Wednesday, March 19, 2014

बाबुरामद्वारा नयाँ शक्ति निर्माणको पहल शुरु ?

              काठमाडौं । एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणका लागि गम्भीर बहस प्रारम्भ गरेका छन् । 
                  एमाओवादी र मोहन बैद्य नेतृत्वको माओवादीवीच एकिकरणको चर्चा चलीरहेकै बेला डा. भट्टराईले नयाँ शक्ति निर्माणका दिशामा पहल थालेका हुन । उनको पहल अहिले बहसकै चरणमा छ । डा. भट्टराईले एमाओवादी, एमाले, काँग्रेस र मधेशवादी दलका विभिन्न नेतासँग यसबारेमा विभिन्न चरणमा वार्ता चलाइसकेका छन् । उच्च स्रोतका अनुसार उनले एमाले नेता प्रदीप ज्ञवाली, घनश्याम भुषाल, हरि रोका, योगेश भट्टराई, वाम विश्लेषक मुमाराम खनालसँग बेग्ला बेग्लै भेटेर यसबारेमा छलफल गरिसकेका छन् । भारतको राजधानी नयाँ दिल्लीमा अरविन्द केजरीवालले भ्रष्ट नेताहरुविरुध्द झाडु आन्दोलन
चलाएर सफलता प्राप्त गरेपछि नेपालमा पनि आम आदमी पार्टीकै जस्तो आम जनताप्रति उत्तरदायी दलको खाँचो पुरा गर्न डा. भट्टराइले यो बहस सुरु गरेको बताइन्छ । लोक कल्याणकारी र सामाजिक न्यायमुलक शासन सत्ताका पक्षपाती अनी आर्थिक विकासको एजेन्डामा मुलुकलाई प्रवेश गराउनुपर्छ भन्ने विचार राख्नेहरुवीच यसखालको एकता हुनसक्ने सम्भावनातर्फ डा. भट्टराईले विभिन्न च्यानलमा वार्ता चलाइरहेका छन् । संविधानसभा चुनावअघि नै विभिन्न पेशागत क्षेत्रका अगुवाले आम आदमी पार्टीजस्तै पार्टी नेपालमा पनि गर्ने पहल थालेका थिए । खासभरी हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बिबीसी नेपाली सेवाका रविन्द्र मिश्र, मेघा बैंकका अनिल शाह, एमालेका युवा नेता रविन्द्र अधिकारी, काँग्रेस नेता गगन थापालगायतले यसखालको पार्टी गठन गर्ने सोचमा केही चरणमा वार्ता चलाएका थिए । पछि रविन्द्र अधिकारीले पोखराबाट चुनाव जिते । गगनले काठमाडौंबाट जिते । नयाँ शक्ति निर्माण गर्ने यी अनुहारको पहल बीचमै तुहीयो । बिना सैध्दान्तीक र वैचारीक कार्यदिशा यस्तो पहल सफल नहुने भएकाले चर्चित अनुहारहरु पछि हटेका थिए । यतिखेर डा. बाबुराम भट्टराईले प्रस्ताव गरेको नयाँ शक्ति निर्माणको बहसले भने नयाँ शक्तिको पक्षमा वैचारीक र सैध्दान्तिक धारलाई पनि बहसमा ल्याइरहेको छ । पुर्णत जनताप्रति उत्तरदायी, परिवतर्नमुखी, क्रान्तिकारी र सामाजिक सुधारमा जोड दिने र मुलुकमा आर्थिक क्रान्ति गर्ने नयाँ शक्तिको मुल लक्ष्य हुनसक्ने डा. भट्टराईको बहसको मुख्य आधार रहेको बताइन्छ । डा. भट्टराईले यसरी एकाएक नयाँ शक्ति निर्माणको पहल थाल्नुको मुख्य कारण भने मुलुकको राजनीतिक शक्ति सन्तुलनलाई उग्रवादी धारबाट जोगाउनु पनि रहेको बताइन्छ । खासगरी अझै पनि बेला बेलामा सशस्त्र विद्रोहको नारा दिइरहेको वैद्य नेतृत्वको माओवादी र एमाओवादी नेतृत्ववीच एकिकरणको प्रसँग उठेपछि डा. भट्टराईतर्फबाट नयाँ शक्ति निर्माणको बहस छेडिएको हो । अहिले वैद्य समुहभित्र पनि विभिन्न तहमा राजनीतिक ध्रुवीकरणको तरंग उर्र्लिरहेको छ । नेत्र विक्रम चन्द विप्लवले पार्टीलाई अब मोहन बैद्य र रामबहादुर थापा बादलजस्ता बुढा नेताहरुबाट हैन, नयाँ पुस्ताले हाँक्नुपर्ने बताउन थालेका छन् । उनले विभिन्न प्रशिक्षण शिविरहरुमा वैद्य र बादलबाट पार्टी नचल्ने भएकाले युवाले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बताइरहेका छन् । हालै पश्चिमका जिल्लामा आयोजित प्रशिक्षण शिविरमा विप्लवले बैद्य र बादलको खुला आलोचना गरेको बुझिएको छ । यसरी विप्लवले पश्चिमका जिल्लामा आफनो अवस्था सुदृढ बनाउँदै लगेको चाल पाएका वैद्य र बादलले केही समय यता एमाओवादी अध्यक्ष प्रचण्डसँग निकटता बढाउन थालेका छन् । केही दिनपहिले वैद्यले सार्वजनिक कार्यक्रममै ‘अब पार्टी एकता हुन्छ भनेर भन्नुस्’ भन्दै एकताको सम्भावनालाई स्वीकार गरेका थिए । ओम अस्पतालमा भर्ना गरिएकी प्रचण्डकी छोरीलाई भेट्न जाने क्रममा बैद्य, बादल र प्रचण्डवीच पटक पटक पार्टी एकिकरणको बारेमा छलफल भएको बताइन्छ । यसरी वैद्य, बादल र प्रचण्डवीच नयाँ धु्रवीकरणको सम्भावनाको चर्चा चलीरहेकै बेला डा. भट्टराईले नयाँ शक्तिको बहस छेडेपछि एमाओवादी अध्यक्ष प्रचण्डले पनि विशेष चासो राखेका छन् । सोमबार डा. भट्टराईलाई सानेपास्थित उनकै निवासमा भेटेर प्रचण्डले सोधे, ‘तपाइ नयाँ शक्ति गठन गर्न लाग्नुभएको भन्ने सुनियो । खास कुरा के हो ?’ डा. भट्टराईले यसबारेमा आफुले बहस मात्र चलाएको र यो प्रकृया अहिले छलफलकै क्रममा रहेको बताएका थिए । सुत्रका अनुसार उनले भने, ‘यो बहस मात्र हो, बहस चलाएर मैले पार्टी पद्धती उल्लंघन गरेको होइन ।’ प्रचण्डको भनाइ थियो, ‘त्यस्तो बहस पार्टीभित्रै चलाएको भए झन् जाती हुन्थ्यो । बाहिर गएर बहस चलाउँदा त्यसको गलत म्यासेज गयो । पार्टीभित्र बहसले अझ सार्थक दिशा लिनसक्थ्यो ।’ डा. भट्टराईले भेटका अवसरमा मुलुकमा चौतर्फी धु्रवीकरण भइरहेकाले नयाँ शक्ति निर्माणको बहस खुला रुपमै हुनुपर्ने र त्यसो भएमा बहसले प्रभावकारी निचोड पाउने बताएका थिए ।

No comments:

Post a Comment