Saturday, May 2, 2015

भूइँचालोमा एक हजार युरोपियन हराएको दाबी

नेपालको भूकम्पमा विदेशी नागरिकको चास  

            २० वैशाख, काठमाडौं । भूकम्पपछि काठमाण्डौस्थित अमेरिकी दूतावासमा अमेरिकी नागरिकहरुको खोजविनका लागि ठूलो संख्यामा निवेदन आउन थाले । चाप बढ्दै गएपछि अमेरिकी दूतावासले आफ्ना नागरिकको उद्दारमा हेलिकप्टर नै पठाउनुपरेको र लाङटाङ क्षेत्रबाट ३ अमेरिकीलाई उद्दार गरिएको बताइएको छ । त्यस्तै शुक्रबार ७ अमेरिकीलाई गोर्खालगायतका क्षेत्रबाट उद्दार गरी काठमाण्डौ ल्याइएको छ । नेपालमा अहिले २ देखि ३ हजार जना अमेरिकी नागरिकहरु स्थायीरुपमा बसोबास गर्दै आएको अमेरिकी दूतावासको अनुमान छ र अन्य ३ हजारजना अमेरिकी नागरिकहरु यस समयमा नेपाल भ्रमण रहेको दूतावासका अधिकारी बताउँछन् अन्तराष्ट्रिय सञ्चार माध्यम आरटिई न्यूजले नेपालमा भूकम्पबाट १ हजार जना युरोपेलीहरु
हराइरहेको र १२ जनाले ज्यान गुमाएको उल्लेख गरेको छ ।
नेपालस्थित युरोपेली युनियनका राजदूतको हवाला दिँदै उसले हराइरहेका मध्ये अधिकांश लाङटाङ र लुक्ला क्षेत्रमा गएका पर्यटक रहेको जनाएको छ । भूकम्पपछि सम्पर्कविहीन बनेका १ सय ७० जना आयरल्याण्डका नागरिकहरुलाई उद्दार गरी आयरल्याण्ड फर्काइसकिएको आयरल्याण्डको विदेश मन्त्रालयले जनाएको छ ।
नेपालमा गएको विनाशकारी भूकम्पका विषयमा विदेशी मिडियाहरुले पनि महत्वका साथ खबर प्रकाशन प्रशारण गरिरहेका छन् । विदेशी मिडियाले नेपालको भूकम्पीय क्षति तथा अन्य मानवीय घटनाक्रमका साथै नेपालमा हराएका, मृत्यु भएका तथा उद्दार गरिएका आफ्ना देशका नागरिकहरुको अवस्थाका विषयमा पनि प्रमुखताका साथ रिपोर्टिङ गरेका छन् ।
इकोनोमिक्स टाइममा अनुसार नेपालमा भूकम्पपछि अहिले पनि ठूलो संख्याका विदेशी नागरिकहरु हराइरहेको तथा अलपत्र अवस्थामा रहेको उल्लेख गरेको छ । कम्तिमा १ हजार जना क्यानेडियनका साथै नेदरल्याण्ड तथा इजरायल लगायतका देशका पर्यटकसमेत नेपालका विभिन्न ठाउँमा अलपत्र परेको इकोनोमिक्स टाइमले उल्लेख गरेको छ ।
न्युयोर्क टाइम्सको अनलाइन संस्करणले नेपालमा भूकम्पपछि सम्पर्कविहीन भएका हजारौँ विदेशी नागरिकहरु सम्पर्कमा आइसकेको भए पनि अझै धेरै विदेशी नागरिकहरु हराइरहेको र नेपालस्थित सम्बन्धित देशका कुटनीतिज्ञहरुले खोजी गर्ने प्रयास जारी राखेको उल्लेख गरेको छ । उसका अनुसार लाङटाङ पदयात्रामा गएका ३ जना अमेरिकी महिला स्थानीय २ सयजना गाउँलेका साथै अन्य पदयात्रीसँगै हिमपहिरोमा पुरिएका छन् र उनीहरुको मृत्यु भैसकेको आशंका गरिएको छ ।
नेपाल भ्रमण गर्ने तथा नेपालमा स्थायीरुपमा बसोबास गर्दै आएका विदेशी नागरिकहरुले आफ्नो देशमा यस विषयमा कुनै लेखापढी गर्नुनपर्ने हुँदा र सम्बन्धित देशसँग यसको विषयमा आधिकारिक तथ्यांक नहुने भएकाले नेपालस्थित विदेशी दूतावासहरुले भूकम्प प्रभावित आफ्ना नागरिकको संख्याका विषयमा अनुमानमै भर पर्नुपरेको छ ।

No comments:

Post a Comment