Thursday, September 19, 2013

मिति सारेर बैद्यलाई चुनावमा ल्याउनु पर्छः कोइराला

              ३ असोज, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले निर्वाचनको मिति सरेर भए पनि मोहन बैद्य किरण नेतृत्वको नेकपा-माओवादीलाई संविधानसभा निर्वाचनमा सहभागी गराउनु पर्ने बताउनु भएको छ ।
                          माओवादीलाई बाहिर राखेर चुनावै हुन नसक्ने र भई हाले पनि त्यसले संविधान बनाउनुको साटो मुलुकमा द्वन्द्व निम्त्याउने उहाँको भनाई छ ।
रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा कोइरालाले भन्नुभयो-’दललाई बाहिर राखेर गरिने निर्वाचनको अर्थ छैन । निर्वाचन शान्ति र स्थिरताका लागि हो,
अस्थीरता र द्वन्द्व  बढाउन हुनु हुँदैन ।’ १२ बुँदेबाट सुरु भएको शान्ति प्रक्रियालाई अघि बढाउन पनि माओवादीलाई निर्वाचनमा ल्याउनै पर्ने भन्दै उहाँले भन्नुभयो-’त्यसका लागि मिति सार्न पनि तयार हुनुपर्छ । 
              चुनाव राष्ट्र बचाउनलाई गर्ने हो, द्वन्द्वमा लान होइन ।’ यद्यपि दलहरुले समानुपातिक र प्रत्यक्षको नामावली तयार पारिनसकेको, पार्टीभित्रको लविङले सहजै हुन सक्ने अवस्था रहेकोले पनि निर्वाचनको मिति भने सर्ने सम्भावना रहेको उहाँको भनाई छ ।
                   कांग्रेस नेतृ कोइरालाले सेना परिचालन गरेर जवरजस्ती निर्वाचन गर्न खोजिए मुलुकमा रक्तपात हुने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो-’सेना परिचालन गरेर गरिने चुनावले संकट निम्त्याउछ, रक्तपात निम्त्याउछ । त्यसैले प्रजातान्त्रिक प्रक्रियाबाट आएको राष्ट्रपतिले नागरिक अधिकारको रक्षाका लागि गम्भीर हुनुपर्छ ।’ नेकपा-माओवादी निर्वाचनमा आउन लचक देखिएको भन्दै उहाँले प्रमुख दलका शीर्ष नेता र सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
                 साक्षात्कारमा एमाओवादीका नेता टोपबहादुर रायमाझीले संविधानसभाको निर्वाचनमा सबै दलको सहभागिता आवश्यक रहेको भन्दै माओवादीको माग अनुसार मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा र केही दिन चुनाव सार्दा फरक नपर्ने बताउनु भयो ।

No comments:

Post a Comment