Sunday, January 5, 2014

हत्यारालाई ल्याउन हेलिकोप्टर चार्टर

बयान दिन हिंडेर जान्न भने अभियुक्तले
                   संखुवासभा, पुस २१ - संखुवासभाको चेपुवा ९ थुदामका ६५ वर्षीय ज्याङ भोटेले एक साताअघि छिमेकी २७ वर्षीय धाय भोटेको छुरी प्रहार गरेर हत्या गरे । हत्या गरेको ४ दिन पछि चेपुवा प्रहरी चौकीले फरार रहेका ज्याङलाई पक्राउ गर्‍यो । तर, बयान दिन ज्याङले हिँडेर जिल्ला प्रहरी कार्यालय खाँदबारी नजाने भनेपछि उनलाई ल्याउन हेलिकप्टर चार्टर गरिएको छ ।
                 सदरमुकाम खाँदबारीबाट ५६ कोष टाढाबाट ज्याङलाई हिँडाएर ल्याउन कठीन थियो । हत्या आरोपी ज्याङले आफैं हेलिकप्टरबाट जिल्ला प्रहरी जाने इच्छा देखाएपछि सभासद तारामान गुरुङ मार्फत हेलिकप्टर चार्टर गरियो । उसले हत्या गरेका २७ वर्षीय धायलाई पनि प्रहरीले हेलिकप्टरमै ल्याएर जिल्ला अस्पतालमा पोष्टमार्टम गरेको जनाएको छ । काठमाडौंबाट हेलिकप्टर चार्टर गरेबापत ज्याङले ३ लाख रुपैयाँ खर्चेका छन् । उनले जिल्ला प्रहरी कार्यालयमा आइतबार भेला भएका सञ्चारकर्मीहरुलाई धायको हत्या आफैंले गरेको बताए । उनले आफू हिँडेर सदरमुकामसम्म आउन नसक्ने भएपछि हेलिकप्टर चार्टर गरेर आएको
बताएका छन् । हत्यापछि उनलाई गाउँलेले कुटपिट गरेका कारण सामान्य घाइते भएका थिए । उनलाई आइतबार खाँदबारीमा प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । घरयासी विवादका कारण धायको हत्या गरेको उनले प्रहरीलाई बयान दिएका छन् । 'काइँली छोरी फुचुङको विवाह मृतक धायका जेठा दाजु कामाफुर्चेलाई गरिदिने भनेर गएको वैशाख अर्थात ९ महिना अघि हामीबीच जातिय परम्परा अनुसार रित लिएका थियौं । छोरीले अर्केसँग भागेर गएपछि हाम्रो सम्बन्ध बिग्रँदै गयो' बयानका क्रममा ज्याङले भनेका छन् । बेलाबेलामा छोरीको बिषयमा हाम्रो विवाद र झगडा हुँदै आएको थियो, यसै बिषयलाई लिएर पुस १२ गते थुदामस्थित हिच्चु खोला छेउको चउरमा मेरो छोरा तेम्बालाई मृतक धायले कुटेपछि रिस सहन नसकेर छुरी रोपेर उसको हत्या गरेको हुँ । आरोपी ज्याङले भने, 'मैले कम्मरमा भिरेको छुरी निकालेर धायको पेटमा कस्सेर हानिदिए, मैले छुरी ताने उ त्यहीँ ढल्यो, त्यसपछि म भागे ।' आरोपी ज्याङलाई प्रहरीले जंगलमा लुकेर बसेको अवस्थामा पुस १५ गते पक्राउ गरेको थियो । ज्याङलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी कारबाही सुरु गरेको संखुवासभाका प्रहरी नायब उपरिक्षक पवन गिरीले बताए । हत्यामा प्रयोग गरेको छुरी समेत प्रहरीले सार्वजनिक गरेको छ । सडक संजाल सदरमुकाम छेउछाउमा मात्रै सीमित रहेकाले उनलाई कसरी ल्याउने भन्ने सोचमा थियौं, गिरीले भने, 'उसैले हेलिकप्टरबाट जान्छु भनेर चार्टर गरेपछि हामीले ल्यायौं र कारबाही प्रक्रिया अघि बढायौं ।'

No comments:

Post a Comment