Tuesday, March 10, 2015

गहुँको रोटीले तीन पुस्ताको ज्यान लियो

       

             फागुन २६ गहुँको रोटी खाँदा धादिङ पिडा गाविस वडा नम्बर ८ मा एकै परिवारका ६ जनाको ज्यान गएको छ। स्थानीय सन्जबहादुर तामाङका घरमा सोमबार बिहान खाजामा गहुँको रोटी पाकेको थियो। घरका सबैले खाजा खाए र सबै एकैसाथ बिरामी परे। सोही गाविसमा गहुँ र कोदोको रोटी खाएका २० जना सिकिस्त बिरामी भए। त्यसमध्ये ६ जनाको ज्यानै गयो। ज्यान गुमाउनेमा ६२ वर्षीय सन्जबहादुर तामाङ, उनका माइली बुहारी २८ वर्षीय फूलमाया तामाङ, नाति–नातिनीहरू ५ वर्षीय अर्जुन तामाङ, ७ वर्षीया छोरी सविता तामाङ, २ वर्षीया छोरी अनिता तामाङ र ५ वर्षीय रमेश तामाङ छन्। बिरामी पर्नेहरूमा सन्जबहादुरकी श्रीमती६० वर्षीया फूलमाया तामाङ, उनका माइला छोरा ३५ वर्षीय टेकबहादुर तामाङ, कान्छी बुहारी ३१ वर्षीया सम्झना तामाङ, नातिनी २० वर्षीया बुद्धलक्ष्मी तामाङ, १५ वर्षीया ठूलीमाया तामाङ, १५ वर्षीया बुदलक्ष्मी तामाङ, ८ वर्षीया फूलमाया तामाङ छन्। यसैगरी मुगुमाया तामाङ, वीरबहादुर तामाङ, तिलकबहादुर तामाङ, शान्तिमाया तामाङ, सुनमाया तामाङ, राजु तामाङ र रमिला तामाङ पनि बिरामी परेको धादिङका प्रहरी नायब उपरिक्षक प्रकाश मल्लले बताए। बिरामीहरूलाई स्थानीय राजमार्ग सामुदायिक अस्पताल मलेखु, प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा प्रारम्भिक उपचार गराई थप उपचारका लागि काठमाडौँ लगिएको छ। काठमाडौँ लगिएकामध्ये ११ जनाको मनमोहन मेमोरियल अस्पतालमा र ४ जनाको शिवज्योति अस्पतालमा उपचार भइरहेको मल्लले बताए। किराले नखाओस् भनेर विषादी हालेर बिउका लागि राखिएको गहुँ पिसेर रोटी पकाई खाँदा उक्त घटना भएको गाउँले बताउँछन्। घट्टधनी तिलकबहादुर तामाङले आइतबार सन्जबहादुरको घरमा रहेको गहुँ पिनी सकेपछि लगत्तै कोदो पिसेको र त्यही कोदोको रोटी खाँदा आफ्नो परिवारसमेत बिरामी भएको बताएका छन्। रोटी खाने जति सबै बिरामी परेको भन्ने खबर आएपछि घरमा बाँकी रहेको गहुँको पिठो परीक्षणका लागि ल्याइएको गजुरी प्रहरीका प्रहरी निरीक्षक हेमन्त भण्डारीले बताए। अधिकांश किसानले गहुँको बिउ जोगाउन सल्फास चक्की किटनाशक र भाइटव्याक्स ढुसीनाशक औषधी प्रयोग गर्ने गरेको कृषि सेवा केन्द्र गजुरीका अधिकृत वेदप्रसाद रेग्मी बताउँछन्। घटनास्थल विकटमा रहेकाले बिरामीहरूलाई उद्धार गरी स्वास्थ्य संस्था लैजान ढिलाइ भएको थियो। खबर आएपछि इलाका प्रहरी कार्यालय गजुरी, सशस्त्र प्रहरी बल राजमार्ग सुरक्षा वेस क्याम्प आदमघाटको टोली घटनास्थल गएको थियो। सुरक्षाकर्मी र स्थानीयको प्रयासमा बिरामीहरूलाई उद्धार गरी गजुरी र मलेखु ल्याइएको थियो। उपचारका लागि ल्याउँदै गर्दा घरमूली सन्जबहादुर, बुहारी फूलमाया र नाती रमेशको बीचबाटोमै ज्यान गएको थियो भने बाँकी ३ जनाको काठमाडौँको मेघा अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। सबै मृतकको शव गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा संकलन गरी शव परीक्षणपछि परिवारका सदस्यलाई बुझाइने पनि प्रहरीले जनाएको छ।

No comments:

Post a Comment