परिवारका सदस्यलाई भनिसकेका छन् । रिपोर्टहरूका अनुसार मण्डेलाका नाति मण्ड्लाले कुनुबाट दुई वर्षअघि ती चिहान खोतलेर त्यहाँ भएका शव माभेजो भन्ने स्थानमा लगेर पुरेका थिए । माभेजो कुनुबाट २४ किलोमिटर टाढा छ । यो विवादले जटिल र विशाल मण्डेला परिवारमा आएको उत्तराधिकारीको झगडा उजागर गरेको छ ।
                     उनका तीन पत्नी, छ छोराछोरी, १७ नातिनातिना र १२ पनातिपनातिना छन् । परिवारका केही बुज्रक भने मण्डेलाको स्वास्थ्यस्थिति बिग्रँदै गइरहेको बेला निम्तिएको यो विवादले उनको आत्मालाई शान्ति नपुग्ने भन्दै आक्रोशित भइरहेका छन् ।परिवारका केही सदस्य मण्डेलाको बिमारी पूर्वजहरू रिसाएको संकेत भएको बताउँछन् । मण्डेला परिवारका १६ सदस्य र स्थानीय प्रमुखले गत साता एक अदालतबाट पुराना चिहान खोतलेर कुनुस्थित चिहानघारीमा फेरि गाड्न अनुमति पाएका थिए ।
                     तर, नाति मण्ड्ला भने अझै यसको विरोध गरिरहेका छन् । यो विवाद खासमा मण्डेलाको आदिवासी समुदायको नाइके उनको निधनपछि को हुने भन्ने निर्णयसँग जोडिएको छ । मण्डेलाले यसअघि नै आफ्ना नाति मण्ड्लालाई परिवारको सबैभन्दा जेठो पुरुष सदस्यका रुपमा थेम्बु समुदायको प्रमुख घोषणा गरिसकेका छन् । उनी अहिले सत्तारुढ पार्टी अफ्रिकी नेसनल कंग्रेसका तर्फबाट सांसदसमेत छन् । माभेजोबाट गाडिएका शव निकालेर फेरि कुनु नै ल्याइयो भने थेम्बु समुदायको प्रमुखका रुपमा मण्ड्लाको पद पनि संकटमा पर्नेछ । त्यस्तै मण्डेला परिवारको अर्को झगडामा उनका दुई छोरीहरू मण्डेलाको निधनपछि उनको कम्पनीमा कसको अधिकार हुने भन्ने विषयमा विवाद गरिरहेका छन्

No comments:

Post a Comment