Saturday, September 21, 2013

पर्वतमा म्यादी प्रहरी भर्ना प्रकृया शुरु

                   पर्वत आसन्न संविधान सभा निर्वाचनका लागि मुलुकभर म्यादी प्रहरीको भर्ना प्रक्रिया शुरु भइरहेका बेला जिल्ला प्रहरी कार्यालय पर्वतले पनि भर्नाका लागि आवेदन लिन शुरु गरेको छ ।
               प्रहरीले असोज ४ गतदेखि असोज १४ गते सम्मको समयावधि तोकेर भर्ना प्रक्रिया अघि बढाएको हो । संविधानसभा निर्वाचनमा पर्वतमा २ सय ७३ जना म्यादी प्रहरी परिचालन
हुने भएका छन् ।
                    निर्वाचनलाई लक्षित गरी दुई महिला कार्य अवधिका लागि म्यादी प्रहरी छनोट हुने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक जगतबन्धु पोख्रेलले जानकारी दिए । भर्ना प्रक्रियाका क्रममा विशेषगरी सुरक्षाक्षेत्रका भुतपुर्व व्यक्तिहरुलाई प्राथमिकता दिएको उनले बताए ।
                    १८ बर्ष देखि ५० बर्ष उमेर समुहका व्यक्तिहरुले भर्ना प्रक्रियामा भाग लिन पाउने भएका छन् । यसरी छनोटमा परेका म्यादी प्रहरीले जवान सरहको तलब भत्ता, रासन र पोशाकको सुविधा पाउनेछन् । दरखास्तवालाहरुको स्वास्थ्य परिक्षण, लिखित, प्रयोगात्मक र अन्तरवार्ताबाट म्यादी प्रहरी छनोट गरिने पोख्रेलले जानकारी दिए ।
                   दरखास्त दिने व्यक्ति फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक पार्टीको सदस्यता नलिएको हुनुपर्ने प्रावधान रहेको छ भने साधारण लेखपढ गर्न सक्ने योग्यता भएकाले समेत जिल्ला प्रहरी कार्यालयमा पुगेर दरखास्त दिन सक्ने छन् ।

No comments:

Post a Comment