Saturday, September 21, 2013

टिकट लिन कांग्रेसमा तस्करको प्रवेश

                  काठमाडौं। विचार र सिद्धान्तमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र यतिखेर संविधान सभाको निर्वाचनमा टिकट पाउन समाजमा गुण्डा कहलिएका र तस्कर भनेर चिनिनेहरुको प्रवेश हुन थालेको छ। समाजमा डन तथा गुण्डा भनेर चिनिनेदेखि देशकै प्रमुख तस्कर समेत संविधान सभा निर्वाचनमा टिकट लिन करोडौं रुपैंया खर्च गर्ने तयारीमा रहेको बुझिएको छ।
               यतिखेर वीरगञ्जस्थित आदर्शनगरमा बंगलाजत्रो घर बनाएर बसेका एकजना प्रमुख तस्कर राजेश्वर साह पर्साको कुनैपनि क्षेत्रबाट चुनावमा टिकट पाउनका लागि नेपाली कांग्रेस पर्सा जिल्लाका सभापति सुरेन्द्र चौधरी मार्फत लबिङमा लागिरहेका छन्। सभापति चौधरीले तस्करका नाईके साहलाई काठमाडौंमा ल्याएर कांग्रेसका दोस्रो तहका नेताहरुसँग भेटघाट गराईरहेका छन्। चौधरीलाई सम्पूर्ण खर्चपानी उनै तस्कर साहले नै बेहार्ने गर्दछन्।
                  २०६३ सालमा एमालेका सामान्य कार्यकर्ता भएर तस्करीको काम गर्दै आएका साह कांग्रेसको सरकार आएपछि कांग्रेसमा छिरेका हुन्। सिंगो वीरगञ्जमा उनलाई तस्कर भनेर चिनिन्छ। सुरुमा वीरगञ्ज उनको तस्करीको क्षेत्र थियो भने अहिले अर्बौं रुपैंया कमाएर उनले प्रहरी प्रशासन, राजस्व प्रशासन र भन्सार प्रशासनका अधिकृत तथा उच्च स्तरका कर्मचारीहरुलाई प्रलोभनमा पारेर काठमाडौंसम्म सेटिङ मिलाएका छन्। नेपालका अधिकांश भन्सार नाकामा उनको ठूलो सम्बन्ध छ जसका कारण उनले आफूलाई ठूलो तस्करीका रुपमा पहिचान गराउन सके। अरु व्यापारीहरुको सामान ठाउँ ठाउँमा समात्न लगाएर उनले प्रहरीका लागि राम्रो कमाउने मौका समेत दिने गरेका छन्। आफ्नो कारोबार चलाउन उनले कांग्रेसका केही नेताहरुसँग राम्रै साँठगाँठ गर्ने गर्दछन्।
                   पर्सा जिल्लाको गम्हरिया गाविस स्थित रानीघाटमा बस्ने साहले ४/५ वर्षदेखि यता आएर मात्रै करोडौं जोड्न सफल भएका हुन्। सुरुमा उनको हैसियत सामान्य गरिब परिवारको थियो पछि आएर उनले तस्करीको काममा लाग्न थालेपछि मात्र अर्बपति भएका हुन्। भन्सारबाट आएका अरु व्यापारीहरुको सामान प्रहरी र राजस्व कार्यालयका कर्मचारीहरुलाई सुराकी गरेर उनले समात्न लगाउने अनि आफ्नो सामानहरु राजस्व छलेर ल्याउने गर्दछन्।
                नेपाली कांग्रेसको बाह्रौं महाधिवेशन हुँदा साहले पैसा खर्च गरेर क्रियाशील सदस्यता लिएका हुन्। यसअघि उनी पार्टीको साधारण सदस्य मात्रै थिए। गत भदौ २२ गते नेपाली कांग्रेस पर्साको कार्यसमिति बैठक बसेको बेला सभापति चौधरीले उनलाई पार्टीको केन्द्रिय कार्यसमितिमा मनोनीत गरी ल्याएका थिए। सोही दिनै चौधरीले साहलाई अब हुने संविधान सभाको निर्वाचनमा पर्सा जिल्लाबाट उम्मेदवार बनाउन बैठकबाटै सिफारिश गरे। यसका लागि साहले चौधरीलाई १० लाख रुपैंया दिएको बुझिएको छ। अहिले उनै चौधरीले कांग्रेस नेताका घरघरमा लगेर साहलाई पर्सा क्षेत्र नं. ३ बाट टिकट दिन लबिङ गरिरहेका छन्। कांग्रेसभित्र यस्ता तस्करहरुको प्रवेश हुन लाग्यो भनेर पर्सा कांग्रेसका अधिकांश नेता कार्यकर्ताहरुले विरोध गरेका छन्। पार्टीले विचार र सिद्धान्तलाई बोकेर अघि बढ्नुपर्ने बताउँदै उनीहरुले यस्ता तस्करहरुको पछि कांग्रेस लाग्ने हो भने कांग्रेसकै अस्तित्व सकिने बताएका छन्। २―४ करोड जति खर्च गरेर भएपनि टिकट लिने दाउमा रहेका साहलाई टिकट नदिन पर्सा कांग्रेसका अधिकांश सदस्यहरुले माग गरेका छन्।
                     तस्करीको काम सँगसँगै साहले जनयुद्ध कालमा नाकाबाट हतियार सप्लाई गर्ने गर्दथे। माओवादी नेता प्रभु साहसँगै रहेर उनले तस्करीको काम गर्ने गरेको बुझिएको छ। उनले प्राय आफ्नो नाममा कम्पनी खोल्ने गर्दैनन्। अरु कुनै व्यक्तिको नाममा कम्पनी फर्म खडा गरेर एक वर्षसम्म काम गर्ने अनि एक वर्षपछि सरकारलाई बुझाउनुपर्ने राजस्व नबुझाएर फेरि अर्कै व्यक्तिको नाममा कम्पनी खडा गर्ने उनको प्रवृत्ति रहेको छ। उनले तस्करीको मात्रै काम नगरी जग्गा दलाली समेत गर्ने गर्दछन्। अवैध जग्गाको किनबेच गरेर उनले मान्छेलाई फसाउने गर्दछन्।
                       वीरगञ्जमा उनले अहिले १० करोड बराबरको नयाँ घर किनेका छन् भने वीरगञ्जमा टिभीएस मोटरसाईकलको शो रुम भएको घर उनकै हो। वीरगञ्ज डेन्टल कलेज र मर्ज हुनु अघिको हिमचुली विकास बैंकमा समेत उनको ठूलो सेयर छ। उनको मुख्य काम भनेकै २ नम्बरी काम हो। दूधको कारोबार, रक्तचन्दन, किसमिस, जिरा मसला, गुटखा, पान मसला, सुपारी, कपडा लगायत जाली नोटको काम समेत उनले गर्ने गरेको स्रोतको भनाई छ।
                      यसैबीच यही असोज ४ गते शुक्रबारको दिन बिहान १० बजेको समयमा परासीको महेशपुरस्थित साहको गोदाममा राजस्व अनुसन्धान विभागका कर्मचारीहरुले छापा मारेर उनको ट्रक नियन्त्रणमा लिएको छ। महेशपुर गोदामबाट लोड गरी हिंडेको ट्रकबाट करिब ४ सय ६५ बोरा जिरा राजस्वका अधिकारीहरुले समातेका हुन्। अहिले साहको ट्रक राजस्व अनुसन्धान विभाग हरिहरभवनमा राखिएको छ। महेशपुरमा उनको ठूलो गोदाम छ जहाँ उनले भन्सार छलेर ल्याएका सामानहरु भण्डार गरी राख्ने गर्दछन्।
उनीमाथि अहिले गम्भीर प्रकृतिको मुद्दा चलिरहेको छ। केही समयअघि वीरगञ्जमा एकजना व्यक्तिको हत्या हुँदा साह पनि संलग्न रहेको भन्दै अदालतले धरौटीमा उनलाई छाडेको थियो। उनको मुद्दा अझैपनि अदालतमा चलिरहेको छ।

No comments:

Post a Comment