dahal           काठमाडौं। असारमा चुनाव नभए मंसिरमा पनि हुन नदिने भनेर सार्वजनिक वक्तव्य दिइसकेका एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले मंसिर ४ गतेलाई निर्धारित दोस्रो संविधानसभाको निर्वाचन बिथोल्न एकैपटक धेरै मोर्चा खोलेका छन्। मंसिरको चुनाव रोकेको दोष आफूले बोक्न नपरोस् भनेर प्रचण्डले सचेत ढंगले अभियान चलाएका छन्। 
                 पछिल्लो पटक नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यसँगको रहस्यमय भेटपछि केन्द्रीय समिति बैठक बोलाएका
प्रचण्डले पार्टीभित्र विवादको कृत्रिम मोर्चा खोलेर मंसिरको चुनाव पर सार्ने कुटिल चाल चलाएको आशंका समेत कतिपयले गर्न थालेका छन्। महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यहरुको निर्वाचन हुन नदिई टिके नेतृत्व बनाएर फर्किएका प्रचण्डले संविधानसभा निर्वाचनको मिति तोकिइसकेपछि पार्टीमा पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनको प्रस्ताव ल्याउनुबाटै उनले निर्वाचन टार्न खोजेको अर्थमा आफूहरुले लिएको बाबुराम भट्टराई निकट नेताहरु बताउँछन्। ‘यतिका महिनासम्म सचिव र उपाध्यक्ष कसैलाई नदिदा भएको थियो भनें अब चुनावसम्म यतिकै जान सकिन्थ्यो। तर चुनावको मिति घोषणा भइसके लगत्तै पार्टीलाई चुनावमा होम्नुपर्ने बेला प्रचण्डले नयाँ लफडा आफैंले सिर्जना गरेका हुन् कि भन्ने आशंका भएको छ’ एक नेताले भने। प्रचण्डले प्रस्ताव गरेको कार्यविभाजन र संगठन सम्बन्धी प्रस्तावको सबैभन्दा बढी बिरोध उनकै हनुमानहरुले गर्नुले पनि आशंका पैदा भएको बाबुरामले आफू निकटस्थहरुसँग बताएका छन्। प्रचण्डको वरिपरि बसेर पार्टीमा सधैं शक्तिको अभ्यास गरेका, प्रचण्डको आडमा भ्रष्टाचार गरेका, सधैं अवसर लुटेका र लडाकुको नाममा अर्बौं रुपैयाँ भ्रष्टाचार गरेर दुर्गन्धित भएकाहरुले नै प्रचण्डको प्रस्तावको सबैभन्दा अराजक शैलीमा बिरोध गरेको उनीहरुले बताएका छन्। ‘कतै यो प्रस्ताव र प्रस्तावको बिरोध दुवै नियोजित त होइनन् भन्ने आशंका पैदा भएको छ’ बाबुराम निकट केन्द्रीय सदस्यले भने। बैठकमा बोल्ने क्रममा प्रचण्ड निकटस्थ लडाकु कमाण्डहरुले प्रचण्डको कार्यबिभाजनको प्रस्तावको बिरोध गर्दै जाँदा प्रहार भने बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठतिर सोझ्याएका थिए। उनीहरुले बाबुराम र नारायणकाजीले भागबण्डा खोजेर प्रचण्डलाई कमजोर बनाउन खोजेको र पार्टीमा चैतेहरुले प्रश्रय पाएको आरोप लगाएका थिए। रुपमा प्रचण्डको प्रस्तावको बिरोध भए पनि सारमा आफूतिरै आक्रमण भएको बुझेपछि आक्रोशित र निराश बनेका बाबुरामले असार १५ गतेको बैठकमा प्रचण्डको प्रस्तावको बचाउमा लिखित बक्तव्य दिदै पदत्यागको घोषणा गरेका थिए। उनले प्रचण्डका मान्छेहरु पछिल्लो समयमा सबैभन्दा भ्रष्ट, अराजक, अनैतिक र घृणित गतिबिधिमा लागेको गुनासो पनि गरेका छन्। बाबुरामको पदत्यागको घोषणासँगै प्रचण्ड पंक्तिबाट बाबुराममाथि थप प्रहार शुरु भएको छ। फेसबुक लगायत सामाजिक सन्जाल, चियापसल र बैठकहरुमा समेत प्रचण्ड पक्षले बाबुरामको पदत्यागको घोषणालाई नौटंकी र सस्तो प्रचारबाजी भन्दै उल्टै आक्षेप लगाउन थालेका छन्। बाबुरामले प्रचण्डलाई नैतिक संकटमा पार्नका लागि पदत्याग गरेको विश्लेषण पनि भइरहेको छ। बाबुरामले छाडेपछि र बैठकमा बहुमत प्रचण्डको प्रस्तावको विपक्षमा भएपछि नैतिक रुपमा प्रचण्डले पद त्याग्नुपर्ने तर्क पनि कतिपयले गरेका छन्। प्रचण्ड पक्ष बाबुरामकेा पदत्यागपछि थप उनीप्रति आक्रामक बनेको छ।बाबुराम भट्टराईले पदत्यागको नौटंकी गर्नुभएको मात्र हो। उहाँ उपाध्यक्ष भए पनि नभए पनि पार्टीको दोस्रो नेता हो। प्रधानमन्त्री भइसकेको र फेरि पनि हुन सक्ने मान्छे हो। त्यसैले उहाँले त्याग गर्नु र नगर्नुको अर्थ हुँदैन। तर पार्टीमा लागेर सबै त्यागेका साथीभाइले योग्यताको कदर होस् भन्दा इमोसनल ब्ल्याकमेल गर्न पाइँदैन’ जनार्दन शर्माको भनाइ उद्धृत गर्दै एक लडाकु कमाण्डरले भने ‘यही मौकामा प्रचण्डलाई कमजोर बनाउन पाइन्छ भनेर बाबुरामजीले तुरुप निकाल्नुभएको हो। उहाँ धोविघाटदेखिनै यस्तै मौकाको पर्खाइमा हुनुहुन्थ्यो। तर उहाँको सपना पूरा हुन दिइँदैन’। यसबीचमा प्रचण्डमाथि बरु नेकपा–माओवादीसँग एकता गरेर भने पनि बाबुराम र नारायणकाजीलाई फाल्न दबाब परिरहेको छ। पछिल्लो पटक प्रचण्डले बैद्यसँग गरेको भेटवार्ता बाबुराम र नारायणकाजीलाई झस्का दिन गरिएको पनि बताइन्छ। प्रचण्डले पार्टी एकता हुन्छ भने मोहन वैद्य वा रामवहादुर थापा बादललाई अध्यक्ष बनाएर आफू पदत्याग गर्न तयार रहेको समेत बताउन थालेका छन्। पार्टी फुटेपछि आफू इतिहासमै सबैभन्दा संकटमा परेको, पार्टीमा भारतीय प्रभुत्व बढेको र देशभक्तहरु कमजोर भएको भन्दै प्रचण्डले बैद्य र बादललाई फकाउने अस्त्र पनि फालिरहेका छन्। बादललाई अध्यक्ष बनाएर पार्टी एकता गर्ने र चुनावका लागि नयाँ सहमति गरेर मंसिरको चुनाव पछि सार्न सकिनेसम्मको प्रस्ताव पनि प्रचण्डले बैद्य समक्ष पठाइसकेका छन्। नेकपा–माओवादीले औपचारिक रुपमा दोस्रो संविधानसभा चुनाव बहिस्कार गर्ने र असफल बनाउने निर्णय गरिसकेको छ। यसबीचमा नेत्रविक्रम चन्द विप्लबको शंकास्पद दौडधूप, चीनले दुवै माओवादीमाथि पारेको दबाब र बैद्य पक्षले घोषित निर्वाचनको मिति सार्न दिएको दबाबलाई ंसंयोगमात्र मान्न सकिन्न। अहिलेकै अवस्थामा चुनाव हुँदा बैद्य पक्षले प्रचण्ड पक्षका भ्रष्टलाई छानीछानी खुट्टा भाँच्ने घोषणा गरिसकेको र चुनाव जित्ने अवस्था पनि नभएकाले प्रचण्ड चुनाव पनि सार्ने, त्यस्तै परे खिलराज रेग्मीको नेतृत्वको सरकारलाई पनि बिदा गर्नेगरी पार्टी एकता गरेर बैद्य वा बादललाई नेतृत्व सुम्पिएको नाटक गरेर पुनः शक्तिमा आउने खेलमा लागिरहेको बताइन्छ। किनकि प्रचण्ड यस्ता खेल नखेली बस्नै नसक्ने पात्र हुन्।