‘जति ठूला व्यापारी त्यति नै ठूलो दाउ’ भन्ने उक्तिका चरितार्थ नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्यले गर्नै लागेका छन्। उनको ‘दाउ’ पूरा भएमा मुलुकले दुई अर्बभन्दा बढी रकमको क्षति व्यहोर्नुपर्नेछ। सन्दर्भ चिनियाँ विमान खरिदको हो। छिमेकी मुलुक चीनले विमान उत्पादन गर्न सुरु गरे पनि त्यसले विश्वबजारमा विश्वसनीयता आर्जन गरिसकेको छन।
त्यसैले केही विमान बिक्री गर्दा केही अनुदानमा दिएर भए पनि बजार विस्तार गर्दै जाने नीति चिनियाँ विमान उत्पादक कम्पनीले लिएको छ। यसै क्रममा नेपालले सहुलियत ऋणमा वाई–१२ ई पाँचवटा र एमए– ६० विमान एउटा गरी जम्मा ६ वटा विमान चीनसँग खरिद गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिसकेको छ भने त्यसरी ६ वटा विमान खरिद गरेबापत चीनले वाई–१२ ई र एमए– ६० एक–
एकवटा विमान अनुदानमा नेपाललाई उपलब्ध गराउने भएको छ। ६ वटा विमान खरिद गर्दा दुईवटा विमान निःशुल्क प्राप्त हुने कुरा आफैँमा सकारात्मक देखिए पनि यसको भित्री रहस्य भने बेग्लै छ। सबभन्दा विचारणीय पक्ष के छ भने ६ वटा विमान र अनुदानमा दिने भनिएको दुईवटा विमानको मूल्य बराबरजस्तै निर्धारण गरिएको छ। प्राप्त जानकारीअनुसार खरिद गरिने ६ वटा विमानको मूल्य एक्काईस करोड सतासी लाख पञ्चानब्बे हजार आठ सय पचास आरएमबी (चिनियाँ मुद्रा) तय गरिएको छ भने अनुदानमा प्राप्त हुने सोही कम्पनीको दुईवटा विमानको मूल्य करिब १८ करोड आरएमबी निर्धारण गरिएको छ। यसअघि सन् २०१२ को नोभेम्बर २९ मा व्यापारिक सम्झौता हुँदा ६ वटा विमानको २२ करोड ८० लाख मूल्य निर्धारण गरिएकोमा सबै कमिशन अनुदानको रकमबाट नै निकाल्ने भएपछि गत नोभेम्बरको ११ तारेखमा अर्को सम्झौता गरी खरिद मूल्य घटाइएको छ।ऋणमा खरिद गरिने विमानको मूल्य यति कम राखिएको छ कि जसबाट कमिशन प्राप्त गर्न सम्भव छैन। त्यसैले अनुदानमा दिने भनिएको दुईवटा विमानको अत्यधिक मूल्य निर्धारण गरेर चिनियाँ कम्पनी एभिक र नेपाली एजेन्ट सुरज वैद्यले दुई अर्ब रुपैयाँभन्दा बढी रकम ‘कमिशनबापत’ लिएर राज्यलाई ठग्ने योजना बनाएका हुन्। यसरी अत्यधिक मूल्यान्तर हुनुको कारण एजेन्ट वैद्यले ‘स्पेयर पार्टस्’ बढी हुने भएको बताउने गरेका छन्। कुनै पनि कम्पनीले आफ्नो सामान बिक्री गर्दा निश्चित स्पेयर पार्टस् र आवश्यक जनशक्तिलाई तालिमको व्यवस्था पनि गरेको हुन्छ। चिनियाँ कम्पनीले पनि स्वाभाविक रूपमा तालिम र आवश्यक ‘स्पेयर पार्टस्’को व्यवस्था गरिदिने भएको छ। तर, वैद्यले भने यसैलाई बढी मूल्यको कारण बनाएर संसारको आँखामा छारो हाल्ने प्रयास गरेका छन्।
No comments:
Post a Comment