'तेस्रो संविधानसभाको कुरा गरेर समय बर्बाद नगरौं'
२८ चैत, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको भौगोलिक विशिष्ठताको आधारमा राज्य पुनसंरचना हुने बताएका छन् । नेपालका कुनै पनि स्थानमा एउटै जाति र एउटै भाषाभाषीको बाहुल्यता नरहेको भन्दै उनले जातीय आधारको संघीयता एमालेलाई मान्य नहुने दोहोर्याए ।
यूरोपीयन युनियनको संसदीय टोलीसँग बालकोटस्थित निवासमा शनिबार भएको भेटमा ओलीले भने, ‘कुनै पनि भाषाभाषी र जातजातिको कुनै पनि क्षेत्रमा बाहुल्यता नरहेको विशिष्ठ परिस्थितिलाई ध्यान दिँदै यही संविधानसभाबाट संविधान जारी हुन्छ ।’
उनले तेस्रो संविधानसभाबारे कल्पनासमेत गर्न नसकिने पनि बताए । ‘यही संविधानसभाबाट अधिकतम सहमतिमा संविधान आउँछ,’ ओलीले भनाइ उदृत गर्दै उनका स्वकीय सचिव रमेश आचार्यले भने, ‘तेस्रो संविधानसभाको कुरा गरेर समय बर्बाद नगरौं ।’
ओलीले धेरै विषयबस्तुमा सहमति भैसकेको र सकारात्मक संकेत देखिएको भन्दै नमिलेका विषय प्रक्रियाबाट समाधान गर्ने स्पष्ट पारे ।
इयूको संसदीय टोलीकी संयोजक जिना लाम्बर्टले आफूहरुले तेस्रो संविधानसभा निर्वाचन नेपालमा होस् भनेर नभनेको स्पष्ट पारेकी थिइन् ।
यसअघि लाम्बर्टले संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँगको भेटमा तेस्रो संविधानसभाको निर्वाचनबारे प्रश्न गरेको भन्दै इयू टोलीको आलोचना भएको थियो ।

No comments:
Post a Comment