Tuesday, September 17, 2013

नेकपा-माओवादी फेरि आक्रोशित चुनाव बहिष्कार गर्ने र बिथोल्ने

                काठमाडौ, आश्विन १ - नयाँ राजनीतिक सहमतिमार्फत वार्ता सफल बनाउने प्रयास विफल भएपछि नेकपा-माओवादी नेतृत्वको मोर्चाका नेताले चुनाव बहिष्कार गर्ने र बिथोल्ने कार्यक्रम प्रभावकारी ढंगले देशव्यापी बनाउने प्रतिक्रिया दिएका छन् ।'बहिष्कार गर्ने भन्दाभन्दै हामी हदैसम्म लचिलो भएका हौं,' उच्चस्तरीय राजनीतिक समितिसँगको वार्ता असफल बनेपछि माओवादी सचिव देव गुरुङले भने, 'समितिले हामीले सुझाएका विकल्प सुनेन । हामी आन्दोलनमै जानुपर्ने भयो ।'वार्ताबाट राजनीतिक उपलब्धि देखिए चुनावलाई सकारात्मक रूपमा लिने, नभए बिथोल्ने कार्यनीति लिएको मोहन वैद्य नेतृत्वको मोर्चाले अब पछिल्लो बाटो समाउने देखिएको छ ।मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पद त्यागे चुनावमा जाने प्रस्ताव वैद्यसहितको मोर्चाले राखेको थियो । चुनावी तयारी नभएकाले मंसिर ४ मै चुनाव गर्ने हो भने पूर्ण समानुपातिक हुनुपर्ने, प्रत्यक्ष प्रणाली भए चैतमा पुर्‍याउनुपर्ने उसको प्रस्तावलाई समितिले पनि चुनाव नगराउने 'ट्याक्टिस' कै रूपमा बुझ्यो । दुवै पक्षमा आपसी विश्वास नदेखेपछि वार्ता तत्काललाई अघि बढ्न नसक्ने निष्कर्षसहित टुंगिएको थियो । र, दुवै पक्ष असफल वार्ता जानकारी गराउन सोमबार राति नै शीतलनिवास पुगे ।'सहमति भएको भए हाम्रो एजेन्डाको जित हुन्थ्यो । त्यतिबेला संविधानसभाको चुनावमा जान पनि सकिन्थ्यो,' माओवादीका एक नेताले भने, 'तर, भएन । अब सक्रिय बहिष्कार गर्नुको विकल्प छैन ।'तैपनि, राष्ट्रपति रामवरण यादवले राति दुवै पक्षलाई बेग्लाबेग्लै भेटी मंसिर ४ कै चुनावलाई केन्दि्रत गरी 'वार्तालाई निरन्तरता दिनुपर्ने' सुझाव दिए ।दुवै पक्षले त्यसलाई औपचारिक रूपमा लिँदै त्यस्तो सम्भावना क्षीण देख्छन् । त्यसमाथि रेग्मीले बरु आफू अध्यक्ष पद त्याग्ने, प्रधानन्यायाधीश नछाड्ने जानकारी समितिलाई गराइसकेका छन् ।यो अवस्थामा मंसिर ४ को चुनावमा भाग नलिने प्रस्ट भएपछि माओवादी नेताहरू भने बिथोल्ने र बहिष्कार गर्ने भन्ने पोखराको केन्द्रीय समितिद्वारा पारित दस्तावेज पल्टाउन थालेका छन् । पहिलो चरणमा उनीहरूले उम्मेदवारहरूको मनोनयन कार्यक्रमलाई प्रभावित गर्ने भएका छन् । तर, त्यो 'सांकेतिक' मात्र हुने माओवादी पोलिटब्युरो सदस्य धर्मेन्द्र बास्तोलाले बताए ।'सकेजति बिथोल्छौं,' उनले भने, 'त्यसको तयारी भइरहेको छ ।'दस्तावेजमा भने चुनाव बिथोल्न राजनीतिक रूपमा 'भन्डाफोर अभियान दल' र सुरक्षाको दृष्टिले 'युवा प्रतिरोध दल' हुने उल्लेख छ । एक मतदान केन्द्र एक युवा प्रतिरोध गर्ने भनी पारित कार्यक्रमलाई पार्टीले मूतरूपसमेत दिइरहेको दाबी नेताहरूले दिएका छन् ।त्यसको सम्पूर्ण गतिविधि राष्ट्रिय युवा जनस्वंयसेवक ब्युरोमार्फत भइरहेको अर्का एक नेताले जानकारी दिए । ब्युरोको नेतृत्व पार्टी केन्द्रीय सदस्य उदयबहादुर चलाउनेले गरेका छन्, जहाँ पूर्वलडाकु कमान्डरहरूको बाहुल्य छ ।मोर्चा आबद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापा भने ठूला दलले मोर्चा आबद्ध दल र यसको सामथ्र्यलाई भन्दा रेग्मीको प्रधानन्यायाधीश पदलाई महत्त्व दिएकामा आश्चर्य राखे ।'अब आन्दोलन कसरी प्रभावी बनाउने गृहकार्य गर्छौं,' तत्काललाई वार्ता सम्भावना टरेको जनाउ दिँदै थापाले भने, 'यत्तिकै हुने चुनावले एक त संविधान नै दिँदैन । बन्यो भने पनि कस्तो बन्छ सबैलाई थाहा छ ।'

No comments:

Post a Comment