Friday, February 7, 2014

केपी ओलीले संसदमा भने-राष्ट्रपतिको चुनाव तत्काल गर्नुपर्छ

केपी ओलीले संसदमा भने-राष्ट्रपतिको चुनाव तत्काल गर्नुपर्छ 
                 २४ माघ, काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले तत्काल राष्ट्रपतिको निर्वाचन गर्न माग गरेका छन् । व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा विशेष
                  समय लिएर सम्बोधन गर्दै नेता ओलीले नयाँ संविधानसभाले राष्ट्रपति उपराष्ट्रपतिलाई चिन्दिँन भनेको अवस्थामा के हुन्छ ? भनी प्रश्न समेत गरेका छन् । संसदीय दलको नेतामा निर्वाचित भएपछि पहिलो पटक संसदलाई सम्बोधन गरेका ओलीले भने-’दोस्रो संविधानसभा निर्वाचनको अन्तरिम संविधानमा परिकल्पना गरिएको छैन । तर, नयाँ चुनाव भयो । अब नयाँ संविधानसभाले राष्ट्रपति र उपराष्ट्रपतिलाई चिन्दिन भने के हुन्छ ? यो तानाशाही व्यवस्था हो ? चुनावको कुरा गर्न किन नहुने ? यो कुरालाई कांग्रेसले किन उठाइरहेको छ ।’ केही सिटले कांग्रेस एमालेभन्दा ठूलो दल भएको भन्दै ओलीले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न एमाले खुल्ला रहेको बताए । ‘नेपाली कांग्रेसले सरकारको अगुवाइ गर्छ भने गरोस् तर मूर्त प्रस्ताव आउनुपर्‍यो’ ओलीले भने-’कांग्रेसले प्रस्ताव ल्याउँदा गीत नभएको धुनजस्तो नगरोस् । गीतसहितको धुन अरुले पनि गुनगुनाउन सकुन्, बाजा बज्छ, मेलोडियस छ, मिलेर जाऔं,
राम्रो कुरा हुन्छ । मिलेर सरकार बनाउँ राम्रो कुरा आउँछ । मिलेर संविधान बनाउँ राम्रो कुरा आउँछ ।’ तर, कांग्रेसले ठोस प्रस्ताव ल्याउँदैन भने कांग्रेसकै प्रस्तावमा सरकारको नेतृत्व गर्न एमाले तयार रहेको बताए । उनले भने-’ कांग्रेससँग यदि ठोस प्रस्ताव छैन भने उत्तिकै हैसियतको एमालेलाई नेपाली कांग्रेसले प्रस्ताव गर्छ भने कांग्रेसको प्रस्तावमा, समर्थनमा र सहभागितामा सरकारको नेतृत्व गर्न एमाले सक्षम छ । जनताले कांग्रेस र एमालेलाई मिलेर जान जनमत दिएको भन्दै ओलीले आफूहरु कांग्रेस-एमालेकै गठवन्धनको पक्षमा रहेको बताए । उनले भने-’बेठीक ढंगले सरकार बनाउने हो भने त्यो सरकार लामो समय जाँदैन । यस्ता सरकारका खेलमा नलागौं, नेकपा एमालेले मिलेर जाऊँभन्दा उल्टै भागवण्डा र सत्ताको खेलमा लाग्यो भन्ने उल्टै आरोप लगाइन्छ ।’ बैठकमा कांग्रेस सभासद् अर्जुननरसिंह केसीले भने राष्ट्रपति परिवर्तन गर्ने भए महाअभियोग लगाउन वा राजीनामाका लागि सहमत गराउन चुनौती दिए । संविधानमा राजीनामा दिएमा मृत्यु भएमा वा महाअभियोग लगाएमा मात्र राष्ट्रपति परिवर्तन हुने व्यवस्था रहेको भन्दै केसीले संविधान विपरीत गएर राष्ट्रपतिलाई भागबन्डाको औजार बनाउन नहुने बताए ।

No comments:

Post a Comment