Thursday, January 2, 2014

क्रान्तिकारी पार्टीका दमनकारी सभासद

rabindra
                     ‘मैले तीन करोड ५० लाख बुझाएर पनि सुख पाइनँ’, पूर्व आईजीपी एवं हालै एमाओवादीबाट समानुपातिक सभासद बनेका रवीन्द्रप्रताप शाह अचेल आफन्तमाझ यस्तै गुनासो गर्दै हिंड्न थालेका छन् । आफूलाई सभासद बनाइएको विरोधमा एमाओवादीभित्र व्यापक विरोध र असन्तुष्टि चर्किएपछि शाहले भन्न थालेका छन्, ‘समाजमा केही मान प्रतिष्ठा र सम्मान होस भनेर यत्रो रकम खर्च गरें, आखिर उल्टै घोर बेइज्जत भइरहेको छ ।’

हुन पनि शाहलाई सभासद बनाएको विरोधमा अहिले एमाओवादीभित्र विद्रोह नै शुरु भएको छ । कार्यकर्ताले धादिङमा पार्टी कार्यालयमै तोडफोड र आगजनी गरेका छन् । ‘हत्यारा र दमनकारी शाह मूर्दावाद’ को नारा गुञ्जिरहेको छ । एमाओवादी कार्यकर्तामाथि चरम दमनमा उत्रिएका शाहलाई नै सभासद बनाएर पार्टीले जनयुद्धका शहीद, घाइते र मुक्तिको चाहना राख्नेहरूको घोर अपमान गरेको सर्वत्र महसूस भइरहेको छ । आखिर एमाओवादीलाई
यस्ता भ्रष्ट र दमनकारीलाई सभासद बनाउन केले प्रेरित ग¥यो ? भन्ने प्रश्न पनि खडा भएको छ । पार्टीका केही लोभीपापीहरूले शाहलाई सभासद बनाउन करोडौं रकम शुभ–लाभ लिएका तथ्यहरू प्रकाशमा आउन थालेका छन । यसले क्रान्तिकारी पार्टीको छविमा गम्भीर धक्का लागेको छ ।
दमनकारी छवि
वरिष्ठतामा पछाडि भए पनि शाहको ठाउँमा शुरुमा रमेशचन्द ठकुरी आईजीपी भएका थिए । तर, चन्द सुडान घोटालामा परेपछि शाहको चिट्ठा प¥यो । उनी आईजीपी बने । ३० वर्षीय सेवा अवधिका कारण २०६९ भदौमा अवकाश पाएलगत्तै शाहले सार्वजनिक रुपमै आफू राजनीतिमा नआउने दावी गरेका थिए । उनले राजनीतिकरणका कारण प्रहरी संगठन बिग्रिएको समेत भनेका थिए । साथै एमाओवादी नेताहरूलाई समेत उनले सत्तोसराप गर्दै प्रहरी संगठन निष्पक्ष हुनुपर्ने र प्रहरी सेवामा लागेकाहरू कुनै राजनीतिक दलको कार्यकर्ता हुन नहुने बताएका थिए । पछि तिनै शाह विभिन्न चलखेल गरेर राजनीतिमा आए । अनि एमाओवादीको समानुपातिक सभासद भएरै छाडे ।
विगतको जनयुद्धमा माओवादी विरुद्ध सबैभन्दा क्रूर ढंगले प्रहरी प्रशासन लागेको थियो । किलो शेरा टु, रोमियो लगायतका अपरेशन प्रहरीबाट भएको थियो । त्यसवेला प्रहरीबाट हजारौं नेपाली मारिएका थिए । पछिल्लो कालखण्डमा आईजीपीका रुपमा रवीन्द्र प्रताप शाह नै जनयुद्ध र जनआन्दोलन दबाउन विशेष भूमिकामा थिए । जनयुद्धको घाउ निको हुन नपाउँदै पार्टीले तिनै दमनकारीलाई पुरस्कृत गरेकोमा सिंगो पार्टीपंक्ति स्तब्ध भएको छ ।
स्मरण रहोस्, यिनै रवीन्द्रप्रताप शाहको पालामा भएको प्रहरीको क्रूर दमनका कारण माओवादीका होनहार कार्यकर्ता रवि कार्कीले मानसिक सन्तुलन मात्र गुमाएनन्, पछि उनको निधन भयो । माओवादी नेता हेमन्तप्रकाश ओलीले भनेका छन्, ‘यिनै शाह हुन्, जसले मेरी छोरी मारे ।’ वलीले आफ्नी छोरीको हत्या गर्ने पूर्व प्रहरी महानिरीक्षक शाह आफ्नो स्थानमा समानुपातिक सभासद भएको भन्दै पार्टीलाई निर्णय सच्याउन आग्रह गरेका छन् ।
रिपोर्टर्स क्लबले हालै काठमाडौंमा गरेको साक्षात्कारमा वलीले पार्टीले यस्ता गल्ती तत्काल नसच्याए भावी परिणाम राम्रो नहुने चेतावनी दिएका छन् । “जनमुक्ति सेनाको कमिसार भएर काम गरें, तीन वर्ष जेल बसें, छोरी गुमाएँ”, वलीले भने, “तर अहिले मेरो ठाउँमा मेरै छोरीको हत्या गर्ने रवीन्द्रप्रताप शाह सभासद भए ।” पार्टीभित्र त्यागी, इमान्दार कार्यकर्तालाई पाखा लगाउन खोजिएको र अवसरबाट वञ्चित गर्न खोजिएको भान भएको भन्दै वलीले अरु पार्टीमा जस्तै एमाओवादी पनि प्रदूषणले भरिएको टिप्पणी गरेका छन् ।
पार्का ज्याकेट काण्ड
रवीन्द्रप्रताप शाह खासमा भाग्यले प्रहरी महानिरीक्षक पनि भएका हुन् । रमेशचन्द ठकुरी आईजीपी भएपछि उनी राजीनामा दिने मनस्थितिमा पुगिसकेको बताइन्छ । जब ठकुरी अख्तियारको घेरामा परे, शाहको तालुमा आलु फल्यो । महानिरीक्षकका रुपमा उनको कार्यकालमा व्यापक भ्रष्टाचार भएको प्रहरी सूत्र बताउँछ । शाह आईजीपी हँुदा पार्का जाकेट खरीदमा व्यापक अनियमितता भएको थियो । ज्याकेट खरीदका लागि ठेक्का दिंदा कम मूल्य सूची प्रस्तुत गर्ने कम्पनीको साटो दीपक भट्ट नाम गरेका मानिसको कम्पनीलाई ठेक्का दिएर करोडौं भ्रष्टाचार गरेपछि त्यसबेला अख्तियारले तात्कालीन आईजीपीमाथि कार्वाहीको सिफारिश गरेको थियो । यो मुद्दा अहिले पनि अख्तियारमा विचाराधीन छ ।
यसैगरी भाटभटेनी सुपर मार्केटको पोखरामा शाखा खुल्दा भाटभटेनीका मालिक मीनबहादुर गुरुङमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा लागेको थियो । त्यसवेला रवीन्द्रप्रताप शाहले नै यो मुद्दा फिर्ता गराएबापत मोटो रकम हात पारेका थिए । यसबारेमा पनि अख्तियारमा उजुरी परेको बताइन्छ ।
यसरी अख्तियारले डामेका, आन्दोलनका दमनकारी र भ्रष्ट छवि भएका शाहलाई समानुपातिक सभासद बनाएर पार्टीकै बेइज्जत गर्ने बुद्धि एमाओवादी नेताहरूलाई कसले दियो ? कसको डिजाइनमा पार्टी फँस्यो ? भन्ने प्रश्नलाई लिएर कार्यकर्ता पंक्तिमा चिन्ता छाएको छ ।

No comments:

Post a Comment