काठमाडौँ, चैत १६–नेपाल पत्रकार महासङ्घले ५९औँ स्थापना दिवसको अवसरमा आज बिहान राजधानीलगायत देशका विभिन्न जिल्लामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौंँमा बबरमहलबाट सुरु भएको प्रभातफेरी नयाँ बानेश्वरमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष शिव गाउँलेले दुई करोड ५० लाख नेपाली जनतामार्फत संविधानसभामाथि सञ्चार क्षेत्रबाट निगरानी राखिने बताए ।
अध्यक्ष गाउँलेले लोकतन्त्र र नागरिक अधिकारका लागि लड्दै आएको पत्रकार महासङ्घले एक वर्षभित्र लोकतान्त्रिक संविधान जारी गर्न संविधानसभालाई निरन्तर दबाब दिने उल्लेख गरे ।
कार्यक्रममा महासङ्घका पूर्व सभापति हरिहर विरहीले वर्तमान
राजनीतिक सङ्क्रमणकाललाई जतिसक्दो चाँडो छोट्याउन एक वर्षभित्र नयाँ संविधान जारी हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष किरण पोखरेल, प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्याल, क्रान्तिकारी पत्रकार सङ्घका अध्यक्ष गोविन्द आचार्यलगायत सञ्चारसम्बन्धी विभिन्न सङ्घ सङ्गठन र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

No comments:
Post a Comment