Friday, August 2, 2013

चार दलको व्यवहारले चुनाव बहिष्कार : वैद्य


                   १८ साउन, ललितपुर । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले चार दलको उच्चस्तरीय राजनीतिक समितिको व्यवहारको कारण चुनावको बहिष्कार गर्नुपरेको बताउनुभएको छ ।
             अखिल नेपाल शिक्षक संगठनको दुईदिने प्रथम केन्द्रीय परिषद् बैठकको शुक्रबार उद्घाटन गर्दै वैद्यले एमालेले अशोक राईको समूहलाई, गच्छदारले उपेन्द्र यादवलाई र एमाओवादीले आफूहरुलाई वार्तामा आउन नदिन बारबन्देज लगाएको आरोप लगाउनुभयो । “जनयुद्ध र दोस्रो जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न नयाँ संविधान अनिवार्य छ, अघिल्लोपटक पनि संविधान आउन नदिने यिनै चार दल भएकाले उनीहरुले संविधान ल्याउन देलान् भन्ने लाग्दैन”, उहाँले शङ्का व्यक्त गर्नुभयो । वैद्यले संविधानसभाबाट संविधान ल्याउन संविधानका अन्तरवस्तु तय गर्ने र दिनदिनै कमजोर बन्दै गएको राष्ट्रियता
र स्वाधीनताका लागि सबैको सहमति जुटाउन आफूले राखेको गोलमेच प्रस्ताव संविधानसभाबाट संविधान बनाउनकै लागि राखिएको प्रस्टयाउनुभयो ।
              माओवादीका सचिव देवप्रसाद गुरुङले सरकारी स्वीकृतिमै शिक्षा क्षेत्रमा निजीकरण भित्रिएपछि वैदेशिक हस्तक्षेप बढेको तथा धनी र गरिबका लागि छुट्टाछुट्टै शिक्षा आर्जन थलो तोकेर वर्ग विभाजन गरिएको आरोप लगाउनुभयो । रासस

No comments:

Post a Comment