baburam               काठमाडौं। उहिले बाबुराम भट्टराईको घर नजिकै गोरखाको छोप्राक गाउँमा एकजना चर्चित बूढाको ठूलो शान–सौकत थियो। गाउँलेहरूलाई आपसमा जुधाउने र लडाउने नगरेका दिन रातभरि निद्रा नलाग्ने उनको स्वभाव थियो। उनले अड्डामा मुद्दा मामिलामा नअल्झाइदिएको मान्छे कोही पनि थिएन।
               आफू अशक्त बन्दै गएपछि बूढाले गाउँलेहरूलाई बोलाएर भने– बाबु हो मेरा कारणले तिमीहरूले धेरै दुःख पायौ, मलाई अहिले बढो पश्चाताप भइरहेको छ, म पापी हुँ, पापको भकारी हुँ, मलाई तिमीहरूले सजाय दिएनौं भने म मरेपछि नर्कमा जानुपर्छ। त्यसैले तिमीहरूले मलाई सजाय दिनुपर्‍यो। के सजाय दिने त बाजे? गाउँलेहरूले एकै स्वरमा सोधे। बूढाले पालीमा सिहुरिएर राखिएको बाँसको किलो देखाउँदै
भने– म मरेपछि यो किलो मेरो छातीबाट गाडेर पिठ्युसम्म पर्‍याउनु र मेरो लासलाई सात गाउँ घुमाएर अपराधीलाई सजाय दियौं भन्दै कराउनु अनि मात्रै घाटमा लैजानु। केही दिनपछि बूढा मरे। गाउँलेहरूले पनि बूढाको सुझावअनुसार बाँसको किलो छातीमा ठोके। लास बोकेर हामीले बूढालाई सजाय दियौं भन्दै हल्ला गर्दै सात गाउँ डुलाउन थाले। परपरका गाउँलेहरूले अनुमान लगाइहाले–’यो बूढाले खुब दुःख दिएको थियो, अहिले त यसलाई छातीमा किलो ठोकेर मारिदिएछन्, यसरी मार्र्नै त नहुने भन्दै परपरका मान्छेहरू जम्मा भए। प्रहरी बोलाइयो। र, हत्याको अभियोगमा गाउँलेहरूलाई सजाय दिइयो। गाउँलेहरूले बल्ल थाहा पाए– यो बूढोले आफू जिउँदो हुँदा त दुःख दियो दियो, मरेपछि पनि दुःख दिन छाडेन।’
                आफ्ना बाबुबाजेबाट यो घटना सानो छँदा सुनेका बाबुराम भट्टराई मुलुकको प्रधानमन्त्रीसमेत भए। तर उनको प्रेरणाका स्रोत भने– गाउँलेलाई मरेपछि पनि दुःख दिने छोप्राक गाउँका तिनै बूढा रहेछन् भन्ने कुरा बाबुरामका व्यवहारबाट चरितार्थ हुन थालेको छ। उनले पद त्यागें भन्दै शनिबार पेरिसडाँडा बैठकमा फालेको अस्त्रले एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मात्र घाइते बनाएको छैन, संविधानसभा निर्वाचनको वातावरण झन् बिथोलिएको छ। संविधानसभा निर्वाचन हुनसकेन भने यो मुलुकमा दुईवटामध्ये एउटा कुरा हुन्छ भन्ने धेरैको विश्लेषण छ– ‘कि २०४७ सालको संविधानसँगै राजतन्त्र ब्यूँतिन्छ, कि बाबुराम भट्टराईले प्रधानमन्त्री भएको भोलिपल्ट घोषणा गरेको जस्तो मुलुक भारत या चीनतिर गाभिन्छ।’
           भारतकै इसारामा प्रधानमन्त्री बनेका बाबुरामले भारतसँग बिप्पा सन्धि मात्रै गरेनन्, संविधानसभा विघटन गरी फेरि कहिल्यै चुनाव हुन नदिने अभियानतर्फ केन्द्रित रहे। अन्तरिम सं्रविधानमा आमनिर्वाचनसम्बन्धी प्रावधान राख्न, निर्वाचनसम्बन्धी कानुन बनाउन अवरोध खडा गर्दै प्रधानमन्त्री पदमा बसिरहे। आफूपछि मुलुकमा अर्काे कोही व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने षड्यन्त्रमा उनी जुटे। संविधानसभा विघटन गराउने र त्यसपछि कहिल्यै आमनिर्वाचन नगराउने डिजाइन २०६८ फागुनमा प्रधानन्यायाधीश खिलराज रेग्मी तक्मा लिन जाने क्रममा दिल्लीमै भएको विश्लेषण धेरैको थियो। नभन्दै उनी नेपाल फर्कनेवित्तिकै संविधानसभाको म्याद थप गर्न नमिल्ने फैसला गरे। अरु कसैका निम्ति पद छाड्न तयार नभएका बाबुराम खिलराजका निम्ति भने पद छाड्न तयार भए। यसरी उनले मुलुकमा दलीय शासन प्रणाली समाप्त गरे। अब आमनिर्वाचन भएन भने लोकतन्त्र पनि समाप्त हुन्छ, लोकतन्त्र रहेन भने मुलुक पनि रहन्न भन्ने कुरा बुझेका बाबुरामले हालै पार्टीको पद पनि त्यागेका छन्।
              उपाध्यक्ष भट्टराईले साधारण सदस्यबाहेक पार्टीका सबै पद त्याग्नुको कारण दाहाललाई मात्र अप्ठेरो पार्नु  निश्चय पनि होइन। जुन मिसनका साथ उनी राजनीतिमा लागेका थिए, त्यो मिसन पूरा हुनै लागेको ठम्याइँ बाबुरामको थियो। सिक्किमलाई भारतमा गाभ्ने मिसन पूरा भएपछि लेण्डुप दोर्जेले पनि पार्टीका सबै पदहरू त्याग्दै पश्चिम बंगालमा गुप्तवास बसेका थिए। तर बाबुराम लण्डुपले जस्तै गुप्तवास बस्छन् या भारतको जेएनयूमा गएर प्राध्यापन गर्छन्, यसै भन्न सकिने अवस्था छैन। नेपालको कम्युनिस्ट आन्दोलनमा विद्यावारिधि गरेका प्राध्यापक सुरेन्द्र केसीको एक साताअघिको विश्लेषण थियो– बाबुराम राजनीतिमा आउनुको मिसन अब सकियो, उनी छुट्टै पार्टी गठन गरेर संगठन चलाउने हैसियत राख्दैनन्, सायद उनी अब जेएनयूमा प्राध्यापन गर्न जान्छन्। तर बाबुराम निकटस्थहरूको विश्लेषण चाहिँ अर्कै छ। मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीको सपथग्रहणपछि शीतल निवासबाट फर्किंदै गर्दा उनले आफ्ना निकटस्थहरूसँग भनेका थिए– अब मेरो सक्रिय राजनीति दुई वर्ष मात्रै हुन्छ। त्यसपछि पोखरा आसपासको शान्त पहाडमा पुस्तक लेखेर जीवन बिताउँछु।